दाम्बुला(श्रीलंका), ६ साउन । एसीसी महिला टी २० एशिया कप २०२४ अन्तर्गत समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले पाकिस्तानलाई १ सय ९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
दाम्बुलास्थित क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरको खेलमा ६ विकेटको क्षतिमा १ सय ८ रनको योगफल तयार पारेको छ ।
नेपालका लागि कविता जोशीले २३ बलमा ४ चौका र १ छक्का सहित सर्वाधिक ३१ रन बनाएर अविजित रहिन् । पूजा महतोले ३२ बलमा ३ चौका नै प्रहार गर्दै २५ रन बनाइन् । ओपनर सीता राना मगरले ३० बलमा ३ चौका सहित २६ रन जोडिन् ।खेलमा कविता कुँवरले १३,संझना खड्काले ४ रन जोडे । कप्तान इन्दु बर्मा खाता नखोली आउट भइन भने विन्दु रावल शून्य रनमा नटआउट रहिन ।
नेपाललाई रोक्ने क्रममा पाकिस्तानकी सादिया इकवालले २ र फतिमा सानाले एक विकेट लिए ।
तीन विकेट पाकिस्तानले रन आउटबाट पायो ।
यूएईविरुद्धको खेलमा जमेकी संझना खड्का छिटो आउट हुनु, कप्तान इन्दु बर्मा शून्य रनमा आउट हुनु र रुविना क्षेत्री मैदानमा टिक्न नसक्दा नेपालले अपेक्षित रन हासिल गर्न सकेन । तथापी कविता जोशी, सीता रानामगर र पूजा महतोले नेपाललाई सम्मानजनक रन ल्याउन योगदान गरे ।
पहिलो खेलमा युएईविरुद्ध जित हासिल गरेको नेपालको आजको खेलको नतिजा आफ्नो पक्षमा पारेमा सेमिफाइनलको यात्रा तय गर्ने छ ।
समूह चरणमा भारतले २ खेल जितिसकेको छ । युएईले २ खेलमा हार बेहोरेको छ भने पाकिस्तान पहिलो खेलमा भारत विरुद्ध पराजित भएको भइसकेको छ ।


















