Prakash Adhikari December 16, 2025

भृकुटीमण्डप(काठमाडौँ), २ पौष। नेकपा (एमाले) को जारी ११औँ राष्ट्रिय महाधिवेशनमा बुधबार नयाँ नेतृत्व चयनका लागि मतदान भइरहेको छ ।

नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनबाट पार्टीको नेतृत्व गर्न अग्रसर हुनुभएका केपी शर्मा ओली र ईश्वर पोखरेलले एकै समयमा फरकफरक भोटिड. मेसिनबाट मतदान सुरु गर्नुभएको हो । ओलीले ७७ नम्बरको मेसिनबाट मतदान गर्नुभयो भने पोखरेलले ७६ नम्बरको मेसिनबाट ।

बिहान ८ बजेदेखि सुरु हुने भनिएको मतदान डेढ घण्टा ढिलो गरी सुरु भएको हो । मतदानका लागि नेता कार्यकर्ताको निर्धारित समय ८ बजे नै मतदानस्थलमा आइपुगेपनि अध्यक्षका उम्मेद्वारहरु नआइपुगेकोले निर्धारित समयको डेढ घण्टापछि मतदान सुरु भएको हो ।

यसअघि मङ्गलवार नै मतदान गर्ने कार्यतालिका रहे पनि प्राविधिक समस्याका कारण आज मात्र मतदान भएको हो । मङ्गलवार साँझ मतदाताहरू मतदान हुने आशामा लाइनमै बसे पनि राति ८ बजे मतदातलाई चिसो लाग्ने र मेसिनबाट हुने मतदानमा प्राविधिक गडबढी गरिने जोखिम न्यूनीकरण गर्न आजलाई मतदान कार्यक्रम सारिएको थियो ।

बिहान ८ बजेदेखि मतदान हुने भनिए पनि भृकुटीमण्डपमा केही ढिला गरी सुरु भएको छ । प्रतिनिधिहरु भने बिहानैदेखि मतदानका लागि लाइनमा बसेका थिए ।

विद्युतीय मेसिनबाट मतदान भइरहेको छ । मतदानको लागि ८० वटा मेसिन राखिएको छ । रामलक्ष्मण इनोभेसन प्रालिले तयार पारेको विद्युतीय मेसिनबाट भइरहेको मतदानमा २ हजार २ सय ६३ प्रतिनिधि निर्वाचनमा सहभागी हुँदैछन् ।

नयाँ नेतृत्वमा केपी ओली र ईश्वर पोखरेल समूह प्यानलसहित प्रतिस्पर्धामा छन् । दुवैको प्यानलमा नपरेकाहरुले स्वतन्त्र उम्मेदवारी पनि दिएका छन् ।

मतदान भइरहँदा प्रत्याशीहरुले प्रतिनिधिहरुसँग मत मागिरहेका छन् भने प्रतिनिधिहरुले पनि आफूले रुचाएका उम्मेदवारको प्रचारप्रसार गरिरहेका छन् ।

Share Now