Prakash Adhikari December 1, 2024

काठमाडौँ, १६ मङ्सिरः स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि देशका विभिन्न स्थानमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ ।

कीर्तिपुर नगरपालिकाका २० स्थानमा नगरप्रमुख र दुई वडाध्यक्षका लागि उत्साहपूर्वक मतदान जारी छ ।

मतदान अधिकृत इन्दिरा कार्कीका अनुसार नगरप्रमुख र वडा नं १ र ४ का वडाध्यक्षका लागि जारी मतदानमा नगरप्रमुखमा दलीय र स्वतन्त्र गरी २० उम्मेदवार तथा वडा नं १ मा नौ र वडा नं ४ मा १२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । नगरप्रमुख राजकुमार नकर्मी, वडा १ का अध्यक्ष हीरालाल महर्जन र वडा नंं ४ का अध्यक्ष श्यामराज अधिकारीको निधनपछि ती पद रिक्त भएका हुन् ।

काठमाडौं महानगरपालिकाको वडा नं २६ मा पनि शान्तिपूर्ण वातावरणमा मतदान भईरहेको बताइएको छ। वडाका ११ वटै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ।

त्यस्तै नुवाकोटको ककनी गाउँपालिकाको वडा नं २ मा पनि शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको खबर छ ।

हेटौँडाबाट राससका स्थानीय प्रतिनिधिले जनाएअनुसार हेटौँडा उपमहानगरपालिका– १२ मा वडाध्यक्ष पदका लागि मतदान जारी छ । मतदाता उत्साहका साथ भोट खसाल्न उक्त उपमहानगरपालिका–१२ स्थित प्रतिभा आधारभूत विद्यालय र विष्णुज्योति आधारभूत विद्यालय मतदान केन्द्रमा लामबद्ध भएका छन् । सो वडामा आठ हजार ५३ मतदाता रहेका बागमती प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

गत निर्वाचनमा वडाध्यक्षमा निर्वाचित ललितबहादुर घलान मकवानपुर जिल्ला समन्वय समितिको प्रमुख भएपछि उक्त पद रिक्त भएको हो । सो वडाको वडाध्यक्षका लागि विभिन्न दलका नौ जना तथा तीन जना स्वतन्त्र गरी १२ जना चुनावी मैदानमा छन् ।

यसैगरी, रासस प्रतिनिधिले सप्तरीको राजविराजबाट सम्प्रेषण गरेको समाचारमा डाक्नेश्वरी नगरपालिका वडा नं. १ र ४ मा वडाध्यक्ष पदका लागि पाँच मतदान केन्द्रमा मतदान जारी छ । दुवै वडाबाट निर्वाचित वडाअध्यक्षको निधन भएपछि उपनिर्वाचन भएको हो । वडा नं. १ मा एक स्वतन्त्रसहित आठ जना तथा वडा नं. ४ मा पनि एक महिलासहित आठ जना उम्मेदवार छन् ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार डाक्नेश्वरी नगरपालिका– १ मा दुई हजार ६३५ र वडा – ४ मा एक हजार २८१ मतदाता छन् ।

दैलेखस्थित रासस समाचादाताका अनुसार महावु गाउँपालिका–५ को वडाध्यक्ष पदका लागि दुई मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । आज बिहान निर्धारित समयमा सुरु भएको मतदानमा ९२ वर्षीया जगत्कुमारी सिंहले पहिलो मतदान गर्नुभएको छ । उक्त निर्वाचनमा सात उम्मेवारबीच प्रतिस्पर्धा हुँदैछ । उक्त वडामा एक हजार सात सय ६० मतदाता रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

त्यसैगरी हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष पदका लागि शान्तिपूर्ण रुपमा मतदान भइरहेको सिमकोटस्थित हाम्रा समाचारदाताले जनाएका छन् । सर्केगाडका देवल प्रावि, सरस्वती मावि, लालीगुँरास मावि, देवकोटा मावि, हिमज्योति मावि, भवानी मावी, धुमचुली मावि कल्लास, स्वयम्भू मावि, ईश्वर मावि, कोट मावि, अंशुवर्मा मावि र नीलकण्ठ सामुदायिक प्राविमा मतदान केन्द्रमा भोट हाल्न मतदाता लामबद्ध भएका छन् ।

४१ पदका लागि मतदान

स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि मतदान सुरु भएको छ । नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि मतदान प्रारम्भ भएको हो ।

निर्वाचन आयोगका प्रवक्ता नीता पोख्रेल अर्यालका अनुसार अपराह्न ५ः०० बजेसम्म मतदानमा दुई लाख २६ हजार सात सय ९९ जनाले मताधिकार प्रयोग गर्नेछन् । यो उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र गरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा छन् । शान्त र सहिष्णु वातावरणमा मतदान भइरहेको छ ।

आयोगले सक्कल मतदाता परिचयपत्र, नागरिकता प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र र वा सवारी चालक अनुुमतिपत्रका आधारमा मतदान गर्न पाउने व्यवस्था गरेको जनाएको छ ।

Share Now