काठमाडौं, ११ फागुन । पोखराबाट काठमाडौं आउदै गरेको यात्रुवाहक बस घादिड.मा दुर्घटनाग्रस्त हुँदा १७ जनाको मुत्यु भएको छ भने २४ जना घाइते भएका छन् ।
राति करिब साढे १ बजे धादिङ, बेनिघाट रोराङ्ग गाउँ पालिका–५ भैंसिगौडास्थित पृथ्वी लोकमार्गमा पोखराबाट काठमाडौंतर्फ आँउदै गरेको ग १ ख १४२१ नम्बर यात्रुबाहक बस त्रिशूली नदीको किनारमा खसेको थियो ।
बस सडकबाट करिब ३ सय मिटर तल खसेको छ । बसमा दुर्घटनाको बखत कम्तिमा ४६ जना यात्रुहरु रहेको अनुमान छ ।
घटनास्थलमा रहेका सहायक प्रमुख जिल्ला अधिकारी मोहन प्रसाद न्यौपानेले दुर्घटनाको बेला बसमा ४६ जना यात्रुहरु रहेको र उनीहरुको खोज तथा उद्धार कार्य जारी रहेको जानकारी दिनुभएको छ।
घटनास्थलबाट डुंगाको सहायताबाट यात्रुहरु ओसार्दै बगरमा जम्मा गर्ने र त्यहाँबाट एम्बुलेन्समार्फत् अस्पतालतर्फ पठाउने काम भइरहेको छ ।
हालसम्म १३ पुरुष र ४ महिलाको शव संकलन गरिएको सशस्त्र प्रहरी बलका केन्द्रीय प्रवक्ता विष्णुप्रसाद भट्टले जानकारी दिनुभएको छ । मृत्यु भएका १७ जनाको शव घटनास्थलमा नै छ ।
घाइते २४ जनालाइ उद्धार गरेर विभिन्न अस्पताल लगिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभएको छ ।
दुर्घटनास्थलमा सेना, सशस्त्र र नेपाल प्रहरीको टोलीले उद्धार गरिरहेका छन् । घटनास्थलमा प्रमुख जिल्ला अधिकारीसहितको टोली पनि छ ।
सशस्त्र प्रहरी बलको विपद व्यवस्थापन बेस आदमघाटबाट डीएसपी सुनिल गिरी नेतृत्वको टोली र विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोरसहितको टोली खटिएको छ ।
राति भएकाले उद्धारमा कठिनाइ भएको प्रहरीहरूले बताएका छन् ।
घाइते तथा मृतकको सनाखत हुन बाँकी छ । दुर्घटनाको कारण खुलेको छैन ।


















