ग्लास्गो(स्कटल्याण्ड), ३ आषाढ । स्कटल्याण्डविरुद्ध त्रिकोणात्मक टी २०आई सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले उत्कृष्ट सुरुआत गरेको छ ।
टस जितेर पहिलो फिल्ड गर्ने निर्णय लिएको नेपालले पाँच ओभरमा पाँच विकेट लिएर टिम लयमा फर्केको सन्देश दिएको छ ।
नेपालका लागि पाँचौ विकेट ललित राजवंशीले लिए । उनले ४.५ ओभरमा स्कटल्याण्डका ब्राण्डन म्याकमुलनलाई १२ बलमा १० रन बनाएको अवस्थामा आउट गरे ।
यस अगाडि नेपालका सिद्धहस्त बलर तथा अल राउण्डर करन केसीले चौथो ओभरको चौथो बलमा फिन्ले म्याक्रिथलाई आउट गरे । करनले फालेको बलमा दोस्रो ओभरको चौथो बलमा लियम नेलर रन आउट परेका थिए भने दोस्रो ओभरको तेस्रो बलमा पाँच बलमा आठ रन बनाएकै अवस्थामा आउट भएका थिए ।
यस अगाडि नेपाली खेलाडी दीपेन्द्रसिंह ऐरीले ओपनर जर्ज वाटलाई पहिलो ओभरको पाँचौ बलमा १ रन बनाएको अवस्थामा आउट गरेका थिए ।
आजको खेलमा नेपालका कप्तान रोहित पौडेलले टस जितेपछि स्कटल्याण्डलाई ब्याटिङको निम्तो दिएका हुन् ।
खेलमा नेपालले टोलीमा एक परिवर्तन गरेको छ । हिजोको खेलमा चोट बोकेका नन्दन यादवको स्थानमा बसीर अहमद टोलीमा आएका छन् ।
कप्तान रोहित पौडेलको नेतृत्वमा मैदानमा उत्रिएको नेपाली टिमको प्लेइङ ११मालोकेश बम, कुशल भुर्तेल, अनिल शाह, दीपेन्द्रसिंह ऐरी, किरण ठगुन्ना, बसीर अहमद, रुपेश सिंह, करण केसी, सन्दीप लामिछाने, ललित राजवंशी रहेका छन् ।
सोमबार भएको खेलमा नेपाल नेदरल्यान्ड्ससँग तेस्रो सुपर ओभरमा पराजित भएको नेपाल आज सिरिजमा पहिलो जितको खोजीमा हुनेछ ।
यता स्कटल्याण्डले भने पहिलो खेलमा नेदरल्यान्ड्सलाई ३९ रनले पराजित गरेको थियो । अंक तालिकामा स्कटल्याण्ड २ अंकसाथ शीर्ष स्थानमा छ ।


















