Prakash Adhikari March 1, 2026
काठमाडौँ, १८ फागुनः फागुपूर्णिमा होलीको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहायप्रसाद यादवले सम्पूर्ण नेपालीहरुमा सुख,शान्ति,समृद्धि र आपसी सद्भावको लागि शुभकामना व्यक्त गर्नुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरूको विशेष पर्व फागुपूर्णिमा (होली)ले समाजमा आपसी सद्भाव कायम राख्न थप प्रेरणा मिलोस् भनी कामना गर्नुभएको छ ।
होली पर्वको सुखद अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा समृद्धिका लागि मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको हो । राष्ट्रपति पौडेलद्वारा जारी सन्देशमा भनिएको छ, “होली पर्वले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवम् कुरीतिलाई निर्मूल गर्दै मौलिक संस्कृतिको संरक्षण र संवद्र्धन गर्न तथा समाजमा आपसी सद्भाव कायम राख्न थप प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।”
असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको, दूराचारमाथि सदाचारको र अधर्ममाथि धर्मको विजय भएको खुसियालीमा मनाइने होली पर्वमा वैरभाव परित्याग गरी प्रेमभाव र आत्मीयताका साथ आफन्तजन एवम् साथीसङ्गीहरूसँग एकापसमा अबिर तथा रङ्ग दलेर सद्भाव प्रकट गर्ने तथा रमाइलो गर्ने परम्परा रहेको राष्ट्रपति पौडेलको भनाइ छ ।
रङ्गहरूको पर्वका रुपमा प्रत्येक वर्ष फागुपूर्णिमा (होली) पर्व देशभर वसन्त ऋतुका अनेक रङ्गहरूलाई प्रतिविम्बित गर्ने पर्वका रुपमा हर्षोल्लासपूर्वक मनाउने गरिन्छ । विभिन्न रङ्गीचङ्गी कपडाले सजिएको चिर ठड्याएपछि प्रारम्भ हुने होली पर्व पूर्णिमाको राति चिर दाह गरेपछि समापन हुन्छ ।
राष्ट्रपति पौडेलले होलीमा खेलिने विविध रङ्गहरू जस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिक रुपमा विविधतापूर्ण रहेको र त्यही विविधताबीचको एकता नै हामी नेपालीको पहिचान र सुन्दरता भएको पनि उल्लेख गर्नुभएको छ ।
होली पर्वले मुलुकलाई समृद्धितर्फ अघि बढ्न प्रेरित गर्छः उपराष्ट्रपति यादव
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले फागुपूर्णिमा (होली) पर्व राष्ट्रिय एकता, सामाजिक सद्भाव र सांस्कृतिक विविधतालाई सम्मान गर्दै मुलुकलाई शान्ति र समृद्धितर्फ अघि बढ्न प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
फागुपूर्णिमा (होली) पर्व, २०८२ को पावन अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको हो ।
उहाँले भन्नुभएको छ, “होली पर्वले हाम्रो राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता र सामाजिक बन्धनलाई अझ सबल बनाओस्, प्रेम, मैत्रीभाव र सहकार्यको वातावरण सृजना गर्दै देशलाई प्रगति र समृद्धिको मार्गमा अघि बढाउने प्रेरणा प्रदान गरोस्, पुनः हार्दिक शुभकामना व्यक्त गर्दछु ।”
रङ्ग र उमङ्गको प्रतीक यो पर्व हिमाल, पहाड र तराई–मधेसमा विभिन्न नामले मनाइए पनि यसको मूल भावनाले आपसी सद्भाव, भाइचारा र मेलमिलापलाई बलियो बनाउने विश्वास व्यक्त गर्दै उहाँले सत्यको विजय र असत्यको पराजयको सन्देश बोकेको होलीले समाजलाई प्रेम, सौहाद्र्र र सहयोगी भावनाले रङ्गीन बनाउने उल्लेख गर्नुभएको छ ।
परम्परागत होरी (फागु) गीत, जोगिरा, डम्फा र ढोलकको तालमा गाइने लोकभाकाका साथै मालपुवा, दालपुरी, खिर जस्ता विशेष परिकारले हाम्रो संस्कृतिलाई जीवन्त राख्दै पुस्तान्तरणमा योगदान पु¥याउने उपराष्ट्रपति यादवको भनाइ छ ।
उहाँले भन्नुभएको छ, “प्राकृतिक र वातावरणमैत्री रङ्ग प्रयोग गर्दै संस्कृतिलाई सुरक्षित राख्नु हाम्रो सामूहिक जिम्मेवारी हो, होलीले परिवार, मित्रता र समुदायबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउँदै पुराना मनमुटावलाई बिर्सेर नयाँ उमङ्ग र ऊर्जासहित सम्बन्धलाई पुनः सुदृढ गर्ने अवसर प्रदान गर्दछ ।”
Share Now