लण्डन(संयुक्त अधिराज्य), २७ पौष । बेलायतको संसदभवनमा हुने एक विशेष कार्यक्रमलाई संबोधन गर्न लण्डन आइपुग्नुभएका नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले शुक्रबार नेपाली डायस्पोरासग भेटघाट गर्नुभएको छ ।
नेपाली राजदूतावास बेलायतले लण्डनमा आयोजना गरेको नेपाली डायस्पोरासँग भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता डा. कोइरालाले स्वदेशमा रोजगारीका अवसर कम भएका बेला विदेशमा बसेर काम गर्नुभएका नेपालीले पठाएको रेमिट्यान्सले देश चलिरहेको उल्लेख गर्नुभयो । उहाँले विदेशमा बस्ने नेपालीले हासिल गरेको ज्ञान,सीप,प्रविधि र आर्जन गरेको धन मातृभूमिमा लगानी गर्न पनि आग्रह गर्नुभएको थियो ।
बेलायतका एशिया मामिला हेर्ने विदेश राज्यमन्त्री क्याथराइन वेष्ट र उद्योग, व्यापार तथा वाणिज्य मन्त्री ग्यारेथ थोमसको निमन्त्रणामा नेता कोइराला बेलायत आउनुभएको हो।
कोइराला बिहीबार साँझ लण्डनस्थित हिथ्रो विमानस्थलमा उत्रिँदा नेपाली जनसम्पर्क समिति, बेलायतका सभापति युवराज गुरुङ्ग लगायत नेपाली कांग्रेसका कार्यकर्ताले स्वागत गरेका थिए।
विमानस्थलमा संचारकर्मीहरूसँग प्रतिक्रिया दिँदै कोइरालाले आफू नेपालको सांसदको हैसियतले बेलायत आएको र यहाँको संसदसँगको सम्बन्धलाई अझ बलियो बनाउन प्रयास गर्ने बताउनुभएको थियो ।
उहाँले आफू बेलायतमा रहँदा नेपाली कांग्रेसका कार्यकर्ताका विषयमा मात्रै नभई डायस्पोरामा रहेका नेपालीहरूको समस्याबारे पनि जानकारी लिने बताउनुभएको थियो।
बेलायतमा रहेका नेपालीलाई नेपाल फर्केर व्यवसायमा लगानी गर्न आग्रह गर्दै उहाँले भन्नुभएको थियो, ” मेरो चाहना छ कि विदेशमा रहेका नेपालीहरू आफ्नो देश फर्केर लगानी गरुन्।”
उहाँले १३ जनवरी २०२५ मा संसद् भवनभित्र एक विशेष कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम तय भएको नेपाली जनसम्पर्क समिति बेलायतका पूर्वमहामन्त्री राजकुमार त्रिपाठीले जानकारी दिनुभएको छ।
सो कार्यक्रममा बेलायतका एशिया मामिला हेर्ने विदेश राज्यमन्त्री, उद्योग, व्यापार तथा वाणिज्य मन्त्री तथा बेलायती सांसदहरूको उपस्थिति रहने बताइएको छ।
कोइरालाले बेलायतमा रहँदा बेलायती सभामुखसँग भेट गर्ने, अलपार्टी पार्लियामेन्टरी समूह बैठकमा सहभागी हुने र अन्य नेपाली समुदायमा आयोजित बिभिन्न महत्वपूर्ण कार्यक्रमहरूमा पनि भाग लिनुहुने बताइएको छ।
कोइराला आगामी १६ जनवरी, शुक्रबार नेपाल फर्कने कार्यक्रम तय गरिएको छ ।