अहमदाबाद(गुजरात,भारत), २८ माघ । आईसीसी टी २० विश्वकप अन्तरगत आज सम्पन्न १३ औं खेलमा अफगानिस्तानलाई दोस्रो सुपर ओभरमा पराजित गर्दै दक्षिण अफ्रिकाले रोमाञ्चक जित दर्ता गरेको छ।
गुजरातको राजधानी अहमदाबादमा भएको खेलमा निर्धारित २० ओभरमा खेल बराबरी भएपछि खेल पहिलो सुपरओभरमा पुगेको थियो। पहिलो सुपर ओभर पनि बराबरी भएपछि खेल दोस्रो सुपर ओभरमा पुग्यो।
दोस्रो सुपर ओभरमा दक्षिण अफ्रिकाले २३ रन बनायो। अफगानिस्तनले १९ रन मात्र बनाउन सक्यो।
यो जितसँगै समुह डी मा रहेको दक्षिण अफ्रिका ४ अंकसहित अंकतालिकाको दोस्रो स्थानमा छ।
समूहमा २ खेल जितेको न्युजिल्यान्ड समान अंकसहित अंकतालिकाको शीर्ष स्थानमा छ। रनरेटमा दक्षिण अफ्रिका दोस्रो स्थानमा पुगेको हो।
अफगानिस्तानले लगातार २ खेलमा हार व्यहोरेको छ। अफगानिस्तान पहिलो खेलमा न्युजिल्यान्डसँग पराजित भएको थियो। पहिलो खेलमा हार भोगेका युएई र क्यानडा अंकविहिन रुपमा चौथो र पाचौँ स्थानमा छन्।
पहिलो सुपर ओभरमा दक्षिण अफ्रिकाले पहिलो बलमा १ रन लियो। दोस्रो बलमा छक्का प्रहार गर्दा तेस्रो बलमा विकेट गुमायो। चौथो बलमा चौका, पाचौँ बल डट राख्दा अन्तिम बलमा छक्का प्रहार गर्दै १७ रन बनाउँदै खेललाई दोस्रो सुपरमा पुर्याएको थियो।
सुपर ओभरमा अफगानिस्तानले १७ रन बनाएको थियो। अफगानिस्तानले पहिलो बलमा चौका, दोस्रो बलमा छक्का, तेस्रो र चौथो बलमा समान एक रन तथा पाचौँ बलमा चौका र अन्तिम बलमा १ रन लिदै १७ रन बनायो। अजमतुल्लाह ओमारजाइले ५ बलमा १६ रन प्रहार गरे। रहमुल्लाह गुरवाजले १ रन बनाए।
त्यसअघि १ सय ८८ रनको लक्ष्य पछ्याएको अफगानिस्ताले १९.४ ओभरमा १० विकेटको क्षतिमा १ सय ८७ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो।
अफगानिस्तानका लागि ओपनर रहमुल्लाह गुर्वाजले सर्वाधिक ८४ रन बनाए। ४२ बलमा ४ चौका र ७ छक्का प्रहार गरेका गुल्वाज केशव महाराजको बलमा क्याच आउट हुन पुगे।
अर्का ओपनर इब्राहिम जड्रान १२ रन बनाउँदा लुंगी एनगिडिको बलमा बोल्ड आउट भए। गुल्बदिन नइव शुन्य रनमा नै एनगिडीको बलमा कट एण्ड बोल्ड भए। नुर अहमदअजमुतुल्लाह ओमारजाइले २२ र कप्तान रासिद खानले २० रन थपे। सिद्दीकी अताल शुन्य रनमा नै पेभेलियन फर्के। डर्विस रसोली १५ रनमा रनआउट भए।
लुंगी एनगिडिले ३ विकेट लिए। मार्को जानसेन, कागिसो रवडा, जर्ज लिन्डे, केशव महाजनले समान १ विकेट लिए।
त्यसअघि अहमावादस्थित नरेन्द्र मोदी स्टेडियममा अफगानिस्तानले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ८७ रन बनाएको थियो।
दक्षिण अफ्रिकाका लागि रायन रिकेल्टोनले सर्वाधिक ६१ रन बनाउँदा रासिद खानको बलमा एलबीडब्लु धरापमा परे। उनले २८ बलमा ५ चौका र ४ छक्का प्रहार गरे।
क्विन्टन डि ककले ४१ बलमा ५ चौका र ३ छक्का सहयोगमा ५९ रन बनाउँदा रासिद खानको बलमा इब्राहिम जड्रानको हातबाट क्याच आउट भए।
डेवालड ब्रिभिसले २३ र डेविट मिलरले २० रन थपे। मार्को जानसेनले १६ न बनाए।
अफगानिस्तानका लागि अज्मतुल्लाह ओमारजाइले ३ विकेट लिए। रासिद खानले २ र फजल्हक फारुकीले १ विकेट आफ्नो नाममा गरे।


















