Prakash Adhikari October 26, 2024

तेहरान(इरान), १० कार्तिक (बीबीसी) । इजरयलले राजधानी तेहरानमा गरेको हवाई हमलाबारे प्रतिक्रिया जनाउँदै इरानले आफूसँग “प्रतिरक्षाको अधिकार रहेको” बताएको छ।

इजरायलले इरानी सैन्य स्थलहरूमा शनिवार राती सटिक र निशानाबद्ध हवाई हमला गरिएको जनाएको थियो। आफूविरुद्ध इरान र उसको साथ पाएका समूहहरूले बारम्बार गरेका हमलाको जबाफका रूपमा तीन चरणमा गरेर २० वटा सैन्य निशानामा ती हमला गरिएको इजरायलले जनाएको छ।

इरानी सरकारी सञ्चार माध्यमले तेहरान सहितका तीन स्थानमा इजरायली आक्रमण भएको जनाएका छन्।

हमलामा दुई जना इरानी सैनिकको मृत्यु भएको थियो।

बीबीसीले इरानी रक्षा आधार इलाकामा भएको भनिएको इजरायली हमलाको तथ्यजाँच गरिरहेको छ।

इरानको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै आक्रमण अन्तर्राष्ट्रिय कानुनको “प्रस्ट उल्लङ्घन” भएको प्रतिक्रिया दिएको छ।

ूइस्लामिक गणतन्त्र इरान आक्रमणका कुनै पनि कदम विरुद्ध प्रतिरक्षा गर्ने अधिकार आफूसँग राख्दछ,ू संयुक्त राष्ट्रसङ्घको बडापत्रको धारा ५१को व्यवस्था उद्धृत गर्दै विदेश मन्त्रालयले भनेको छ।

यसअघि इरानको इस्लामिक रेभुलस्नरी गार्ड कर्प्स सम्बद्ध तस्निम न्यूज एजेन्सीले उद्धृत गरेका एक स्रोतले ‘इरानले कुनै पनि आक्रमणको प्रतिवाद गर्ने अधिकार राख्ने र इजरायलले चालेको कदम अनुसारको जवाफ पाउने’ बताएका थिए।

मध्यपूर्वका यूएई, साउदी अरब, कतार र इजिप्ट सहितका अरब राष्ट्रहरूले पनि इरानमाथि भएको आक्रमणको निन्दा गरेका छन्।

इजरायली सेनाले हमलाको काम पूरा भएको जनाउँदै भनेको छ, ‘ हाम्रा विमानहरू सुरक्षित रूपमा घर फर्किएका छन्।’

इजरायली डिफेन्स फोर्सेस आईडीएफका प्रवक्ता ड्यान्यल हेगारीले आफ्नो प्रतिरक्षा गर्ने ुअधिकार र दायित्वु इजरायलसामु भएको जनाएका छन्।

तीन साताअघि इरानले इजरायलमा झण्डै दुई सयको सङ्ख्यामा बलिस्टिक क्षेप्यास्त्रहरू प्रहार गरेको थियो।

हमला पूरा गरेपछि अर्को विज्ञप्तिमार्फत आईडीएफले गुप्तचरी सूचनाका भरमा इरानमा क्षेप्यास्त्र निर्माण केन्द्रहरूमा प्रहार गरिएको जनाएको छ।

आईडीएफले त्यसैबखत जमिनबाट क्षेप्यास्त्र प्रहार गर्ने प्रणालीहरू र थप इरानी हवाई क्षमतामा प्रहार गरेको जनाएको छ।

इरानी सेनाले इजरायली हमलामा आफ्ना दुईजना सैनिकको मृत्यु भएको जनाएको त्यहाँको सरकारी समाचार संस्था आईआरएनएले उल्लेख गरेको छ।

इजरायली हमलासँगै गतरात इरानको राजधानी तेहरान र त्यस नजिकका दुई सहरहरूमा विस्फोटनका आवाज सुनिएका थिए।

सुरुमा इजरायलले इरानका सैन्य निशानामा हमला गरेको भनेर गरेको दाबीलाई पछि तेहरानले पुष्टि गरेको देखिन्छ।

इरानको हवाई प्रतिरक्षा फौजले एक विज्ञप्तिमार्फत तेहरान, खुजिस्तान र इलम प्रान्तका सैन्य अखडाहरू हमलामा परेको जनाएका छन्।

ती हमलाहरू सफलतापूर्वक सामना गरिएको तर केही स्थानमा सीमित क्षति पुगेको उक्त विज्ञप्तिमा जनाइएको छ।

त्यसअघि इरानको रेभुलस्नरी गार्ड्सनिकट एक समाचार संस्थाले इरानको राजधानीको पश्चिम र दक्षिण पश्चिममा रहेका सैन्य आधारहरू निशानामा पारिएको जनाएको थियो।

इरान किन धेरैतिर द्वन्द्वमा फसेको छ?

जेरुसलेमस्थित एकजना बीबीसी संवाददाताले इजरायलले आफ्ना हमला परमाणु वा तेल प्रशोधन केन्द्रमा नभई सैन्य निशानामा केन्द्रित गरेको देखिएको जनाएका छन्।

इजरायली हवाई हमलाको निशानामा सिरियाको राजधानी दमास्कससहित देशका मध्य र दक्षिणी क्षेत्रका सैन्य स्थल समेत पारिएको सिरियाको सरकारी समाचार संस्थाले जनाएको छ।

इराकमा समेत राजधानी बग्दादनजिकै विस्फोटनका विवरण आएका छन्।

इजरायली हमलाबीच इरानले बन्द गरेको आफ्ना हवाई क्षेत्र पुनः सञ्चालनमा ल्याइएको बताइएको छ।

इजरायलले भने इरानबाहिर भएका हमलाका विवरणबारे प्रतिक्रिया जनाएको छैन।

अहिलेसम्मको अवस्थामा इरानी सरकारी सञ्चारमाध्यमले भने आफूविरुद्धका हमला असफल भएको बताएका छन्। तर विज्ञहरूले त्यस्ता हमलापछि त्यो इरानले सामान्यतः दिने प्रतिक्रियाको शैली भएको बताएका छन्।

गम्भीर क्षति वा मृत्युका विवरण सतहमा देखा परेमा त्यो परिवर्तन हुनसक्ने भन्दै विज्ञहरूले सजग गराएका छन्।

ह्वाइटहाउसले इजरायलको ‘आत्मरक्षाको अभ्यास’मा अमेरिकाको कुनै संलग्नता नरहेको तर हमलाअघि आफूलाई त्यसबारे बताइएको जनाएको छ।

यूकेका प्रधानमन्त्री सर किअर स्टार्मरले इरानले इजरायली हमलाको जबाफ दिन नहुने बताउँदै उक्त क्षेत्रमा अवस्थालाई मत्थर पार्न साझेदारहरूसँग मिलेर काम गर्ने बताएका छन्।

त्यसअघि यूकेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, हामी इजरायलको आत्मरक्षा र अन्तर्राष्ट्रिय मानवीय कानुन अन्तर्गत रहेर आफ्नो रक्षा गर्ने अधिकारको साथमा छौँ। अवस्था थप चर्काउनु कसैको पनि हितमा छैन।

Share Now