Prakash Adhikari June 17, 2025

ग्लास्गो(स्कटल्याण्ड), ३ आषाढ । स्कटल्याण्डविरुद्ध त्रिकोणात्मक टी २०आई सिरिजको आफ्नो दोस्रो खेलमा नेपाली बलरहरु चम्केपछि स्कटल्याण्ड ९७ रनमा समेटिएको छ ।

२० ओभरको निर्धारित खेलमा स्कटल्याण्डले १९.४ ओभरमा अल आउट हुँदै ९७ रन बनायो ।

स्कटल्याण्डका लागि माइकल लिस्कले ४६,म्याथु क्रसले १५, ब्राण्डन म्याकमुलनले १० रनको योगदान दिए । अन्य ब्याटरहरुले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

स्कटल्याण्डलाई रोक्ने क्रममा नेपालका सन्दीप लामिछानेले ४ विकेट लिए भने करन के.सी. र दीपेन्द्रसिंह ऐरीले २ । २ तथा ललितराजवंशीले १ विकेट लिए । एक विकेट रन आउट आयो ।

नेपाली बलरहरु चम्केपछि आज स्कटल्याण्डका खेलाडीहरुलाई मैदानमा टिक्न कठिन भयो ।

आजको खेलमा नेपालका कप्तान रोहित पौडेलले टस जितेपछि स्कटल्याण्डलाई ब्याटिङको निम्तो दिएका थिए ।

खेलमा नेपालले टोलीमा एक परिवर्तन गरेको छ । हिजोको खेलमा चोट बोकेका नन्दन यादवको स्थानमा बसीर अहमद टोलीमा आएका छन् ।

कप्तान रोहित पौडेलको नेतृत्वमा मैदानमा उत्रिएको नेपाली टिमको प्लेइङ ११मालोकेश बम, कुशल भुर्तेल, अनिल शाह, दीपेन्द्रसिंह ऐरी, किरण ठगुन्ना, बसीर अहमद, रुपेश सिंह, करण केसी, सन्दीप लामिछाने, ललित राजवंशी रहेका छन् ।

सोमबार भएको खेलमा नेपाल नेदरल्यान्ड्ससँग तेस्रो सुपर ओभरमा पराजित भएको नेपाल आज सिरिजमा पहिलो जितको खोजीमा छ । पहिलो इनिड.मा स्कटल्याण्डलाई ९७ रनमा नै समेटेकोले खेल जित्ने प्रबल संभावना पनि देखिएको छ ।

यता स्कटल्याण्डले भने पहिलो खेलमा नेदरल्यान्ड्सलाई ३९ रनले पराजित गरेको थियो । अंक तालिकामा स्कटल्याण्ड २ अंकसाथ शीर्ष स्थानमा छ ।

Share Now