ढाका(बंगलादेश), २७ कार्तिक । नेपाल र बंगलादेशबीचको पहिलो मैत्रीपूर्ण खेल बराबरीमा सकिएको छ ।
खेलमा दुवै पक्षबाट २-२ गोल भएको छ।
पहिलो हाफमा नेपालले एक गोल गरेको थियो । नेपालको लागि रोहित चन्दले गोल गरे । बंगलादेश निकै संघर्ष गरेर पनि पहिलो हाफमा गोल गर्न सकेन ।
दोस्रो हाफमा बंगलादेशका स्टार खेलाडी हम्जा चौधरीले बाइसाकल किक हानेर बाउन्स गरेको बल गोलमा परिणत भयो । त्यसपछि एक गोल उनले पेनाल्टीमा गरे । खेलको इन्जुरी टाइमको अन्तिम समयमा नेपालका अनन्त तामाड.ले गोल गर्दै नेपाललाई बराबरीमा ल्याए ।
बंगलादेशको ढाकामा भएको खेलको २९ औं मिनेटमा नेपालले घरेलु टोली विरूद्ध अग्रता बनायो। सुमित श्रेष्ठको कटब्याकमा बक्सको ठिक बाहिरबाट रोहितले हानेको सुन्दर प्रहार गोलमा परिणत भयो। रोहितको यो करियरको दोस्रो अन्तर्राष्ट्रिय गोल हो।
लगत्तै बंगलादेशका कप्तान जमाल बुयानको पासमा फोएसल फाहिमको प्रहारलाई नेपालका गोल किपर किरण चेम्जोङले उत्कृष्ट बचाउ गरे। ३६ औं मिनेटमा फेरि फाहिमको प्रहारमा किरण बाधक बने। पहिलो हाफमा नेपालले १-० को अग्रता बनायो।
दोस्रो हाफ सुरु भएको ५ मिनेटभित्र बंगलादेशले दुई गोल गर्दै नेपाललाई स्तब्ध बनायो। इङ्लिस च्याम्पियनसिप खेल्ने हेम्जाले ४६ औं मिनेटमा सानदार गोल गरे। जमाल बुयानको एसिस्टमा ६ यार्ड बक्स बाहिरबाट हम्जाले हानेको बाइसाइकल किक किपर अगाडि बाउन्स भएर गोलमा परिणत भयो।
खेल १-१ को बराबरीमा पुग्यो। ४८ औं मिनेटमा नेपालका डिफेन्डर सुमन श्रेष्ठसंग ठोकिएर राकिब होसेबलाई बक्सभित्र लडेपछि रेफ्रीले बंगलादेशलाई पेनाल्टीको दिए । ५० औं मिनेटमा हम्जाले पेनाल्टीमा गोल गरे। बंगलादेशले २-१ को अग्रता बनायो।
७९ औं मिनेटमा हम्जा चोटको कारण सबस्टिच्युट भए। निर्धारित ९० मिनेटको खेलमा बंगलादेशले २-१ को अग्रता बानयो। तर इन्जुरी समयमा नेपालले बराबरी गोल फर्कायो। दिनेश हेन्जनको कर्नरमा डिफेन्डर अनन्त तामाङले क्लोज रेन्जबाट हानेको ब्याक हिल गोलमा परिणत भयो। नेपालले बंगलादेशलाई २-२ को बराबरीमा रोक्यो। आजको खेलमा दिपेश गुरुङ र आदित्य शाक्यले राष्ट्रिय टोलीबाट डेब्यु गरे।
नेपालले बंगलादेशसँग गत भदौमा नेपाल मैत्रिपूर्ण खेल खेलेको थियो। त्यो खेल गोल रहित बराबरीमा सकिएको थियो। दोस्रो खेल भने जेन-जी प्रदर्शनको कारण हुन सकेको थिएन।
नेपालले लगातार सातौं खेलमा पनि जित निकाल्न सकेन। सिंगापुरलाई १-० ले हराएपछि नेपालको यो तेस्रो बराबरी नतिजा हो भने ४ खेलमा हारेको छ। नेपालले मंसिर २ गते मलेसियासँग एएफसी एसियन कप छनोटको खेल खेल्नेछ।


















