Prakash Adhikari May 16, 2025

हेटौडा(मकवानपुर), २ जेठः। बागमती प्रदेश सरकारको युवा तथा खेलकुद मन्त्रालयले हेटौंडामा पहिलो पटक प्रदेश स्पोर्टस अवार्ड एन्ड युथ समिट आयोजना गर्दैछ ।

बिहीवार हेटौंडामा पत्रकार सम्मेलन गदै बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्रीले आइतवार हेटौंडा ४ स्थित हुप्राचौरमा अवार्ड आयोजना हुने जानकारी दिनुभएको हो ।

प्रदेशका पूर्व तथा वर्तमान खेलाडी, प्रशिक्षक र पत्रकारलाई सम्मान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागेको बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीन कृष्ण महर्जनले बताउनुभयो ।

यस्ता कार्यक्रमले खेलाडीको विदेश पलायन रोक्नका लागि सहयोग पुग्ने उहाँको भनाई छ ।

मन्त्रालयका निमित्त सचिव सूर्य बहादुर दाहालका अनुसार अवार्डमा वर्षका उत्कृष्ट खेलाडी महिला र पुरुष, युवा, प्रशिक्षक, लाइभ टाइम एचिभमेन्ट, बागमती खेलकुदको शान, लोकप्रिय खेलाडी, उत्कृष्ट पत्रकार समेत ८ विधामा १२ जना छनोट गरी अवार्ड प्रदान गरिनेछ।

उत्कृष्ट महिला र पुरुष, लाइभ टाइम एचिभमेन्ट अवार्ड, बागमती खेलकुदको शान, प्रशिक्षकलाई अवार्डसहित १ लाख रुपैयाँ तथा अन्य विधालाई जनही ५० हजार रुपैयाँ प्रदान गरिने छ ।

कार्यक्रमका लागि मन्त्रालयले दीपक श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय प्राविधिक उप समिति गठन गरिएको थियो। उक्त समितिले अवार्डका लागि खेल व्यक्तित्वको नाम सिफारिस गर्नेछ।

खेलाडी वा प्रशिक्षकका रुपमा विगतमा पुर्याएको योगदान, हाल दिलाएको सफलता, समाजमा त्यसको प्रभाव, नयाँ पुस्तालाई प्रेरणा मिल्ने उद्देश्यलाई पनि अवार्ड दिने व्यक्तित्व छनोटको क्रमलाई ध्यानमा राखिने आयोजकको दाबी छ ।

कार्यक्रम प्रदेश सरकारका मुख्यमन्त्री बहादुर सिंह लामाको प्रमुख आतिथ्यतामा आयोजना हुनेछ। मन्त्रालयले युथ समिट भने केहि सातापछि आयोजना गरिने जनाएको छ ।

Share Now