Prakash Adhikari August 2, 2024

थिम्पु(भुटान), १७ श्रावण । बिहिबारदेखि सुरु भएको काभा बिच भलिबल च्याम्पियनसिप २०२४मा नेपाली नेपाली महिला टोलीले विजयी सुरुवात गरेको छ भने पहिलो खेलमा नेपाली पुरुष टोली पराजित भएको छ ।

भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ नेसनल स्टेडियममा बिहीबार भएको खेलमा नेपालको कमला पुन र मनिषा चौधरीको जोडीले उज्वेकिस्तानको जोडीमाथि २१–१७ र २१–१५ को सेटमा जित निकाल्दै विजयी सुरुवात गरेको हो ।

बिहीबार नै भएको पुरुषतर्फको खेलमा मान बहादुर श्रेष्ठ र दिल बहादुर सुनारको जोडी माल्दिभ्सको जोडीसँग १६–२१ र १५–२१ को सेटमा पराजित हुन पुग्यो ।
काभा बिच भलिबल च्याम्पियनसिपमा पुरुषमा १० टोली र महिलामा ७ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।

महिलामा नेपालसहित माल्दिभ्स, आयोजक भुटान र उब्जेकिस्तानका खेलाडीहरु प्रतिस्पर्धामा छन् । नेपाल बाहेक सबै राष्ट्रबाट दुई टोलीले सहभागिता जनाएका छन् ।

यता पुरुषतर्फ भने नेपाल, माल्दिभ्स, उज्वेकिस्तान, तुर्केमिनिस्तान र भुटानले प्रतिस्पर्धा गरिरहेका छन् ।

दुई वर्षअघि बंगलादेशको कक्स बजारमा भएको एभिसी सेन्ट्रल जोन बिच भलिबलमा नेपालका पुरुष र महिला टोली दुवैले रजत पदक जितेको थिए ।

 

Share Now