Prakash Adhikari November 25, 2025

काठमाडौँ, ९ मङ्सिर : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले औद्योगिक विकासका एकद्वार प्रणाली आवश्यक भएको बताउनुभएको छ । ‘औद्योगिक वातावरण सुधार : दिगो अर्थतन्त्रको आधार’ भन्ने नारासहित ११औँ राष्ट्रिय उद्योग दिवसका अवसरमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आज विभागमा आयोजना गरेको कार्यक्रममा उहाँले एकै प्रकारको कामका लागि पनि धेरै प्रकारका सरकारी संरचनाले गर्दा उद्योगी व्यवसायीले झन्झट व्यहोर्नु परेको बताउनुभयो ।

अध्यक्ष ढकालले भन्नुभयो, “हामी कहाँ एकै प्रकारका काम गर्ने सरकारी संस्था धेरै भए । व्यावसायिक वातावरण सहज र सरल गर्र्नुपर्नेमा झटिलता र झन्झट थपिँदै गएको छ । यो अवस्थामा एकद्वार प्रणालीलाई प्रभावकारी बनाउँदै अनावश्यक संस्था कम गर्दै जानुुपर्दछ ।”

अध्यक्ष ढकालले गत भदौ २३ र २४ को आन्दोलनपछि देशको आर्थिक अवस्था झनै जटिल बन्दै गएको चर्चा गर्दै व्यक्तिगत र लगानीको सुरक्षालाई प्राथमिकता दिनुपर्ने बताउनुभयो उहाँले नेपालको निर्यात व्यापारको अवस्था सन्तोषजनक नरहेको अवस्थामा निर्यातमा दिइने नगद अनुदानलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।

अध्यक्ष ढकालले स्टार्टअप र नवप्रवर्तनलाई प्रोत्साहन गर्न सरकारले कोष स्थापना गरेको कदम सकारात्मक भएको बताउनुहुँदै उद्यमशीलताको विकास रोजगारी सिर्जनाको क्षेत्रमा महासङ्घ सधैँ सहकार्यको लागि तयार रहेको बताउनुभयो ।

Share Now