Prakash Adhikari December 7, 2024

कीर्तिपुर(काठमाडौं), २२ मंसिर । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत आज सम्पन्न पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई पराजित गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर फिल्डिड. रोजेको लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सबाट १ सय ८८ रनको विशाल लक्ष्य पाएको थियो । तर उसले २० ओभरको निर्धारित खेलमा ९ विकेट गुमाएर १ सय ४२ रन मात्र जोड्यो ।

लुम्बिनीका विवेक यादवले नट आउट रहँदै सर्वाधिक ७७ रन बनाए । उनले ५४ बलमा ३ चौका र ७ छक्का प्रहार गरे । प्रतियोगितामा आफ्नो पहिलो अर्धशतक विवेकले ४१ बलमा पूरा गरेका थिए । खेलमा सन्दीप जोराले २६ बलमा १ छक्काको सहयोगमा २० रन जोडे ।

दिनेश अधिकारीले १४ रन जोड्दा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन् ।खेलमा ओपनर अर्जुन साउद सून्य रनमा आउट भए । उन्मुक्त चन्दले ४ रन बनाए । कप्तान रोहित पौडेल ५ रनमा आउट भए । विदेशी खेलाडी टम मूर र नेपाली खेलाडी सूर्य तामाड. ७ । ७ रनमा बाहिरिए । विदेशी खेलाडी साद विन जाफर र रामोन सिमोण्ड ० रनमा आउट भए भने दुर्गेश गुप्ता ० रनमा नटआउट रहे ।

सुदूरपश्चिमका लागि सेफ अलि जेब र ब्रेन्डन मक्मेलनले समान ३ तथा स्कट कुगेलेनले २ विकेट लिए ।

पहिलो दुवै खेलमा खराब बलिङ तर ब्याटिङमा राम्रो प्रदर्शन गरेको लुम्बिनीले यो खेलमा ब्याटिङ र बलिङ दुवैमा खराब प्रदर्शन गर्यो ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले ओपनर सेफ अलि जेबको अर्धशतकको सहयोगमा निर्धारित २० ओभरको खेलमा ४ विकेट गुमाएर १ सय ८८ रनको बलियो योगफल तयार गरेको थियो ।

सुदूरपश्चिमका लागि सेफले सर्वाधिक ९० रन जोडे । उनले ६१ बलमा ६ चौका र ५ छक्का प्रहार गरे । रेमन सिमोण्डको बलमा सेफ उमुक्त चन्दबाट समातिए । सेफ आउट भए लगत्त क्रिजमा आएका आरिफ शेख अर्को बलमा नै आउट भए ।

कप्तान दीपेन्द्रसिंह ऐरीले १९ बलमा ४ चौका र २ छक्काको सहयोगमा नट आउट ३९ रन बनाए । ब्रेन्डन मक्मेलनले २० बलमा १ चौका र १ छक्काको सहयोगमा २३ रन जोडे । उनी विवेक यादवको बलमा साद विन जाफरको बलमा क्याच आउट भए ।

विनोद भन्डारी १३ बलमा १७ रन जोड्दै लुम्बिनीका कप्तान रोहितको बलमा क्याच आउट भए । विनोद ठूलो सट खेल्ने प्रयासमा बाउन्ड्री नजिक सन्दीप जोराबाट समातिए ।

लुम्बिनीका लागि रेमन सिमोण्डले २ तथा रोहित र विवेकले समान १ विकेट लिए ।

हालसम्मका तीन खेलमा तीनै हार ब्यहोरेको लुम्बिनी अंकविहिन छ ।

लुम्बिनी यसअघि टोली विराटनगर किंग्स र पोखरा एभेन्जर्ससँग पराजित भएको थियो।

शीर्ष स्थानको सुदूरपश्चिमले पहिलो खेलमा विराटनगर र दोस्रोमा काठमाडौं गुर्खाजलाई पराजित गरेको थियो । जनकपुर बोल्ट्सले पनि यसअघि लगातार ३ खेल जितेको थियो।

आज दोस्रो खेल विराटनगर र कर्णाली याक्सबीच हुने भएको छ ।

Share Now