गुवाहाटी(आसाम), भाद्र १६ । भारत भ्रमणमा निस्केको नेपालको टिम ए ले आसाम प्रदेश क्रिकेट सङ्घविरुद्धको टी–२० अभ्यास श्रृखला जितेको छ ।
भारतको गुवाहटीमा सोमबार भएको सिरिजको पाँचौँ तथा अन्तिम खेलमा नेपालले आसामलाई ४४ रनले पराजित गरेसंग ५ खेलको श्रृखला नेपालले सिरिज ३–२ ले जितेको हो ।
जितका लागि नेपालले दिएको २ सय ९ रनको लक्ष्य पछ्याएको घरेलु टोली आसाम निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ६४ रनमा समेटिएको थियो ।
आसामका लागि भार्गव लहकरले सर्वाधिक अविजित २९ रन बनाए । यस्तै साहिल जेन र कप्तान सुमित घडिअन्करले २५, २५ तथा सौरभ दिहिगाले १७ रन बनाए।
आसामलाई रोक्ने क्रममा नेपालका शेर मल्ल, आकाश चन्द र पवन सर्राफले २।२ तथा बसिर अहमदले १ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरको खेलमा ५ विकेटको क्षतिमा २ सय ८ रन बनाएको थियो । नेपालका लागि सन्दीप जोराले सर्वाधिक ६४ रन बनाए । यस्तै शुभ कंसाकारले ४१ र इशान पाण्डेले ३२ रन जोडे ।
नेपाललाई रोक्ने क्रममा आसामका आयुष्मान मलाकार र अभिनव चौधरीले २।२ विकेट लिए।
यसअघि सिरिजको पहिलो खेलमा नेपाल १५ रन र दोस्रो खेलमा ९६ रनले विजयी भएको थियो । यस्तै तेस्रो खेलमा नेपाल ९ रन र चौथो खेलमा १८ रनले पराजित भएको थियो ।
सिरिजको उपाधि जित्ने पर्ने अन्तिम खेलमा नेपालले सानदार प्रदर्शन गर्न सफल भयो ।


















