एडेनवर्ग(स्कटल्याण्ड), १९ जेठ । नेपाली क्रिकेट टोलीको सात महिना रोकिएको विश्वकप लिग टुको यात्रा आजदेखि स्कटल्याण्डबाट सुरु हुँदैछ ।
चौथो राउण्डको पहिलो खेलमा नेपाल आज स्कटल्याण्ड विरुद्ध मैदान उत्रदै छ। यो त्रिकोणात्मक सिरिजमा नेदरल्याण्ड्स पनि छ।
यस पहिले नेपालले अमेरिकामा स्कटल्याण्डसँग नै पछिल्लो ओडीआई खेलेको थियो ।
सन् २०२४ को नोभेम्बर ४ मा अमेरिकामा विश्व कप लिग टु अन्तर्गतको तेस्रो राउण्डको अन्तिम खेलमा पछिल्लो पटक दुई टोलीको भेट भएको थियो ।
नेपाल र स्कटल्याण्डबीचको त्यो खेल वर्षाका कारण रद्द भएको थियो । सोमवार नेपाली टोलीको ७४औं ओडीआई खेल हो ।
यस अगाडि र यस खेलमा नेपालको भिन्नता के हो भने नेपालका मुख्य प्रशिक्षक फेरिएका छन् । टिममा नयाँ खेलाडीले प्रवेश पाएका छन् । पुराना केही अहिले विश्राममा छन् । अष्ट्रेलियन प्रशिक्षक स्टुआर्ट लको प्रशिक्षणमा नेपालको पहिलो अन्तर्राष्ट्रिय खेल खेल्दै छ ।
मुख्य प्रशिक्षक स्टुआर्ट लको नेतृत्वमा नेपाली टोलीले सोमवार पहिलो अन्तर्राष्ट्रिय खेल खेल्नेछ । ल नियुक्त भएपछि हङकङ सिरिजमा नेपालले सहभागिता जनाए पनि त्यति बेला मुख्य प्रशिक्षकको जिम्मेवारी ज्ञानेन्द्र मल्लले पाएका थिए ।
नेपालको प्रशिक्षक हुनु अघि ल अमेरिकाको मुख्य प्रशिक्षक थिए । उनले अमेरिकालाई टी ट्वान्टी विश्वकपको सुपर ८ मा पुर्याएका थिए ।
नेपाल र स्कटल्याण्ड : हेड टु हेड
नेपाल र स्कटल्याण्डबीच हालसम्म ८ खेल भएको छ। त्यसमा नेपाल बलियो अवस्थामा छ । नेपालले ४ खेलमा जित हासिल गर्दा ३ मा स्कटल्याण्ड विजयी भएको छ । नेपाल र स्कटल्याण्डबीचको १ खेल भने रद्द भएको थियो ।
लिग टुको अन्तिम तयारी स्वरुप नेपालले स्कटल्याण्ड ‘ए’ सँग २ अभ्यास खेल खेलेको थियो । स्कटल्याण्ड ‘ए’ सँग १ खेलमा पराजित नेपालको दोस्रो खेल भने वर्षाका कारण नतिजा बिहिन रुपमा सकिएको थियो ।
नेपालले त्यसअघि संयुक्त अधिराज्य (युके) मा तयारी गरेको थियो । युकेमा तयारीका क्रममा स्थानिय टोलीसँग खेलेको ५ अभ्यास खेलमा नेपालले शतप्रतिशत जित निकालेको थियो ।
८ टोली सहभागी लिग टु ओडिआई विश्वकप २०२७ को छनोट सिरिज समेत हो । लिगको अन्तिममा शीर्ष ४ मा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा सिधै स्थान बनाउँने छ । पुछारमा रहने ४ टोलीले भने विश्वकप छनोट प्लेअफ खेल्नुपर्ने छ ।
नेपाल १२ खेलमा सोंचे जस्तो राम्रो गर्न सकेन । ऊ ६ अंकका साथ लिग तालिकाको पुछारमा छ । स्कटल्याण्ड १६ खेलमा २० अंकका साथ चौथो र नेदरल्याण्ड्स २० खेलमा २६ अंकसहित दोस्रो स्थानमा छ ।
लिग टुको चौथो राउण्डमा नेपालको खेल तालिका यसप्रकार छः
१) जेठ १९ (जुन २) गते सोमवार स्कटल्याण्डविरुद्ध
२) जेठ २१ (जुन ४) गते बुधवार नेदरल्याण्ड्सविरुद्ध
३) जेठ २ (जुन ८) गते आइतवार स्कटल्याण्डविरुद्ध
४) जेठ २७(जुन १०) गते मंगलवार नेदरल्याण्ड्सविरुद्ध
लिग टु को खेल पछि असार १(१५ जुन) गते आइतवार बाट नेपाल, स्कटल्याण्ड र नेदरल्याण्ड्सबीचमा त्रिकोणात्मक टि ट्वान्टी आई सिरिज हुनेछ ।
नेपाली टोली
रोहित पौडेलको (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), आसिफ शेख, अनिल कुमार शाह, कुशल भुर्तेल, भीम सार्की, आरिफ शेख, गुलशन झा, बसीर अहमद, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, नन्दन यादव, रिजन ढकाल र ललित नारायण राजवंशी


















