काठमाडौं , १५ साउन : नेपालले टी- २० महिला विश्व कपको ग्लोबल छनोट आयोजना गर्ने भएको छ ।
अन्तराष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले बिहिवार टी- २० महिला विश्वकपको ग्लोबल छनोट २०२६ को जनवरी १२ देखि फेब्रुअरी २ सम्म नेपालमा आयोजना हुने बताएको छ । ग्लोबल छनोटमा नेपालसहित १० टोलीको सहभागिता रहने छ ।
सहभागी टाेलीलाई दुई समूहमा विभाजन गरिने छ । समूहका शीर्ष ३ टोली सुपर सिक्स चरणमा पुग्ने छन् । सुपर सिक्सको शीर्ष ४ मा रहने टोलीले विश्वकपमा स्थान बनाउँने छन् ।
प्रतियोगिताको खेल तालिका भने केही समयमै घोषणा गरिने आइसीसीले बताएको छ । बंगलादेश र आयरल्याण्डले २०२४ मा आइसीसी महिला विश्वकपमा सहभागिता जनाएका कारण छनोटमा स्वतः स्थान बनाएका छन्।
एसिया छनोटबाट थाइल्याण्ड र नेपाल, अमेरिका क्षेत्रिय छनोटबाट अमेरिकाले ग्लोबल छनोटमा स्थान बनाएका थिए । बाँकी ५ स्थानहरूमा अफ्रिका र युरोपबाट समान २ र पूर्वी एसिया-प्रशान्त क्षेत्र छनोटबाट १ टोलीले स्थान बनाउँने छन् ।
नेपालले एसियाली छनोटको दोस्रो स्थानमा रहँदै पहिलो पटक ग्लोबल छनोटमा स्थान बनाएको थियो।
यसैबीच, इङ्गल्याण्ड र वेल्समा हुने आइसीसी महिला टि २० विश्वकप २०२६ को तालिका पहिले नै जारी भइसकेको छ।
विश्व कप २०२६ को जुन १२ देखि जुलाई ५ सम्म चल्नेछ। २४ दिनमा ३३ खेल ओल्ड ट्राफर्ड, हेडिंगले, ह्याम्पशायर बाउल र ब्रिस्टल काउन्टी ग्राउन्ड सहित ७ वटा मैदानमा हुनेछन् ।


















