Prakash Adhikari September 2, 2018

 

रामल्लाह(प्यालेस्टाइन),१७ भदौ (बीबीसी) ।प्यालेस्टिनी शरणार्थीहरूलाई सहायता उपलब्ध गराउने संयुक्त राष्ट्रसंघीय निकायलाई दिइने सहयोग बन्द गर्ने अमेरिकाको निर्णयको आलोचना भइरहेको छ।

प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासका एकजना प्रवक्ताले उक्त निकायलाई सहयोग रोक्ने निर्णय गरेर वासिङ्गटनले प्यालेस्टिनी जनतामाथिको ‘खुलेआम हमला’ गरेको बताएका छन्।

मध्यपूर्वी क्षेत्रमा थप अस्थिरता उत्पन्न गराउन सक्ने चिन्ताका माझ अमेरिकाको त्यस्तो निर्णयको निन्दा भएको हो।

प्यालेस्टिनी शरणार्थीहरूलाई सहायता उपलब्ध गराउने उक्त संयुक्त राष्ट्रसंघीय निकायका एकजना प्रवक्ता क्रिश गुनेजले सामाजिक संजालको बेवसाईट ट्वीटरमा श्रृङ्खलाबद्ध सन्देशहरू राख्दै सो निकायको बचाउ गरेका छन्।

मध्यपूर्वमा रहेका पचास लाख शरणार्थीहरूलाई सहयोग उपलब्ध गराउने उक्त निकायको सबैभन्दा ठूलो दाता अमेरिका रहँदै आएको थियो।

‘संकट चर्किने’
चरम आर्थिक संकटको सामना गरिरहेको उक्त निकायलाई यसै वर्षको सुरुवातमा दिने भनेर वाचा गरिसकेको तीस करोड डलर अमेरिकाले रोक्का गरिदिएको थियो।

गाजाको नियन्त्रण गरिरहेको प्यालेस्टिनी लडाकू समूह हमासले उक्त निर्णय संकटलाई गम्भीर रूपमा चर्काउने खालको भएको जनाएको छ।

तर इजरेलले भने अमेरिकी निर्णयको स्वागत गरेको छ।

Palestine
दाबी
सो शरणार्थीसम्बन्धी निकायले हाल इजरेलभित्र पर्ने उनीहरूको पैतृक भूमिमा फर्कन पाउने आशा प्यालेस्टिनीहरूमा जीवितै राखिदिएर द्वन्द्व जारी राखेको आरोप इजरेलले लगाएको छ।

शरणार्थीका मुद्दा समाधान गर्ने शान्ति सम्झौता गर्ने दायित्व, राजनीतिक दलहरूको भएको भन्दै सो निकायका अधिकारीहरूले त्यस्तो दाबीहरू अस्वीकार गरेका छन्।

उक्त निकाय सुधार्न नसकिने गरी त्रुटिपूर्ण रहेको भनी अमेरिकाले गरेको चित्रणलाई पनि ती अधिकारीहरूले अस्वीकार गरेका छन्।

आफूहरुले विद्यालयहरू, तथा स्वास्थ्य केन्द्रहरू संचालन गर्न महत्त्वपूर्ण सहयोग प्रदान गर्ने गरेको उनीहरूले जनाएका छन्।

सहयोग बन्द

संयुक्त राज्य अमेरिकाले प्यालेस्टिनी शरणार्थीहरूलाई सहायता उपलब्ध गराउने संयुक्त राष्ट्रसंघीय निकायलाई गर्ने सबै सहयोग बन्द गर्न लागेको छ।

अमेरिकी विदेश मन्त्रालयले युनाइटेड नेशन्स रिलिफ एण्ड वर्क्स एजेन्सी अन्रा ‘सच्याउन नमिल्ने गरी त्रुटिपूर्ण’ रहेको जनाएको छ।

मन्त्रालयकी प्रवक्ता हिथर नार्टले भनिन्, “अमेरिकी प्रशासनले सो विषयलाई सावधानीपूर्वक समीक्षा गरेको छ र अन्रालाई अब थप योगदान पुर्‍याइने छैन।”

प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासका एकजना प्रवक्ताले अमेरिकी कदम प्यालेस्टिनी जनतामाथिको ‘ठाडो आक्रमण’ भएको बताएका छन्।

दण्डात्मक

नाबिल अबु रुदैनाले समाचार संस्था रोयटर्सलाई भने, “यस्तो दण्डात्मक कदमले यो क्षेत्रमा संयुक्त राज्यको भूमिका अब नरहेको र ऊ समाधानको एउटा हिस्सा नरहेको तथ्यलाई बदल्न सक्ने छैन।”

उनले अमेरिकी निर्णय राष्ट्रसंघीय संकल्प प्रस्तावहरूप्रतिको एउटा अवज्ञा भएको समेत बताए।

अन्राका एकजना प्रवक्ता क्रिश गुनेजले शृङ्खलाबद्ध ट्वीटमार्फत् सो निकायको बचाउ गरेका छन्।

शरणार्थी
उनले लेखेका छन्, “अन्राका विद्यालय, स्वास्थ्य केन्द्र र आपत्‌कालीन सहायता कार्यक्रमहरू सच्याउनै नमिल्ने गरी त्रुटिपूर्ण रहेको आरोपको सम्भावित सबैभन्दा कडा शब्दमा अस्वीकार गर्दछौँ।”

गत ज्यानुअरीमा अमेरिकाले अन्रालाई दिइने आधा जति रकम रोक्ने घोषणा गरेपछि पछिल्लो कदम चालेको हो।

स्थापना

खासमा सन् १९४८ को अरब-इजरेल युद्धका कारण विस्थापित हुन पुगेका हजारौँ प्यालेस्टिनीहरूको रेखदेख गर्न अन्राको स्थापना गरिएको थियो।

सो निकायले अहिले वेस्ट ब्याङ्क, गाजा र इजरेलका छिमेकी देशहरूमा ५० लाखभन्दा

बढी मानिसलाई स्वास्थ्य, शिक्षा र सामाजिक सेवाको क्षेत्रमा सहयोग गर्दछ।

अमेरिका सो निकायलाई सबैभन्दा बढी सहायता उपलब्ध गराउने दाताको रूपमा रहिआएको छ।

उसले सो क्षेत्रमा अन्राको करिब ३० प्रतिशत जति कामका लागि एक्लै सहयोग गर्दै आएको छ।

Share Now

Leave a comment.