कोलकाता(पश्चिम बंगाल,भारत),१९ फागुन । फिन एलेनको शतकमा न्युजिल्यान्डले बुधबार दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ट्वान्टी–२० विश्वकपको फाइनलमा पुगेको छ ।
एलेनले ३३ बलमै शतक बनाएपछि न्युजिल्यान्डले कोलकाताको इडेन गार्डेनमा १ सय ७० रनको लक्ष्य १३ ओभरभित्र मात्र एक विकेटको क्षतिमा १ सय ७३ रन बनाउँदै पूरा गर्यो ।
आजको खेलमा १३ औं ओभरको पहिलो ५ बलमा एलेनले मार्को यानसेनको लगातार बलमा ३ चौका र २ छक्का प्रहार गर्दै आफ्नो शतक पूरा गरी न्युजिल्यान्डलाई विजय दिलाएका थिए ।
खेलमा एलेन र टिम सेफर्टले पहिलो विकेटमा १ सय १७ रनको साझेदारी गरी न्युजिल्यान्डको विजय आधार तयार पारे । सेफर्टले ३३ बलमा ५८ रन बनाए । उनले ७ चौका र २ छक्का प्रहार गरे । रचिन रवीन्द्र ११ बल खेली २ चौका प्रहार गर्दै १३ रनमा अविजित रहे ।
यस अगाडि पहिले ब्याटिड. गरेको दक्षिण अफ्रिकाले २० ओभरको खेलमा ८ विकेटको क्षतिमा १ सय ६९ रन बनाएको थियो ।
दक्षिण अफ्रिकाका लागि मार्को जनसनले अविजित ५५ रन बनाए भने डेवाल्ड ब्रेभिजले ३४ रन । त्यस्तै त्रिस्टान स्टुबले २९ रन बनाए भने एडेन मार्कमले १८,क्विन्टन डे ककले १०, डेभिड मिलरले ६,कर्विन बोचले २ र केशव महाराजले १ रन जोडे । कागिसो रबडा र र्यान रिकेल्टन खाता नखोली आउट भए ।
दक्षिण अफ्रिकालाई रोक्ने क्रममा न्युजिल्याण्डका म्याट हेनरी,कोलम्याक कोचिन र रचिन रभिन्द्रले २ । २ तथा लक्कि फगुर्सन र जेम्स निसमले १ । १ विकेट लिए ।
पाकिस्तानलाई रन रेटमा उछिनेर ‘सुपर एट’ बाट सेमिफाइनलमा पुगेको न्युजिल्यान्डले आइतबार हुने फाइनलमा भारत र इंग्ल्यान्डबीचको विजेतासँग खेल्ने छ ।
दोस्रो सेमिफाइनल बिहीबार मुम्बईमा हुँदै छ भने फाइनल गुजरातको राजधानी अहमदाबादमा हुनेछ ।


















