त्रिवेणी(नवलपरासी पश्चिम) । नारायणी नदीले अलग बनाएको नेपाली भूभाग सुस्तालाई नारायणीमाथि झोलुडे.पुल बनाएर जोड्ने कार्य सम्पन्न भएको छ । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नं.५ का वारी तथा पारीका वस्तीलाई जोड्ने नेपालकै लामो मानिएको झोलुड.े पुलको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले आज गर्ने कार्यक्रम रहेको छ।
पुल उद्घाटनको लागि राष्ट्रपति पौडेल आज दिउँसो २ बजे हेलिकप्टरबाट सुस्ता आउने कार्यक्रम तय भएको पश्चिम नवलपरासीका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुबबहादुर कुँवरले बताउनुभयो । उहाँले सुरक्षा तथा सबै व्यवस्थापन भएको जानकारी दिनुभएको छ।
पुल निर्माणसँगै आफ्नै वडा कार्यालयमा जान पनि सुस्ताबासी भारतको बाटो भएर जानुपर्ने बाध्यता हटेको छ । नारायणी नदीमा १ हजार ५ सय ५८ मिटर लामो पुल निर्माण सम्पन्न भएपछि यहाँका बासिन्दालाई नेपालको मूलभागमा आउन जान सहज भएको छ ।
२०७० सालमा सम्झौता भएको यो झोलुङ्गे पुल तीन वर्षभित्र निर्माण सम्पन्न भइसक्नुपर्ने थियो । साढे २३ करोडमा त्रिशूली आश्रय जेभी कन्ट्रक्नसले निर्माणको ठेक्का पाएको यो पुल असारमा मात्र निर्माण सम्पन्न भएको हो ।
स्थानीय जयसवालका अनुसार २०७४ सालको दोस्रो संविधानसभा निर्वाचनबाट यही क्षेत्रबाट निर्वाचित सांसद देवकरण कलवारले पुलको काम अगाडि बढाउन निर्माण कम्पनीलाई दबाब दिनुका साथै सरकारसँग निरन्तर पहल गरेका थिए ।
पछिल्लो दुई वर्षयता सांसद विनोद चौधरीले पुल निर्माणको कामलाई अगाडि बढाउन विशेष भूमिका खेल्नुभएको थियो । यस क्षेत्रबाट निर्वाचित सांसद विनोद चौधरीले पुल समयमै निर्माण सम्पन्न गर्न निर्माण कम्पनी र सरकारसँग निरन्तर समन्वय गर्दै आउनुभएको थियो। उहाँले सहरी विकास मन्त्रालयलाई आवश्यक बजेट निकासाका लागि पहल गर्नुका साथै निर्माण कम्पनीलाई समयमै काम सम्पन्न गर्न निरन्तर ताकेता गर्नुभएको थियो ।
नारायणी नदीमा पुल बनेपछि सुस्ता पारी पहिलो पटक बिजुली पुगेको छ । करिब ३५० घरधुरी रहेको सुस्ता पारी पुलकै बाटो भएर बिजुली लगिएको हो । झोलुङ्गे पुलको भार व्यवस्थापन र विद्युतीय सुरक्षाको मापदण्ड पूर्ण रूपमा पालना हुने गरी दायाँ–बायाँबाट ११ केभी लाइन निर्माण गरी सुस्तामा विद्युत् आइएको हो ।
सांसद चौधरीले निर्वाचित भए लगत्तै विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङसँग सुस्तामा विद्यतुीकरणका लागि ताकेता गर्नुभएको थियो ।


















