Prakash Adhikari July 28, 2024

ब्राम्पटन (क्यानडा), १२ साउन । (एजेन्सी) । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेलको अन्तर्राष्ट्रिय फ्रेन्चाईजी क्रिकेटको डेब्यु खेलमा उनी आबद्ध टोरन्टो नेसनल्स विजयी भएको छ ।

क्यानडामा जारी ग्लोबल टी ट्वान्टी लिगमा आइतबार बिहान भएको खेलमा प्लेईङ११ मा रहे पनि रोहितले ब्याटिङ र बलिङको अवसर पाएनन् । रोहित आबद्ध टोरोन्टोले लगातार दोस्रो जित हात पार्ने क्रममा ब्राम्प्टन वुभ्ल्सलाई ८ विकेटले पराजित गर्यो ।

ब्राम्प्टनले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १३.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । टोरन्टोका लागि उन्मुक्त चन्दले सर्वाधिक ५३ रन बनाए । ४० बलको सामना गरेका उन्मुक्तले ८ चौका र १ छक्का प्रहार गरे ।

रासि भान डार डुसेनले २५ र कप्तान कोलीन मुनरोले ११ रन जोडे । ब्राम्प्टनका लागि ज्याक जार्किभस् र बेन वेबस्टरले समान १ ।१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ब्राम्प्टनले १९.१ ओभरमा अल आउट हुदै १ सय १० रन मात्र बनाएको थियो । ब्राम्प्टनका लागि बेउ वेबस्टरले सर्वाधिक २५ र नाईक होबसनले २१ रन बनाएका थिए ।

टोरोन्टोका लागि जुनैद सिद्धिकीले ३, जोसन बेहरानड्राफ्ट र रोमारियो शेर्फडले समान २ । २ विकेट लिए ।

लगातार दोस्रो जितका साथ टोरोन्टो ६ टोली सहभागी लिगको शीर्ष स्थानमा छ ।

Share Now