काँक्रेविहार (सुर्खेत), ३ भदौः जाजरकोटको नलगाड नगरपालिका–२ माझगाउँमा आज बिहान पहिरोमा परी एकाघरका तीनजनाको मृत्यु भएको छ । मृत्युहुनेमा नलगाड–२ का ४२ वर्षीय लालबहादुर परियार, ३४ वर्षीया मनिसा परियार, उनीहरुका दुई वर्षीय छोरा शिभम परियार छन् ।
उनीहरु भूकम्पपीडितका लागि निर्माण गरिएको अस्थायी टहरामा बसेका नलगाड नगरपालिकाका प्रमुख डम्बर रावतले जानकारी दिनुभयो । इलाका प्रहरी कार्यालय दल्लीका प्रहरी निरीक्षक माधवप्रसाद चौधरीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको नगरप्रमुख रावतले बताउनुभयो । घटनास्थल नलगाड नगरपालिकाको प्रशासकीय केन्द्र दल्ली नजिकै छ ।
गए राति परेको वर्षाका कारण पहिरोले महाकाली लोकमार्गअन्तर्गत गोकुलेश्वर–खलङ्गा सडक अवरुद्ध बनेको छ ।
लोकमार्गको कठपते नक्तड, पनेबाज, ऐरिछाना र मालिकार्जुन गाउँपालिकाको धामीगाडामा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।
सडक अवरुद्धहुँदा जिल्लाबाट बाहिरिने र जिल्ला भित्रिने यातायातका साधन सडकमै रोकिएका छन् । दार्चुलाबाट महेन्द्रनगर, काठमाडौँ आउने दिवा तथा रात्रिसेवाका बस सडक अवरुद्ध भएपछि बाटोमै रोकिएका हुन् ।
पटक–पटक पहिरोका कारण अवरुद्ध हुने लोकमार्गमा छोटो दूरीका सवारीसाधन पनि सञ्चालन हुन नसक्दा यात्रुले सास्ती भोग्नुपरेको छ ।
आज बिहानदेखि डिभिजन सडक बैतडी पाटनको जेसिबीले पहिरो पन्छाइरहे पनि ठाउँठाउँमा पहिरो खसिरहेकाले एउटा मात्र जेसिबीले पन्छाउन केही समय लाग्ने सडक विभागका सुपरभाइजर राजेन्द्रसिंह धामीले जानकारी दिनुभयो । –––