
काठमाण्डौ, १५ फागुन। साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले आफ्नो ५८ औं वार्षिक साधारण सभाको मिति तय गरेको छ । फागुन ६ गते बसेको सञ्चालक समितिको बैठकले आगामी चैत १५ गते काठमाण्डौको भद्रकालीमा रहेको आर्मी अफिसर्स क्लबमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।
उक्त सभामा गत आव २०८० /८१ को सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्न घोषणा भएको १० प्रतिशत नगद लाभांश पारित गरिनेछ ।
यस्तै, ऋण सुविधा लिने स्वीकृतमाथि छलफल गरी पारित गर्ने र प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बाढी पीडितका लागि जम्मा गरेको राहत रकम अनुमोदन गरिनेछ ।
सभामा सञ्चालक समितिका तर्फबाट आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तुत गरिने वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षणको प्रतिवेदनसहित वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनुका साथै चालू आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले आगामी चैत १ गतेदेखि चैत १५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ फागुन २९ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश प्राप्त गर्न र सभामा सहभागी हुन योग्य हुनेछन् ।