ढाका(बंगलादेश), २४ साउन (एजेन्सी)। बंगलादेशको अन्तरिम सरकारका प्रमुख डा.मोहम्मद युनुसले आज (बिहीबार) शपथ ग्रहण गर्नुहुने भएको छ।
बंगालदेशको सेनाका प्रमुख वाकर उज जमानले डा. मोहमद युनुस नेतृत्वको अन्तरिम सरकारले आज शपथ लिने जानकारी दिनुभएको छ । सेना प्रमुख जमानले अन्तरिम सरकार १५ सदस्यीय हुने बताउनुभएको छ ।
साथै उहाँले बंगलादेशमा ३–४ दिनभित्र पूर्णरुपमा शान्ति बहाल हुने बताउनुभएको छ । उहाँले देशमा पछिल्ला दिनहरुमा लुटपाट र तोडफोडका घटनाहरुमा संलग्न सबैलाई कानुनको दायरामा ल्याउने बताउँदै देशमा शान्ति बहाल गर्न एयर फोर्स र नेभीले मिलेर काम गरिरहेको समेत जानकारी दिनुभयो ।
उहाँले अन्तरिम सरकार प्रमुखमा नियुक्त हुनुभएका युनुससँग आफूले कुरा गरेको र उहाँको नेतृत्वमा देश छिट्टै प्रजातान्त्रिक प्रक्रियामा फर्किने विश्वास व्यक्त गर्नुभएको छ ।
बङ्गलादेशका सेना प्रमुख जनरल वेकर–उज–जमानले डा. मोहम्मद युनुस आज स्वदेश फर्किएपछि आजै साँझ नयाँ अन्तरिम सरकारले सपथ लिने तयारी रहेको बताउनुभएको छ।
‘हामी आज शपथ ग्रहण समारोह आयोजना गर्न सक्दो प्रयास गर्नेछौं । हामी करिब ८ बजे (जिएमटी १४ बजे) गर्न सक्छौँ, सपथ ग्रहण समारोहमा करिब चार सय व्यक्ति उपस्थित हुने सम्भावना छ’, उहाँले भन्नुभयो ।
युनुस अन्तरिम सरकारको नेतृत्व गर्न बङ्गलादेश आउँदा उहाँले ‘लोकतान्त्रिक प्रक्रिया’ मार्फत बङ्गलादेशको नेतृत्व गर्ने सेना प्रमुख जमानले बताउनुभयो ।
‘उहाँ यस्तो गर्न अत्यन्त उत्सुक हुनुहुन्छ’, सेना प्रमुख जमानले भन्नुभयो, ‘मलाई विश्वास छ, उहाँले हामीलाई सुन्दर लोकतान्त्रिक प्रक्रियामार्फत लैजान सक्षम हुनुहुनेछ र यसबाट हामी लाभान्वित हुनेछौं ।’
हाल युरोपमा रहेका ८४ वर्षीय युनुस आज दिउँसो २ः१० बजे राजधानी ढाका आइपुग्ने बताइएको छ । बङ्गलादेशी निम्न वर्गको उत्थानका लागि काम गर्नुभएका ८४ वर्षीय युनुसलाई अन्तरिम सरकारको नेतृत्व दिन विद्यार्थी नेताहरूले गरेको आह्वानपछि उहाँलाई अन्तरिम सरकारको जिम्मेवारी सुम्पिएको हो ।
राष्ट्रपति मोहम्मद शाहाबुद्दिन, सेना, नौसेना र वायुसेनाका प्रमुखहरू र विद्यार्थी नेतासँगको बैठकपछि यो निर्णय गरिएको हो । गत सोमबार शेख हसिनाले प्रधानमन्त्रीबाट राजीनामा दिएर देश छोडेपछि अनिश्चित बनेको बंगलादेशको राजनीति अब विस्तारै ट्रयाकमा आउने देखिएको छ ।
आन्दोलनरत विद्यार्थीहरुको माग बमोजिम राष्ट्रपति मुहमद शाह्बुद्दीनले संसदको भंग गरेर नोबेल पुरस्कार विजेता डा. युनुसलाई अन्तरिम सरकारको प्रमुख नियुक्त गर्नुभएको छ ।