सानफ्रानसिन्सको (संयुक्त राज्य अमेरिका), २८ जेठ । आगामी जुन १६ र १७ तारिख सानफ्रानसिन्सकोमा हुने एनआरएन एनसीसीको विज्ञ भेलामा ३० जना विज्ञहरूले आफ्नो प्रस्तुति दिने भएका छन् । नेपाल सरकारका मन्त्री, एनआरएन आइसीसीका पदाधिकारी र विज्ञहरू समेत गरी २ संय भन्दा बढीको सहभागिता हुने भएको छ । कार्यक्रमका लागि होटेल, कार्यक्रम हल र खानपिनको प्रबन्ध गरिसकिएको जानकारी दिइयो । अहिलेसम्म सहभागिहुन चाहनेले १ सय ५० रुम बुक गरिसकेको आयोजक समितिका सदस्य तुलसी चौलगाइले बताए ।
विज्ञहरूले आफ्नो ज्ञान र अनुसन्धानलाई नेपालको सन्दर्भमा कसरी उपयोग गर्न सकिन्छ भनेर सोधपत्र प्रस्तुत गर्नेछन् । १६ तारिख विज्ञहरूको प्रस्तुति रहने छ भने जुन १७ मा एनआरएन अमेरिकाको साधारण सभा हुनेछ ।
भेला र साधारणसभा तयारीका सम्बन्धमा नेपाली कम्यूनिटि सेन्टर र एनआरएन क्यालिफोर्निया च्याप्टरले आज सेन्टरको भवन निमार्ण क्षेत्रमा भेलाको आयोजना गरेर भइरहेका काम र गर्नु पर्ने कामका बारेमा जानकारी गराएको छ । भेलामा सेन्टरका संयोजक उत्तम कार्कीले भेला तथा कार्यक्रम नेपाल र नेपालीका हितका लागि कोसेढुंगा साबित हुने बताए । उनले सामुदायिक भवन निर्माणमा समुदायको सहभागिता बढाउन पनि यो कार्यक्रम सहयोगी साबित हुने विश्वास व्यक्त गरे ।
विज्ञ भेलाका संयोजक रुद्र अर्यालका अनुसार अमेरिकाको विभिन्न विश्वविद्यालयमा काम गरिरहनु भएका प्राध्यापकहरू, उद्योग क्षेत्रमा काम र अनुसन्धान गरिरहनु भएका साइनटिष्टहरु र विभिन्न क्षेत्रमा अध्ययन अनुसन्धान गरिरहनु भएका विज्ञहरूले सोधपत्र विज्ञ समितिमा पठाइसक्नु भएको छ । नेपालबाट बाहिर आएर उच्च शिक्षा हासिल गरी आफ्नो विज्ञता विश्व समुदायमा वाडीरहनु भएकाहरुको उत्साहाप्रद सहभागितालाई एकाकार गरी नेपालको हितमा कसरी काम गर्न सकिन्छ भन्ने नै यस भेलाको उद्येश्य हो ।
नेपालको विकासका लागि यी अध्ययनहरू कसरी उपयोगी बनाउने र नेपालको पोलेसी लेवललाई सहयोग गर्ने भन्ने नै हो । कृषि, स्वास्थ्य शिक्षा, वातावरण, आर्थिक विकास, सामाजिक सशक्तिकरण लगायतका विषयमा सोध पत्रहरू प्रस्तुत गरिने छ । अहिलेसम्म ३९ वटा सोध पत्र प्राप्त भएका छन् । जसमध्ये नेपालको सन्धर्भमा जोड्न नसकिने नौ वटा सोध पत्रलाई समावेश गरिने छैन । ३० जना विज्ञका सोधपत्र प्रस्तुत गरिनेछ ।
नेपालको कृषि प्रणाली, शिक्षा क्षेत्रमा कसरी सुधार गर्ने ? अमेरिकी औद्योगिक क्षेत्रको विकासबाट के सिक्ने र नेपालको औद्योगिक क्षेत्रको विकासका लागि कस्तो शिक्षा दिनु आवश्यक छ भन्ने विज्ञहरूले प्रस्तुत गर्ने छन् । नेपालको विज्ञान र प्रविधिको क्षेत्रलाई म्यानुअलवाट कसरी टेक्निकल बनाउने, विकासका लागि सोसल इम्पावरमेन्ट कसरी गर्ने भन्ने प्रस्तुति पनि रहने छ । सोलार पावर, सार्वजनिक स्वास्थ्य , साईवर सेकुरिटीका विषयमा पनि सोधपत्रहरु आएका छन् । एम्बुलेन्सको विषयमा काम गरिरहनु भएका स्टानफोर्डंका प्राध्यापक डाक्टरको पनि प्रस्तुति रहने छ । उहाँहरूसँग सुविधासम्पन्न एम्वेलेन्स नै नेपाललाई प्रदान गर्ने योजना समेत रहेको जानकारी गराइयो ।
विभिन्न क्षेत्रको प्यानल गठन गरिएको छ । विज्ञ भेला आयोजकले प्राज्ञहरूसँग आफ्नो प्रस्तुतिको नेपालमा सापेक्ष उपादेयता प्रष्ट गर्न भनेका छन् । सोधपत्र प्रस्तुत गर्ने मात्र होइन नेपालबाट आएका मन्त्री र विज्ञ प्रतिनिधिहरूको उपस्थितिमा त्यसैका आधारमा नेपालसँगको सान्दर्भिकता र फाइदाको स्वेत पत्र जुन १६ तारिख नै जारी गरिने छ । योसँगै विज्ञहरूको सिप र ज्ञानलाई नेपालमा के कति लागु गर्न सकिन्छ भनेर प्रारम्भिक खाका र बहस हुने छ ।