Prakash Adhikari September 3, 2018

काठमाडौं,१८ भदौ । नेपाल वायु सेवा निगमले हालै खरिद गरेका एअरबसका दुईवटा ३३०-२०० सेरिजका वाईड बडी विमान खरिदमा भएको ६ अर्ब ५९ करोडको घोटाला छानवीन गर्न अग्रसर सरकार र संसदलाई हवाई माफियाहरुले नियन्त्रण गर्ने दुस्प्रयास गरेका छन् ।

निगमको आर्थिक नियमावली र सार्वजनिक खरिद ऐनको ठाडो उल्लंघन गरि खरिद गरिएको यो नेपालको इतिहासको सबैभन्दा ठूलो आर्थिक अनियमितता र भ्रष्टाचार काण्डमा संलग्न पदाधिकारीहरुको संलग्नतामा यसको छानवीन गर्न मन्त्रालयले समिति गठन गरेपछि पर्यटन मन्त्री र सचिव हवाई माफियाहरुको नियन्त्रणमा पुगेको पुष्टि भएको हो । यो खरिदमा भएका अनियमितताका सम्बन्धमा छानवीन गर्न संसदमा नेपाली कांग्रेस, नेपाल मजदूर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका निर्वाचित सांसदहरुले जोडदार रुपमा माग गरिरहनुभएको छ ।


नेकपाका नेता बामदेव गौतमलाई बर्दियाबाट पराजित गर्ने नेपाली कांग्रेसका सांसद एवम् पूर्व सिंचाई मन्त्री सञ्जय गौतम, नेमकिपाका सांसद प्रेम सुवाल र राप्रपाका सांसद राजेन्द्र लिङ्देनले यो ऐतिहासिक घोटालाका बारेमा कुरा उठाउनुभएको थियो । यो ऐतिहासिक घोटालाका बारेमा संसदमा जवाफ दिदा संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारी असिनपसिन हुनुभएको थियो ।

उहाँले सांसदहरुले उठाएको प्रश्नहरुको जवाफ दिन त सक्ने कुरा थिएन नै तर यसका बारेमा सत्य तथ्य सार्वभौमसत्ता सम्पन्न संसद पेश गर्छु भन्ने प्रतिबद्धता गर्न छोडेर उहाँले झूटो बोल्नुभयो ।

उहाँले दुवै वाईड बडी खरिदका लागि आफू मन्त्री नियुक्त हुनु अगावै पैसा पठाइएको दावी गर्नुभयो जवकी २४ अर्बको खरिदमा निगमले उहाँ आउनु अगाडि २०७४ असार ३ गते पहिलो किस्ता ७ अर्ब ९० करोड रुपैया पठाएको थियो । त्यस अगाडि समझदारी पत्रमा हस्ताक्षर गरेपछि १० करोड रुपैया प्रतिवद्धता शुल्क अर्थात बैना रकम पठाएको थियो ।
निगमले दोस्रो किस्ता ८ अर्ब रुपैया २०७५ असार १२ गते र अर्को अन्तिम किस्ता ८ अर्ब रुपैया साउन ८ गते पठाएको थियो । २०७४ फागुन ३ गते बनेको बर्तमान सरकारमा यी दुवै मितिमा उहाँ मन्त्रीपदमा विराजमान हुनुहुन्थ्यो ।

 

संसदमा झूटो बोलेमा वा झूटो विवरण पेश गरेमा संसदीय व्यवस्थामा मन्त्रीहरुले राजिनामा गर्नुपर्ने संसदीय अभ्यास रही आएको छ तर नेपालको इतिहासको सबैभन्दा ठूलो आर्थिक घोटालामा झूटो बोल्दा नेपालको संसद मौनता साँधेर बसिरहेको छ ।

जहाज छन, गन्तव्य छैन

नेपाल वायुसेवा निगमको वर्तमान व्यवस्थापनलाई भएका विमान सञ्चालन गर्न निकै कठिन भएको छ । सन २०१६ मा निगमले दुईवटा वाइड बडी खरिद गर्दा तयार पारिएको आरएफपीमा निगमको बेडामा आउने जहाजहरुले अष्ट्रेलियाको सिड्नी,मेलबर्न र ब्रिसबेन सहित लण्डनको गेटविक र हेथ्रो, जर्मनीको फ्रांकफर्ट, जापानको टोकियो र ओसाका,, कोरियाको सोल, चीनको बेइजिड. संघाई, हंगकंग, र गोञ्जाउ,,भारतको चेन्नाई, मुम्बई र दिल्ली मलेशियाको क्वालालम्पुर, थाइलैण्डको बैंकक, सिंगापुरको सिंगापुर, कतारको दोहा र संयुक्त अरब इमिरेट्सको दुबाईलाई गन्तव्य किटान गरि ती स्थानको एअरपोर्टको अवस्थिति पनि उल्लेख गरेको छ ।

तर जहाज खरिदको प्रक्रिया आरम्भ भएको दुर्ई बर्ष वितिसक्दा पनि निगमले आफ्ना परम्परागत रुटमा समेत जहाज सञ्चालन गर्ने अनुमति लिन सकेन । निगममा बोइड. ७५७ ले नै पहिले जापानको ओशाका,बेलायतको लण्डनको गेटविक र हेथ्रो, जर्मनीको फ्रांकफर्ट,फ्रान्सको पेरिससम्मको सेवा दिएका थिए । निगमले कोरियाको सोल तथा जापानको टोकियो र ओशाकामा उडान आरम्भ गर्न गरेको प्रयास ती मुलुकहरुले नेपालको एअरलाइन्स यूरोपेली संघको कालोसूचिमा रहेकोले दिन नसकिने बताएपछि अन्योलग्रस्त बन्यो भने चीनको ग्वान्जाओमा समेत सेवा सञ्चालन गर्न सकेन ।

अष्ट्रेलियाको सिड्नी, मेलबर्न,ब्रिसेवेन उडान गर्ने हौवा पिटाएर सरकारी जमानीमा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट १२÷१२ अर्ब रुपैया ऋण काढेर ल्याएइएको जहाजमा निगम व्यवस्थापनले कति फट्याई गरेको रहेछ भने जहाजको खरिदका लागि प्रस्ताव पेश गर्दा हाल चयन भएको एएआर भन्ने कम्पनीले अष्ट्रेलियाका सबै शहरहरुमा उडानका लागि २४२ मेट्रिक टनको जहाज दिने प्रस्ताव गरेको थियो । प्रस्ताव मूल्यांकन समितिले पनि अष्ट्रेलियासम्म जानसक्ने २४२ मेट्रिक टन क्षमताका जहाजलाई नै सिफारीस गर्यो ।

तर जहाज आपूर्तिको समझदारी गर्न वार्ताको टेवलमा बस्ने टीमका सामु निगमको व्यवस्थापनको साथ पाएको एएआरका प्रतिनिधि दीपक शर्माले अनौठो पत्र देखाए जसमा अष्ट्रेलियाबाहेकका क्षेत्रमा उडान गर्न निगमलाई २३० मेट्रिक टनका जहाज भएपुग्ने ब्यहोरा उल्लेख थियो । अष्ट्रेलिया उडाउने नाममा जहाज खरिद गर्ने तर तौल घटाएर सो बापतको रकम खान पाइने भएपछि प्रति जहाज १२ मेट्रिक टन अधिकतम् उडानभार घटाएर रु ९१ करोड रकम खाइएको थियो ।

आरएफपीमा उल्लेखि अष्ट्रेलियाका गन्तव्यहरु निगम व्यवस्थापनको ९१ करोड रुपैया भ्रष्टाचार गर्ने नियत, जापान र कोरियाका साथै यूरोपका लण्डन,पेरिस,फ्रयाड.कफर्ट र साउदी अरेबियाको रियाद पनि यूरोपेली संघको कालोसूचीमा परेको कारणले जहाज उडाउन नसकेपछि निगमले २४ अर्ब ऋण खोजेर ल्याएका जहाजहरु निगमको लागि सेतो हात्ती भएका छन् ।

साना जहाजको उडान काटेर वाइड बडी उडाउदै

नयाँ गन्तव्य विकास गर्न असफल निगम व्यवस्थापनले पहिले साँघुरा आकारका एअरबस ३२० का १५८ सीटे र बोइड. ७५७ का १९० सीटयुक्त जहाजले सेवा दिइरहेका गन्तव्यमा २ सय ७४ सीट युक्त ठूला जहाज चलाउन बाध्य भएको छ । ठूला जहाजलाई सञ्चालन गर्नका लागि व्यवस्थापनले साघुरा आकारका जहाजहरुलाई जबरजस्ती भूमिस्थ गराउन थालेको छ ।

निगमले वाइड बडीलाई दिल्ली,बैंकक,दोहा र बैड.लोरका उडान दिन थालेको छ । तीनवटा साघुरा जहाजका मिल्नेसम्मका उडान काटेर एक वाइड बडीलाई विजनेश दिदा पनि अन्नपूर्णको अधिकतमा उडान घण्टा ९ घण्टा ४० मिनेट भन्दा बढ्न सकेको छैन् ।

अब यिनै क्षेत्रको उडान कुरेर एअरपोर्टमा थन्किरहेको मकालु नामको दोस्रो वाइड बडी पनि उडाउनु पर्नेछ । यो जहाज उडाउदा अन्य जहाजको उडान घण्टा घट्ने निश्चित देखिन्छ । अगष्टको अन्तिम साता एएलजेड कल साइनको मकालु जम्मा १० घण्टा उडेको थियो । यी वाइड बडीका विमानहरु लामो गन्तव्यमा दैनिक १२ देखि १३ घण्टासम्म ननस्टप उडन सक्छन् । दैनिक १२ देखि १३ घण्टा उडेपछि अवतरणमा विश्राम लिने यी बिमानहरु १ घण्टा ४५ मिनेटको उडान दूरी भएका दिल्लीजस्ता गन्तव्यमा उडाउदा जहाजका पार्टपूर्जा चाडो फेर्नुपर्ने हुन्छ ।

जहाजका अतिसंवेदनशील पार्टपूर्जाहरुको जीवनलाई उडान घण्टा र उडान साइकलका आधारमा अनिवार्य फेर्नुपर्दछ । जहाज एकपटक उडेर विश्राम लिएपछि एक साइकल गणना हुन्छ । निरन्तर लामो दूरीमा उडान गर्दा १२ देखि १३ घण्टाको जीवन हुने पार्टपूर्जा डेढघण्टाको उडान समय हुने दिल्लीको उडानमा उपयोग हुँदा भविष्यमा थेग्नै नसक्ने गरि मर्मतसंभार खर्च आउने अवस्था हुन्छ ।

अझ चाख लाग्दो कुरा त के छ भने निगमको आफ्नो बेडामा आएका यी दुवै वाइड बडीलाई मासिक उडान सूचीमा अझै राखिएको छैन । न त साप्ताहिक सूचिमा नै समावेश गरिएको छ । साँघुरा आकारका जहाजको उडान तालिकामा तिनलाई भूमिस्थ गराउदै बीचबीचमा यी विमानलाई घुसाएर उडाउने गरिएको छ ।

निगमले २१ मार्चदेखि २७ अक्टोबरसम्मको इन्टरनेशनल समर सेड्यूलमा बोइड.को उडान समय दैनिक ७ घण्टा, एअरबस ३२० एकेडब्ल्यूको दैनिक १२ घण्टा र एअर बस ३२० एककेएक्सको दैनिक १३ घण्टा उडान तालिका बनाएको छ । अक्टोबर महिना सम्मको लागि यिनै साना जहाजको उडान तालिकामा बीचमा घुसाएर दुईवटा वाइड बडीलाई सञ्चालन गर्र्नुपर्ने कन्त विजोगको अवस्था निगम व्यवस्थापनले सिर्जना गरेको छ ।

यस्तो घुसपैठको सबैभन्दा ठूलो शिकार जहाजको खरिदमा घुस दिन नमान्ने अमेरिकी कम्पनी बोइड.बाट किनिएको बोइड. ७५७ नाइन एन एसीबी कल साइनको गण्डकी जहाज बनेको छ । यो जहाज पनि अगष्टको अन्तिम हप्ता जम्मा १० घण्टा उडेको छ ।

यसरी जहाज बीचमा घुसाउदा कहिले काही उडानमा समस्या पर्दछ । दिल्लीमा परेको समस्या त्यही थियो । एअरपोर्टमा अवतरण गरि उडानभर्ने जहाजहरुको सम्बन्धित एअरपोर्टका इञ्जिनियरहरुले उडानका लागि योग्य भएको प्रमाणित गरिदिनुपर्दछ । निगमले अधिल्लोदिन पठाएको उडान सूचीमा दिल्लीको निर्धारित तालिकामा बोइड. ७५७ जाने कुरा उल्लेख थियो । तर बाइड बडीलाई बिजनेस दिन उता जानकारी नगराई बाइडबडी पठाइयो । एअरबस ३३०का उडान इञ्जिनियर ड्यूटीमा नरहेकोले सो उडानको एप्रुभ गर्ने इञ्जिनियर भएन र उडान लामोसमय दिल्लीमा थन्कियो ।

एअरलाइन्सहरुले समर र विण्टर सेड्यूल प्रकाशित गर्दछन् । आवश्यकता अनुसार तीन महिने, महिने, साप्ताहिक तथा दैनिक उडान तालिका पनि प्रकाशित गर्ने चलन छ । दैनिक उडान तालिका प्रकाशित गर्दा अघिल्लो दिन गन्तव्यमा जानकारी पुग्नुपर्दछ ।

निगमले अहिले एअरबसको साँघुरो आकारको ३२० मध्ये कलसाइन नाईन एन एकेडब्ल्यु भएको लुम्बिनीलाई अरुको तुलनामा बढी विजनेस दिएको छ । यसले दैनिक १४ घण्टा ३५ मिनेटसम्मको व्यापार पाएको छ । अर्को एअरबसको ३२० सेरिजको कल साइन नाइन एन एकेएक्स भएको सगरमाथाको इञ्जिनमा समस्या आइरहेकोले यसलाई कम बिजनेस दिइएको छ ।

नियमित मर्मत संभार भएका जहाजहरु लोड र अफलोडको समय बाहेक लगमातार दिन र रातभरी उडान मिल्छ । विगतमा निगका बोइड.हरुले रात रातभर उडाएर अहिलेका गन्तव्यहरु धानेका थिए । साना जहाज दैनिक १६ घण्टासम्म र ठूला जहाज लोड र अफ लोड बाहेक निरन्तर उडाउन सकिन्छ । अनिमात्र विमान कम्पनी नाफामा जान सक्छन् ।

अपरेसनको गडबडी निगमलाई महंगो


निगम व्यवस्थापनको लथालिंगे चाला अपरेशन विभागमा पनि देखिएको छ । विगतमा निगममा आवश्यक जनशक्तिको पदपूर्ति जनसंशाधन विभाग हुने गर्दथ्यो तर अहिले पाइलटहरुको पदपूर्तिको काम सीघै अपरेसन्स विभागले गर्ने गरेको छ । जहाज कम्पनीका लागि अपरेसन विभाग अन्यन्त महत्वपूर्ण विभाग हो तर निगम व्यवस्थापनले भने यसलाई पाइलट तथा कोपाइलटको भर्ना,पदोन्नति,गन्तव्यका होटल र इन्धन खर्चको खेलोमेलोमा मात्र सीमित गर्न खोजेको छ ।

अपरेसन विभागले आफ्ना विमानहरुमा योग्य पाइलट जुटाउन सकेको छैन् । भैरहेका पाइलटको पनि सुव्यवस्थापन गर्न सकेको छैन् । निगममा सञ्चालनमा रहेको बोइड. उडाउने पाइलटहरुलाई निकै उपेक्षित गरिएको छ । कतिपयको सिमुलेटर टेनिड.नै रोकिएको छ । अहिले यस्तै चेपुवामा पर्नुभएको छ,क्याप्टेन सन्तोष शर्मा । उहाँलाई एअरबस ३२०को सिमुलेटर ट्रेनिड. दिने लोभ देखाइयो र नियमित उडाउदै आएको बोइड.को सिमुलेटर तालिममा पठाइएन । तर एअरबस ३२० पनि पठाइएन । पाइलटहरुले ८ महिनाभित्र यस्तो सिमुलेटर तालिम नगरेमा उडान नियमित गर्न पाउदैनन् । उहाँको बोइड.को छुट्यो, एअरबसमा जना पाउनुभएन । उहाँले जहाज उडाउन नपाउने भएपछि निगमले अहिले न्यूजिल्याण्डबाट एक विदेशी पाइलट ल्याएको छ ।

यस्तै समस्या केही समय पहिले क्याप्टेन एलबी थकालीलाई पनि परेको थियो । यस्तो आश्वासन दिदा दिदा ८ महिना कट्यो र उहाँ पनि २ महिना जहाज नउडाईकन तलब खाएर बस्नुभयो ।

अन्तराष्ट्रिय उडान सुव्यवस्थित ढंगले चलाउन एक जहाजको लागि ७ सेट पाइलट र कोपाइलट आवश्यक पर्दछ । निगममा पाइलटको अभाव छ । निगमको दुईवटा वाइड बडीका लागि तीन जना विदेशी सहित क्याप्टेन श्रवण रिजाल र क्याप्टेन महेश्वर डंगोलमात्र हुनुहुन्छ । पाइलटको अभावले पनि दुईवटा वाइडबडी चलाउन निगम व्यवस्थापन नसक्ने अवस्थामा छ ।

अनुभवी पाइलटहरुले निगमको अपरेसन्स विभाग पनि पूर्वाग्रही भएको आरोप लगाएका छन् । भर्खर सौर्य एअरबाट निगममा छिर्नुभएकी क्या.भावना पन्त गिरीलाई एअरबस ३२० को क्याप्टेनको तालिममा पठाइएको छ । झण्डै ८ देखि १० बर्ष उडान अभ्यास नगर्नुभएकी क्याप्टेन पन्त सौर्य एअरमा आएको बर्षदिन पनि पुगेको थिएन । त्यस्तै निगमलाई पूर्व जानकारी नै नदिईकन अमेरिका भासिनुभएका क्या. सुदीप रिजाललाई पनि निगमको नियमावली अनुसार जरिवाना तिराएरमात्र काममा लगाउनुपर्नेमा सीधै भर्ना गरि ३२० को तालिममा पठाइएको छ । भारतको ब्लु डार्ट एअरलाईन्सबाटबाट आउनुभएका शुभराज श्रेष्ठ र विशाल देवानलाई पनि ३२० को तालिममा पठाइयो । उहाँहरु मध्ये एकलाई ७५७ मा राखेको भए विदेशी पाइलट डलर तिरेर पाल्नुपर्ने थिएन ।


पाइलटहरुको भद्रगोले भर्ना,पदस्थापना र कार्य विभाजन पनि निगमलाई महंगो परेको बताइन्छ । निगमको सगरमाथा जहाजको इन्जिनमा आएको समस्यालाई पनि कतिपयले अनाडी पाइलटहरुको गल्तीको रुपमा लिएका छन् । बर्षभरिको घामपानीमा उडान र अवतरण गरेको पाइलटले लिने निर्णय फाष्ट ट्रयाकबाट क्याप्टेन बनेकाहरुसंग नहुने अनुभवी पाइलटहरु बताउछन । एक पाइलट भन्दछन, अमेरिकाको आइएई कम्पनीले बनाएको इन्जिन यति छिटो छिटो बिग्रनै सक्दैन । कि मर्मतमा कमजोरी छ कि उडान क्याप्टेनहरुमा ।

छानवीनको माग

निगममा पछिल्लो समय सबैभन्दा बढी हुर्केको गलत प्रवृत्ति नै दण्डहिनता भएको बताइन्छ । निगमको सगरमाथा जहाज पाइलटले फोर्स ल्याण्ड गर्दा दिल्लीमा २ महिना भन्दा बढी थन्कियो, मर्मत गरेर ल्याएको ३ महिना नपुग्दै पुन दिल्लीमै विग्रिएर १५ दिनभन्दा बढी थन्कियो । त्यसको तीन महिना नपुग्दै पुन दोहामा विग्रिएर थन्कियो । तर निगमले यसका बारेमा छानवीन गर्ने रुचि देखाएन । छानवीन गरेको भए ।दोषी पत्ता लाग्थ्यो र गल्ती दोहोरिन्थेन । तर जति गल्ती गरेपनि कारबाही नहुनेभएपछि गल्ती गर्नेहरुको मनोबल बढेको छ ।

विगतमा यस्ता विषयमा संसदमा कुरा उठेर छानवीन समिति गठन भएपनि अहिले भने मागसम्म हुन सकेको छैन् । ६ अर्ब ५९ करोडको घोटाला त ठाडो खाएर तेस्रो पचाउने दुस्साहस गर्ने निगमको व्यस्थापन, सञ्चालक समितिका अध्यक्ष पर्यटन सचिव र पर्यटन मन्त्रीको गठबन्धन कायम रहिञ्जेलसम्म निगम कति डुब्ने हो थाहा छैन ।

निगमको वाइड बडीको अकुपेन्सी बढाउन अहिले निगमले बम्पर छुटमा टिकट बेचेको छ, एक पाइलट भन्दछन, यो दरमा सञ्चालन खर्च पनि उठदैन,पहिल्यै दैनिक १ करोड सञ्चालन घाटा ब्यहोरिरहेको निगमलाई दुई नयाँ बाइडबडी थपिएपछि दैनिक २ करोडभन्दा बढी नोक्सान पुगेको छ । तर हेर्ने कस्ले ?

Share Now

Leave a comment.