काठमाडौं, १० साउन । नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल क्यानडियन फ्रेन्चाइज लिग ग्लोबल टी-२० का लागि आज प्रस्थान गर्ने भएका छन् ।
रोहित पहिलो पटक विदेशी फ्रेन्चाइज लिग खेल्दैछन् । उनलाई टोरोन्टो नेशनल्सले अनुबन्ध गरेको छ ।उनको टिममा न्यूजिल्यान्डका कोलिन मुनरो, वेस्ट इन्डिजका रोमारियो शेफर्ड र दक्षिण अफ्रिकाका र्यासी भ्यान डर डसनलगायत रहेका छन् ।
सोही खेलमा सहभागी हुन नेपालको राष्ट्रिय टोलीका अल राउण्डर तथा विश्व कीर्तिमानधारी दीपेन्द्रसिंह ऐरी हिजो दिल्लीबाट क्यानडाका लागि प्रस्थान गरिसकेका छन् ।
भिसा आउन समय लागेका कारण दीपेन्द्र शुक्रवारदेखि सुरु हुने लिगका लागि हिजोमात्र उड्न सके। उनी यसपटक भ्यानकुभर नाइट्सबाट खेल्दैछन् । नेपालका पूर्वकप्तान सन्दिप लामिछाने पनि सोही टिमबाट खेल्दे छन् । पटकपटक ग्लोबल टी २० खेलिसकेका सन्दीप क्यानडा पुगिसकेका छन् । उनी पहिलो खेलबाटै सहभागी हुने अनुमान गरिएको छ।
लिगको उद्दघाटन खेलमा शुक्रवार बिहान टोरोन्टो र भ्यानकुभर भिड्ने तालिका रहेका छ । दीपेन्द्र र रोहितले पहिलो खेलमा उपस्थित नहुने सम्भावना उच्च रहेको छ ।
दीपेन्द्रले यसअघि २०२३ को संस्करण मोन्ट्रियल टाइगर्सबाट खेलेका थिए । सो टोलीले उपाधि समेत जितेको थियो । सन्दीप लामिछानेले पनि मोन्ट्रियल टाइगर्स र टोरोन्टो नेशनल्समा अनुबन्ध भएर ग्लोबल टी २० लिग खेलिसकेका छन् ।
यस संस्करणको ग्लोबल टी २० लिग भोली (जुलाई २६) देखि सुरु हुँदै छ ।