-तारा बस्याल
मर्नु पर्दछ एकदिन प्राणीलाई
रीस राग छोडी गर्नु सबको भलाई
कर्मै मुख्य ब्यवहारको यही हो
भन्ने लाग्छ अल्पबुद्धि मलाई
चीन, अमेरिका र भारतले सहिष्णु ब्यवहारका साथ रचनात्मक समन्वय गर्ने हो भने निशस्त्रीकरण सम्मेलनको आवश्यकता नै पर्ने छैन ।
यी पद्यांश र विचार मानवता र विश्वशान्तिका अभियन्ता जयपृथ्वीबहादुर सिहले पहिलो विश्वयुद्ध पछि ब्यक्त गर्नुभएको थियो । बझाङ जिल्लाको चैनपुरमा वि.स. १९३४ मा जन्मिएर,काठमाडौ,कलकत्ता र प्रयाग(ईलाहबाद)मा शिक्षा प्राप्त गर्नुभएका तात्कालिन बझाङका १५ औ राजा जयपृथ्वीबहादुर सिह जंगबहादुर राणाका छोरीतर्फका नाती हुनुहुन्थ्यो भने चन्द्रशम्शेरका जेठा ज्वाई ।
देवशम्शेरको प्रधानमन्त्रित्वकालमा वि.स. १९५८ मा गोर्खापत्रको साप्ताहिक प्रकाशन आरम्भ भएपनि गोर्खापत्रमा के छाप्न हुने र के छाप्न नहुने नामक दस्तावेज केलाउँदा यसको व्यवस्थापनमा जयपृथ्वीको भूमिका सर्वोपरि देखिन्छ । गोरखापत्रको सनद १९६० बाट सम्पूर्ण जिम्मेवारी राजा जयपृथ्वीमा सुम्पिएको पाईन्छ । गोर्खापत्र मुद्रण पनि पशुपत प्रेस, ईन्दचोक, डिल्लीबजार, ठथुनटी, नक्साल हुदै वि.स. १९९५ देखि जुद्धसडकमा छापाखाना स्थापना गरेर हुँदै आएको पाइन्छ । जयपृथ्वीले वि.स. १९६५ मा गोरखापत्रको सम्पादकको रुपमा बेलायत भ्रमण गर्नुभएको थियो । वि.स. १९५८ देखि १९६८ सम्म करिव १३ बर्ष गोरखापत्रको बागडोर राजा जयपृथ्वीसँग थियो भनेर उत्तमबहादुर सिहद्धारा लिखित मानवतावादी राजा जयपृथ्वीबहादुर सिहः एक परिचय पुस्तकमा उल्लेखित छ ।
सन १८८९ देखि १९१४ सम्म बझाङको राजाको रहनुभएका जयपृथ्वीको प्रथम विश्वयुद्ध शुरु भएको दोस्रो बर्षदेखि नै ससुरा श्री ३ चन्द्रशम्शेरसँग शासकीय र नीतिगत असहमति हुन थाल्यो । प्रथम विश्वयुद्धमा गोर्खाली सेनाको सहभागिता गराउने कुरामा मतभेद भएपछि उहाँ श्री ३ चन्द्रसमशेरको ज्वाइँँको रुपमा मात्र उहाँको शासनसत्तालाई समर्थन गरेर बस्न नसक्ने निर्णयमा पुग्नुभयो । परिणाम स्वरुप उहाँले तात्कालीन भारदारी सभा र बझागको राजगद्दी समेत त्यागेर भारतको नैनीतालमा निर्वासन रोज्नुभयो । विश्वयुद्धले व्यथित मानिसहरुको क्रन्दन र पुकार सुन्नुभएका जयपृथ्वीले मानवताका सिद्धान्तहरुको प्रतिपादन गर्नुभयो र प्रचार प्रसार पनि ।
उहाँले नैनीतालबाटै मानवताको वारेमा Humanism नामक तीन वटा पुस्तक प्रकाशित गर्नुभयो। युद्धको बादल मडारिरहेको बेलामा उहाँले बीजारोपण गरेको मानवताबादका विचारले निकै सनसनी मच्चायो । सबै देशका सबै जातिका मानिसलाई शान्तिपूर्वक बाच्न दिने र बचाउने यो विचार एसिया, युरोप ,अमेरिका र अफ्रिका महादेशसम्म फैलियो । यसको बारेमा प्रवचन दिएर व्याख्या गर्न उहाँलाई विभिन्न राष्ट्रहरुबाट निमन्त्रणा आयो । उहाँले त्यसबेला पनि बीस भन्दा बढी राष्टको भ्रमण गरेर मानवतावादी विचारलाई विश्वमा फैलाउनुभयो ।
विश्वशान्ति, विश्वबन्धुत्व र मानवताबादी बिचारका प्रणेता र अभियान्ता जयपृथ्वी सन् १९२४ मा नैनीतालबाट भारतको कर्नाटका राज्यको बैगलोरमा बसाइ सर्नुभएको थियो । वैगलोरमा उहाँले The Humanistic नामक क्लव खोली Humanity नामक मासिक जर्नल Flag of Peace नामक बुकलेट प्रकाशन गर्नुभएको थियो ।
बैगलोर निर्वासनमा रहदा उहाँले सन १९२८ मा जेपी इन्सिच्युट नामक संस्था स्थापना गरी वल्र्ड फेलोसिप अफ फेथ अर्गनाइजेसन सस्थासँग आवद्ध भई एसियामा भारत, चीन, जापान, म्यानमार (बर्मा), श्रीलंका(सिलोन), सिगापुर, हगंकगं, युरोपमा स्वीटजरल्याण्ड, पोल्याण्ड, अस्ट्यिा, युगास्लाभिया, रुमानीया, जर्मनी, फा्रन्स, रुस र आइसल्याण्ड , बेलायत र इटाली तथा अमेरिकासम्म पुगेर मानवताका सिद्धान्त र ब्यवहारको प्रचारप्रसार गर्नुभयो ।
मानवतावादले ओतप्रोत जयपृथ्वीमा मानव सेवाको भावना कुन रुपमा थियो भन्ने बुझ्नलाई एक घट्ना नै पर्याप्त देखिन्छ । उहाँ जापान रहेको बेलामा इटाली र इथियोपियाको युद्ध चर्केको थियो । अफ्रिकाको इथियोपिया (अविनिया) मा भएको इटली इथियोपियो युद्धमा युद्धपीडितहरुको घाउमा मलम लगाउन जापानी चिकित्सक र नर्स समेतलाई लिएर स्वयम सेवकको रुपमा युद्धग्रस्त क्षेत्रमा पुग्नुभयो । जापानी राहदानीमा गैर जापानी व्यक्ति इथियोपिया गएर शत्रुपक्षका घाइतेहरुको उपचार र सेवामा सक्रिय भएको जानकारी पाएपछि इटाली सरकारले उहाँलाई बन्दी समेत बनाएको थियो । पछि ब्रिटिश सरकारको पहलमा उहाँको रिहाई संभव भएको कुरा धन लामाले आपनो शोधग्रन्थमा लेख्नुभएको छ ।
वार्सा,जेनेभा,प्राग,बुडापेष्ट,बेलग्रेड,बुखारेष्ट,बर्लिन,पेरिस,मस्को र लण्डन तथा कलकत्ता, बैगलोर, संघाई मेमियो बर्मा , न्युयोर्क र शिकागोमा विश्वशान्ति, एकता र मानवतावादको प्रवद्र्धन गर्ने उददेश्यले उहाँले दिएका प्रवचनहरुको सँगालो स्पीच एण्ड राइटिगंस अफ जयपुथ्वीबहादुरमा संग्रहित भएको पाईन्छ ।
विश्वभरि नै मानवतावाद र ,विश्वबन्धुत्वको भावना जागृत गराउन वहाले गर्नुभएको प्रयासलाई जापान टाइम्स, न्युयोर्क टाईम्स,न्युयोर्क इभिनिगं जर्नल,चाइना प्रेस र मेघालयको गोरखा सेवक जस्ता पत्रपत्रिकाहरुले प्राथमिकताका साथ समाचार बनाएको कुरा धनबहादुर लामाले ह्युमानिस्ट इन लाईफ एण्ड डेथ नाम पुस्तकमा उल्लेख गर्नु भएको छ । भारतीय र नेपाली सञ्चार माध्यमले भने उहाँका विचार र गतिविधिका समाचारहरु प्रकाशित गरेको पाईदैन किनभने त्यतिवेला नेपालमा राणाशासन थियो भने भारतमा बेलायती शासन । दुवै शासन ब्यवस्थालाई जयपृथ्वीबहादुरका विचारहरु गा्रहय थिएनन् । यद्धपि मुम्वईबाट प्रकाशित हुने द विक्ली अखवारले फेमिनिज्म न्यु होप फर वल्र्ड पिस शीर्षक समाचारमा उहाँको प्रवचनलाई स्थान दिइरहेको थियो । त्यस्तै लोकप्रिय प्रकाशन हिन्दु दैनिकको मद्रास संस्करणले उहाँको देहावसानपछि दोस्रो गौतम बुद्धको मृत्यु भनी सम्पादकीय प्रकाशित गरेको थियो ।
नेपालको राणा शासन ब्यवस्था र भारतको वेलायती शासन ब्यवस्थाबीच सुमधुर सम्बन्ध भएको अवस्थामा जयपृथ्वीबहादुरका सामाजिक गतिविधिले शासन ब्यवस्थामा खतरा उत्पन्न गराउने महसुस गरेर सम्बन्ध सुधार हेतु राणा शासक चन्द्रशम्शेरले आफ्नो बेलायत यात्रामा उहाँलाईसँगै लगेको देखिन्छ । बेलायती राजा एडवर्ड सातौंबाट राजा जयपृथ्वीलाई बेलायती सेनाको मानार्थ कर्नेल पदवीबाट बिभुषित गराएर उहाँलाई शासनसत्तातिरै आकर्षित गर्न खोजेको देखिन्छ । महाराजा श्री ३ चन्द्रसमशेरले पनि उहाँलाई नेपालको तर्फबाट कलकक्तास्थित तात्कालीन राजदूतस्तरको महाबाणिज्यदूतको जिम्मेवारीमा पठाएको देखिन्छ ।
नेपालको शासन ब्यवस्था लगायत आर्थिक सामाजिक विकास र रुपान्तरणका लागि शिक्षा, स्वास्थ्य तथा उद्योगधन्दा क्षेत्रमा उनको अदितीय योगदान रहेको बिषय उहाँले लेख्नुभएका कृति र अबलम्बन गर्नुभएका ब्यवहारबाट प्रष्ट हुन्छ ।
उहाँले अक्षरमाला, बालबोध, ज्ञानमाला, भूगोल बिद्या, पदार्थ तत्व, विवेक, शिक्षा दर्पण, प्राकृत ब्याकरण,तत्व प्रशंशा, उद्योगधन्दा, प्राकृत भाषा कोष र अक्षरांक लगायतका थुप्रै पुस्तक र पुस्तिकाहरु प्रकाशन गर्नुभएको थियो ।
देशभित्र जमिनमा किसानको मोहीयानी हकको अवधारणा, सतीप्रथाको अन्त्य , आयुर्वेदशालाको स्थापना, काठमाडौको नक्साल र बझाङको मेल्लेखमा श्रीसत्यवादी प्राथमिक पाठशालाको स्थापना जस्ता मानवसेवाका निम्ति सामाजिक सेवाका कामहरु गरेर उहाँले ब्यबहारमा पनि आफूलाई अब्बल सावित गरिदिनुभएको थियो ।
त्रिसठ्ठी बर्षे जीवनकालमा पुर्वाद्धका अठतीस बर्ष स्वदेशमा र उत्तरार्धका २५ बर्ष विदेश, प्रवास,जेल र नजरबन्दमा बिताउनुभएका राजा जयपृथ्वीबहादुर सिहं माहात्मा गान्धी र रविन्द्रनाथ टैगोरका समकालीन हुनुहुन्थ्यो । उहाँ मानवतावाद र विश्वशान्तिका अभियन्ता भएको सम्बन्धमा ह्युमानिस्टिक क्लवका मानार्थ सदस्य रहनुभएका प्रसिद्ध भारतीय कवि रविन्द्रनाथ टैगोरले आपनो गोल्डेन बुकमा पनि उल्लेख गर्नुभएको छ ।
आज संसारभर लोककल्याणकारी राज्यको अवधारणाको सामाजिक राजनीतिक बहस चल्दै गर्दा , आजभन्दा १ सय २० बर्ष अघि नैे लोक कल्याणकारी राज्य ब्यवस्थाको परिकल्पना गरेका शासकलाई महान विचारक भन्नु अत्युक्ति नहोला । २२ अप्रिल १९२९ मा जेनेभाको प्रवचनमा उहाँले प्रथम विश्वयुद्धपछि विश्वशान्तिमा योगदान गर्न खोलिएको संस्था लिग अफ नेशन्सको कार्यदिशा गलत भएको धारणासहित आलोचना गर्नुभएको थियो । लिग अफ नेशन्सले दोस्रो विश्वयुद्धलाई रोक्न नसकेकोले दोस्रो विश्वयुद्धपछि संयुक्त राष्ट्र संघको स्थापना हुन पुगेको थियो । यसरी हेर्दा उहाँमासमकालीन विश्व राजनीतिलाई विश्लेषण गर्ने क्षमता र दूरदर्शिता पनि प्रचुर मात्रामा रहेको देखिन्छ ।
देशमा रहदा पनि नागरिक जागरणका लागि काम गरिरहने तथा तात्कालीन जहानिया राणा शासन र व्रिटिश साम्राज्यका विरुद्ध अखवार , जर्नल , पुस्तक र प्रवचनमार्फत जनमत सृजना गरेकै कारण उहाँलाई देश निकाला गरियो । भारतमा निर्वासित हुँदा पनि उहाँलाई स्वतन्त्रतापूर्वक मानवताका पक्षमा काम गर्न दिइएन । भारतमा शासन गरिरहेका अंग्रेजहरुलाई उहाँको गतिविधिमा निगरानी राख्न लगाएर नजरबन्दमा नै राखियो । नजरबन्दकै अवस्थामा बैगलोरस्थित जयभवनमा वि.स. १९९७ असोज १ मा उहाँको देहावसान भएको थियो ।
बैगलोरमा रहदा जयपृथ्वीसँग रानी खडग दिब्येश्वरी लक्ष्मी बाहेक अरु कोही आफन्त नरहेको भनी मिमियो बर्माको सत्यवादी नेपाली पाठशालाका शिक्षक हर्षध्वज राईले बितेका बेली बिस्तार आत्मबृतान्तमा लेख्नुभएको छ । मानव सेवा र शिक्षा क्षेत्रमा योगदान पुर्याउन बर्माको मेमियो शहरमा जेपी इन्ष्टिन्च्युट संचालन भएको थियो । यस्ता महान व्यक्तित्वको कृतिको संरक्षण, विचारधाराको प्रचारप्रसार मार्फत विश्वभर भाइचारा र विश्वबन्धुत्व भावको विकास गर्न सके विश्वशान्ति र एकता निर्माणमा नेपालको योगदान निःसन्देह उचो रहन सक्ने देखिन्छ ।
मानवजातिको भलाई र विश्वशान्तिका लागि ब्यवहारवादी बन्न उत्प्रेरित गर्ने जयपृथ्वीबहादुर सिंहका उद्गारले विश्वका आधा जसो जनसंख्या रहेका भारत, चीन र अमेरिकालाई गर्ेको आग्रह र दिएको सन्देश मानवतावादका लागि आज पनि उत्तिकै सान्र्दभिक र मर्मस्पर्शी रहेको छ । यी तीन राष्ट्रहरुले समभावले, मानवकल्याणको लागि शान्तिको मार्ग अबलम्वन गर्ने निर्णय गर्ने हो भने विश्वमा दीर्घकालीन शान्ति स्थापना हुनेमा आज पनि कुनै सन्देह छैन ।
tarabasyal@gmail.com