कीर्तिपुर(काठमाडौं), २५ मंसिर । नेपाल प्रिमियर लिगको दोस्रो क्वालिफायरमा लुम्बिनी लायन्सले विराटनगर किङ्सलाई १ सय ३५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिडंको निम्तो पाएको लुम्बिनीले २० ओभरको निर्धारित खेलमा ८ विकेटको क्षतिमा १ सय ३४ रनको योगफल तयार पारेको छ ।
खेलमा लुम्बिनीका डी आर्सी सर्टले ४५ रन बनाए भने कप्तान रोहित पौडेलले ३४ रनको योगफल तयार पारे । निरोशन डिकवालाले २९ रन बनाए । रुबेल ट्रम्पलमेन ११ रनमा र अभिनास गौतम २ रनमा नट आउट रहे । शेर मल्लले ७ रन जोडे दिलीप नाथ र दिनेश अधिकारी एक एक रनमा सीमित भए भने सन्दीप जोरा खाता नखोली आउट भए ।
लुम्बिनीले पावर प्लेमा १ विकेटको क्षतिमा ४४ रन बनायो। लुम्बिनीले १० ओभरमा १ विकेटको नोक्सानीमा ६९ रन जोड्यो।
फाइनल प्रवेशका लागि भएको दोस्रो क्वालिफायर खेलमा विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको थिए ।
विराटनगर क्वालिफायर वानमा सुदूरपश्चिम रोयल्ससँग ७७ रनले पराजित भएपछि क्वालिफायर टुमा खेल्नु परेको हो।
लुम्बिनी भने हिजो एलिमिनेटरमा काठमाडौं गोर्खाजलाई ४ विकेटले हराउँदै क्वालिफायर टुमा स्थान पक्का गरेको हो।
लिग चरणमा लुम्बिनीले विराटनगरलाई पाँच विकेटले पराजित गरेको थियो । आजको खेलको विजेता टोली प्रतियोगिताको फाइनलमा पुग्नेछ ।
यसअघि भएको पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिमले विराटनगरलाई पराजित गर्दै फाइनलको यात्रा तय गरिसकेको छ ।
सुदूरपश्चिम पहिलो संस्करणको उपविजेता हो ।
आजको विजेताले शनिवार सुदूरपश्चिमसँग फाइनल खेल्ने छ।


















