जकार्ता(इण्डोनेशिया),१७ भदौ(बीबीसी) । आशा गरिएका तेक्वान्दो, कराते, बक्सिङसहितका खेलबाट निराशा हात लागे पनि पाराग्लाइडिङले रजत पदक दिलाएपछि इन्डोनेशियामा भएको एशियन गेम्समा नेपाल दक्षिण एशियाली राष्ट्रमध्ये भारतपछि दोस्रो स्थानमा रहन सफल रह्यो।
यद्यपि ४५ एशियाली देशका खेलाडीबीच हुने उच्च प्रतिस्पर्धामा बृहत् सहभागिताभन्दा पदक जित्न सक्ने सम्भावित खेलमा केन्द्रित गरी रणनीतिक शैली अपनाउन नसक्नुले अवसर गुम्न पुगेको विश्लेषकहरूको ठम्याइ छ।
१६ दिने प्रतियोगिताको आइतवार समापन हुँदैछ।
दक्षिण एशियाका चार राष्ट्र श्रीलङ्का, बांग्लादेश, माल्दिभ्स र भुटानले जारी एसियाली खेलकुदमा कुनै खेलमा पनि पदक जित्न सकेका छैनन्।
रणनीति
नेपालले पाराग्लाइडिङबाट ऐतिहासिक रजत पदक ल्याए पनि खासमा सम्भावित पदकको सूचीमा राखिएका खेलमा नेपाललाई पदक नआउनुलाई विश्लेषकहरू खेलकुदको कमजोर रणनीतिलाई जिम्मेवार ठान्छन्।
राष्ट्रिय खेलकुद परिषद् तथा नेपाल ओलिम्पिक कमिटीका पूर्व कोषाध्यक्ष विष्णुगोपाल श्रेष्ठले भने, “कुन खेलको सम्भावना कति छ, कुन खेल सहभागिताको लागि र कुन पदकको लागि भनेर स्पष्ट हुनुपर्छ। पहिलेदेखि नै तालिका मिलाउनुपर्छ।”
विगतमा पदक जितेका कारण यसपालि पनि जित्न सक्छ भन्ने अनुमानलाई आधार बनाएका तेक्वान्दो, कराते, बक्सिङ जस्ता खेलका खेलाडीहरू इन्डोनेशियामा प्रतिद्वन्द्वीसामु कमजोर देखिएका थिए।
२९ खेल र झण्डै २०० खेलाडी पठाउने राष्ट्रिय खेलकुद परिषद्को निर्णयमा बृहत् सहभागिता बढी र पदक सम्भावनाको तयारी कम देखिएको ठानिएको थियो।
खेल्न जानु एक हप्ता अघिसम्म खेल सङ्ख्या थपिरहनुले तयारी कति हचुवामा आधारित रहेको छ भनी आलोचना समेत भएको थियो।
कमजोरी
तर पनि चीन, जापान र दक्षिण कोरिया जस्ता ४५ शक्तिशाली एशियाली राष्ट्रसँगको प्रतिस्पर्धाबाट पदक ल्याउन कठिन हुने हुँदा पदक जित्न सक्ने सम्भावित खेललाई ग्राह्यता नदिनु सरकारको कमजोरी रहेको खेलाडीहरू ठान्छन् ।
सन् २००६ मा दोहामा सम्पन्न एसियाली खेलकुदमा काश्य पदक जितेकी तेक्वान्दोकी खेलाडी आयशा शाक्य भन्छिन्, “विदेशमा क्षमता देखाउने मौका जति पाउने हो त्यति नै सम्भावना बढ्ने हो।”
“साग गेम्सबाट सिधै एशियन गेम्स खेल्न परिरहेको छ। पदक नआउनुको कारण यसरी सम्भावित खेललाई मौका नदिनु पनि हो।”
यद्यपि ४५ राष्ट्रमध्ये आठ राष्ट्रले कुनै पनि पदक जित्न नसकेको सन्दर्भमा नेपालले एउटा रजत पदक जितेसँगै पदक तालिकाको ३३ औँ स्थानमा रहेको छ।
जुन दक्षिण एशियामा भारतभन्दा पछिको दोस्रो स्थान हो। नेपालपछि पाकिस्तानले ४ काश्य पदक जितेर ३४ औँ स्थानमा रहेको छ।