-सञ्जय ढकाल / माधुरी महतो नेपाली
बीरगञ्ज(पर्सा), ३ साउन । “चापाकल सुकिसकेका छन्। खेत बाँझै हुने अवस्था आइसकेको छ”, पर्साको सेढवाका किसान प्रमोदप्रसाद यादवले यो बर्खामा चाहिँदो पानी नपरेकाले सङ्कट आइलागेको व्यथा सुनाउनुभयो।
“खेती मात्रै होइन कि खानेपानीको समेत हाहाकार भइसकेको बताउनुहुन्छ”, वीरगन्जकी गृहिणी पुनम शाह। “पानी नभएर खाना पकाउन, भाँडा मस्काउन, लुगा धुन, नुहाउन सबै समस्या भइसकेको छ”, उहाँले भन्नुभयो ।
खास गरी मधेश प्रदेशका आठ जिल्ला अनि कोशी प्रदेशको पूर्वी तराईका मोरङ, सुनसरी र झापामा यसपालि असारमा पर्याप्त पानी पर्न नसकेको मौसमसम्बन्धी आँकडाहरूले देखाएका छन्।
यी जिल्ला तिनै हुन् जसलाई नेपालको खाद्य भण्डारका रूपमा चिनिन्छ। मधेशका आठ जिल्लाबाट मात्रै देशको कुल धान उत्पादनको एक चौथाइ उत्पादन हुन्थ्यो भने पूर्वी तराईका तीन जिल्ला धान उत्पादनमा अग्रणी नै मानिन्छन्।
मधेश प्रदेश सरकारले त प्रदेशलाई ‘सुक्खाग्रस्त क्षेत्र’ नै घोषणा गरेको छ।
गम्भीर असर
“स्थिति भयावह छ। एउटा कुनै टोलमा ट्याङ्कर पठाउँदा मानिसहरू घण्टौँ लाइन लागेर पानी थाप्न बाध्य छन्। खेतीपातीमा विकराल समस्या भएको छ। पानी परेको छैन अनि सतह सिँचाइ वा भूमिगत सिँचाइ पनि राम्रो उपलब्ध छैन”, मधेश प्रदेशले सुक्खाग्रस्त क्षेत्र भनेर गत साता घोषणा गर्नुपरेको कारण सुनाउँदै प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री जनार्दनसिंह क्षेत्रीले बीबीसीसँग भन्नुभयो ।
उहाँका अनुसार मधेश प्रदेशमा असार मसान्तसम्म धान खेती हुने कुल क्षेत्रफलको ३६ प्रतिशतमा मात्र रोपाइँ हुन सकेको छ।
“जबकि अघिल्ला वर्षहरूमा यतिबेलासम्म ६०(६५ प्रतिशत रोपाइँ भइसक्थ्यो”, उहाँले भन्नुभयो।
रोपाइँ भइसकेको खेतमा पनि पानी नपरेपछि उत्पादन ह्वात्तै घट्ने उहाँले चेतावनी दिनुभयो ।
“अबको एक-दुई साताभित्रै पर्याप्त पानी पर्यो भने राहत हुन सक्छ। नत्र भने रोपाइँ गर्न भनेर राखिएको बीउ सुक्यो भने काम लाग्दैन। ढिलो लगाइएका बालीको पनि उत्पादन घटिहाल्छ”, मधेश प्रदेशको कृषि विकास निर्देशनालयका प्रमुख जितेन्द्र यादवले बताउनुभयो।
खेतमा किसान
प्रदेशका आठ जिल्ला ( सिराहा, धनुषा, बारा, पर्सा, रौतहट, सर्लाही, सप्तरी र महोत्तरी )मा धान रोपाइँ हुने कुल क्षेत्रफल ३ लाख ७२ हजार ६ सय ४५ हेक्टर रहेकोमा असार मसान्तसम्ममा सवा लाख हेक्टर जतिमा मात्रै रोपाइँ हुन सकेको छ।
कोशी प्रदेशमा पर्ने पूर्वी तराईको मोरङ, सुनसरी र झापा जिल्लामा पनि पानीको अवस्था उस्तै रहेको कोशी प्रदेशको कृषि विकास निर्देशनालयकी वागवानी विकास अधिकृत पूर्णमाया गुरुङले बताउनुभयो।
“यो प्रदेशमा अधिकांश धान उत्पादन हुने ती तीन जिल्ला नै हुन्। त्यहाँ पर्याप्त पानी परेको छैन”, उहाँले भन्नुभयो। निर्देशनालयले जारी गरेको असार २९ गतेसम्मको आँकडामा झापामा ४१ प्रतिशत, मोरङमा ३६ प्रतिशत अनि सुनसरीमा ३५ प्रतिशत मात्र रोपाइँ हुन सकेको छ।
मधेश प्रदेशका कृषिमन्त्री क्षेत्रीले त्यहाँ सतह सिँचाइ तथा भूमिगत सिँचाइका लागि पानी नपुगेको अनि नहरहरूमा पनि पर्याप्त प्रवाह नभएको बताउनुभयो।
“उदाहरणका लागि गण्डक नहरलाई लिनुहोस्। सम्झौताअनुसार भारतले हामीलाई ८५० क्युसेक पानी दिनुपर्ने हो। तर ५०० भन्दा धेरै दिएको छैन। यसमा सङ्घीय सरकारले कूटनीतिक पहल गर्नुपर्छ। सम्झौताअनुसार पानी आयो भने कम्तीमा यसको कमान्ड एरिया भनिने बारा, पर्सा र रौतहटमा स्थिति केही सहज हुन्थ्यो”, उहाँले भन्नुभयो।
चुरे क्षेत्रमा भएको ‘वातावरणीय दोहन’ले पनि मधेशमा पानीको सङ्कट गहिरिँदै गएको उहाँले बताउनुभयो। “चुरेभावर क्षेत्रमा संरक्षण नहुँदा जमिनमुनि रहने पानीको भण्डार सुक्दै गएको छ। बोरिङ गर्दा पानी नआउने वा थोरै आउने भइरहेको छ”, उहाँले भन्नुभयो।
तत्कालका निम्ति मधेश प्रदेशको सरकारले सङ्घीय सरकारको सहयोगमा त्यहाँका जनता, खास गरी किसानहरूलाई राहतका योजना ल्याउन खोजिरहेको उहाँले बताउनुभएको छ।
कृषि र अर्थतन्त्रमा प्रभाव
नेपालमा कृषिले कुल गार्हस्थ्य उत्पादनको एक चौथाइ हिस्सा ओगट्छ। त्यसमा धान उत्पादनको प्रमुख भूमिका रहन्छ।
गत वर्ष देशको कुल धान उत्पादन ५९ लाख मेट्रिक टन नाघेको थियो।
“राष्ट्रिय कुल उत्पादनमध्ये करिब एक चौथाइ जति मधेश प्रदेशको योगदान रहँदै आएको छ”, सङ्घीय कृषि मन्त्रालयका वरिष्ठ कृषिअर्थविज्ञ महानन्द जोशीले बताउनुभयो।
मधेश प्रदेशको कृषि विकास निर्देशनालयका प्रमुख जितेन्द्र यादवका अनुसार गत वर्ष त्यहाँको आठ जिल्लाले १४ लाख मेट्रिक टनभन्दा धेरै धान उत्पादन गरेका थिए।
कोशी प्रदेशका हकमा पनि २०८०।८१ मा करिब साढे १४ लाख मेट्रिक टन धान उत्पादन भएकोमा अधिकांश उक्त तीन जिल्लामा भएको अधिकारीहरूले बताएका छन्।
ूयी ठाउँहरू भनेका नेपालका अन्नभण्डार हुन्। यहाँ समस्या पैदा भयो भने देशमै खाद्य सङ्कटको अवस्था निम्तन सक्छ,ू कृषि मामिलाका जानकार तथा पूर्वसचिव हरि दाहालले बताउनुभयो।
धान उत्पादनको सोझो सम्बन्ध देशको कुल गार्हस्थ्य उत्पादनसँग हुने भएकाले यसमा तलमाथि हुनेबित्तिकै राष्ट्रिय अर्थतन्त्र नै धरमराउने उहाँले चेतावनी दिनुभयो।
“समय छँदै नहरहरूको मर्मतसम्भार अनि बोरिङलाई चाहिने बिजुलीका सुविधाजस्ता अन्य चाँजोपाँजो मिलाउन सकियो भने केही हदसम्म यस्ता समस्या कम गर्न सकिन्छ। दीर्घकालका निम्ति त हामीले चुरे क्षेत्रमा वातावरणीय संरक्षण गर्नुपर्छ। त्यहाँ दोहन हुँदा तराईमा जमिनमुनि जलभण्डार निरन्तर घटिरहेको छ”, दाहालले बताउनुभयो।
पानी पर्ने सम्भावना कति?
जल तथा मौसम विज्ञान विभागले मध्यजेठतिर गरेको प्रक्षेपणमा यो वर्षको मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा धेरै पानी पर्ने भनिएको थियो।
यसपालि मनसुन जेठ १८ गते नेपाल भित्रिएको थियो भने अब असोज १४ मा बाहिरिने प्रक्षेपण छ। मनसुनको अवधिमा सामान्यतया १,५००-१,६०० मिलिमिटर वर्षा मापन गरिन्छ।
तर मधेश प्रदेश तथा पूर्वी तराईका जिल्लाहरूमा सरदरभन्दा कम पानी पर्ने प्रक्षेपण रहेको विभागकी प्रवक्ता विभूति पोखरेलले बताउनुभएको छ।
“बङ्गालको खाडीमा जति सक्रियता हुनु पर्ने हो, त्यति देखिएको छैन। पश्चिममा केही वर्षा भइरहेको छ तर यसपालि पूर्वमा सरदरभन्दा कम हुने अपेक्षित थियो”,उहाँले भन्नुभयो।
जुलाई १० मा मनसुन प्रक्षेपण अद्यावधिक गर्दा मधेश प्रदेशमा सरदरभन्दा कम वर्षा हुन सक्ने भनेर प्रक्षेपण गरिएको उहाँले बताउनुभयो।
तर त्यसो भन्दै गर्दा विगतमा खडेरी भन्दाभन्दै एकैचोटी बाढी आएका विषम घटनाहरूको पनि विचार गर्नुपर्ने उहाँले बताउनुभयो।
“बङ्गालको खाडीबाट जति जलवाष्पयुक्त प्रणाली सक्रिय हुनुपर्ने त्यति नदेखिँदा मधेश प्रदेश र पूर्वी तराईका क्षेत्रमा सरदरभन्दा कम पानी पर्ने हामी प्रक्षेपण गर्न सक्छौँ “,उहाँले भन्नुभयो। पश्चिम तराईमा चाहिँ सरदर वा सरदरभन्दा बढी पानी पर्ने सम्भावना उहाँले औँल्याउनुभयो।


















