धरान (सुनसरी), २५ माघः चर्च ब्वाइज युनाइटेड काठमाडौँ २६औँ अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
यहाँको धरानस्थित रङ्गशालामा आज सम्पन्न खेलमा नेपाल पुलिस क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो । चर्च ब्वाइजका खेलाडी रिचार्ड विल्सनले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि अन्तिम समयसम्म दुवै टोलीले गोल गर्न नसकेपछि सोही गोल नै निर्णायक बन्यो ।
आजको खेलमा चर्च ब्वाइजका खेलाडी रिचार्ड विल्सन ‘म्यान अफ द म्याच’ घोषित हुनुभयो । उहाँलाई नगद रु १० हजार पुरस्कार प्रदान गरिएको अध्यक्ष प्रताप तामाङले बताउनुभयो ।
सोमबार आयोजक धरान फुटबल क्बल र लालीगुराँस एफसी पोखराबीच प्रतिस्पर्धा हुने जनाइएको छ । यही माघ २२ गतेदेखि सुरु भएको प्रतियोगिता आगामी फागुन २ गतेसम्म सञ्चालन हुनेछ ।
प्रतियोगितामा विजेताले नगद रु १० लाख र उपविजेताले रु पाँच लाख पुरस्कार प्राप्त गर्नेछन् । साथै प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई एक थान स्कुटर प्रदान गरिने आयोजकले जनाएको छ ।
यसैगरी प्रत्येक खेलको ‘म्यान अफ द म्याच’लाई रु १० हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर तथा उत्कृष्ट प्रशिक्षकलाई जनही रु २५÷२५ हजार र सर्वाधिक गोलकर्तालाई रु ३५ हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
झापा गोल्डकपः त्रिभुवन आर्मी क्वार्टरफाइनलमा
सुरुङ्गा (झापा) २५ माघः एक्स्ट्रिम सातौँ झापा गोल्डकप विनोद बस्नेत स्मृति संस्करणअन्तर्गत आज सम्पन्न खेलमा जित निकाल्दै त्रिभुवन आर्मी फुटबल क्लब क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
बिर्तामोड–३ स्थित डोमालाल राजवंशी रङ्गशालामा भएको खेलमा आर्मीले चर्च ब्वाइज युनाइटेडलाई ३–० गोलअन्तरले पराजित ग¥यो । पहिलो हाफमै दुई गोल गर्दै आर्मीले खेलमा स्पष्ट अग्रता बनाएको थियो । आर्मीका लागि पहिलो गोल दिनेश योञ्जनको पासमा नवीन लामाले गरे । त्यसपछि मध्यान्तरअगावै नवयुग श्रेष्ठले अर्को गोल थप्दै टोलीलाई २–० को अग्रता दिलाए । दोस्रो हाफको अन्त्यतिर ‘फ्रिकिक’मार्फत जर्ज प्रिन्स कार्कीले तेस्रो गोल गरेपछि आर्मीको जित सुनिश्चित भयो ।
प्रतियोगिताको विजेताले रु १५ लाख तथा उपविजेताले रु सात लाख ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई यामाहा कम्पनीको एक थान मोटरसाइकल प्रदान गरिने आयोजकले जनाएको छ । विधागततर्फ उत्कृष्ट प्रशिक्षक, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई जनही रु ३५ हजार पुरस्कार प्रदान गरिनेछ ।
प्रतियोगितामा विभागीय क्लब त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लबसहित मछिन्द्र फुटबल क्लब, लालिगुराँस एसोसिएसन पोखरा, चर्च ब्वाइज युनाइटेड र आयोजक झापा–११ सहभागी छन् । यस्तै, भारतको सिङलिङ स्पोर्टिङ क्लब, भुटानको रोयल थिम्पु कलेज र मलेसियाको एन पेनाङ एफसीले पनि सहभागिता जनाएका छन् ।
प्रतियोगिताअन्तर्गत मङ्गलबार आयोजक झापा–११ र भारतको सिक्किमस्थित सिङलिङ स्पोर्टिङ क्लबबीच खेल हुने आयोजक समितिले जनाएको छ ।
—
—


















