
बैतडी ,२३ माघ : दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेश छनोट यही माघ २८ गतेदेखि हुने भएको छ ।
प्रतियोगिताका खेल सञ्चालन हुने मिति र स्थान तोकिएको सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दीपकबहादुर सिंहले जानकारी दिनुभयो ।
आगामी फागुन २ गतेसम्म सञ्चालन हुने दशौँ छनोट प्रतियोगिता कैलाली र कञ्चनपुरका विभिन्न स्थानमा हुनेछन् । परिषद्का अनुसार माघ २८ गतेदेखि कञ्चनपुरको महेन्द्रनगरमा कबड्डी, कराते र तेक्वान्दो प्रतियोगिता आरम्भ हुनेछ ।
सोही दिनदेखि कैलालीको धनगढीमा फुटबल, एथलेटिक्स, खो खो, बुद्धिचाल, बक्सिङ, भलिबल, टेबल टेनिस, क्रिकेट, बास्केटबल, उसु, ह्याण्डबल, भारात्तोलन, फुल कन्ट्राक्ट कराँते, ब्याडमिन्टन छनोट प्रतियोगिताका खेलहरु हुनेछन् । प्रदेशस्तरीय छनोटबाट राष्ट्रिय प्रतियोगिताका लागि खेलाडी छानिनेछन् ।
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी चैत २३ देखि ३० गतेसम्म कर्णाली प्रदेशको सुर्खेतमा हुने तय भएको छ ।