काठमाडौं, ३० फागुन । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक चैत्र १ गते आइतबार दिउँसो १ः०० बजे केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपीनगर, ललितपुरमा बस्ने भएको छ ।
उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ।
पार्टीका कार्यबाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठकको प्रमुख एजेण्डा समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्ये दलले प्राप्त गरेको सिट संख्याको आधारमा प्रतिनिधि सभा सदस्य छनौट गरी निर्वाचन आयोगमा पठाउने रहेको छ ।
हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा नेपाली कांग्रेसले प्रत्यक्ष तर्फ १८ सीट जितेको छ भने समानुपातिक तर्फ २० सीट जितेको छ ।
अप्रत्यक्ष भनिने समानुपातिक मतदानमा नेपाली कांग्रेसले देशभरिबाट १७ लाख ५९ हजार १ सय ७२ मत प्राप्त गरेको थियो ।
प्रतिनिधि सभाका समानुपातिक सांसदहरु दलहरुले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीबाट चयन गरिन्छन् । त्यसरी सांसद चयन गर्दा प्राथमिकताको आधारमा क्लष्टर अनुसार छान्नुपर्दछ ।
समानुपातिक निर्वाचन निर्देशिका २०८२ अनुसार दलहरूले बन्दसूचीमा बुझाएका उम्मेदवारहरूमध्येबाट जनसङ्ख्याको अनुपातमा सबै जातजाति, समुदाय र लिङ्गको समावेशी प्रतिनिधित्व हुने गरी निर्वाचित हुने सांसदहरू छान्नुपर्छ।
कानुनले दलित, आदिवासी जनजाति, खस आर्य, मधेशी, थारू र मुस्लिमको जनसङ्ख्या प्रतिशत निर्धारण गरेको छ।
जसअनुसार निम्न अनुपातमा समानुपातिकहरू सांसदहरू चुनिनुपर्छ :
- दलित: १३.४४ प्रतिशत
- आदिवासी जनजाति: २८.७२ प्रतिशत
- खस आर्य: ३०.२८ प्रतिशत
- मधेशी: १६.१५ प्रतिशत
- थारू: ६.५२ प्रतिशत
- मुस्लिम: ४.८९ प्रतिशत
कानुनले राष्ट्रिय सभामा समेत जोडेर दलहरूबाट निर्वाचित हुने सांसदको कुल ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गरिनुपर्ने उल्लेख गरेको छ।
त्यसका अतिरिक्त पिछडिएको क्षेत्रबाट ४ प्रतिशत सांसदहरू समावेश गर्नुपर्ने नियम छ।
समानुपातिक प्रणालीतर्फ निर्वाचित हुने कुल सांसदको १० प्रतिशत वा ११ वटा वा त्यसभन्दा कम सीट जितेको दलका हकमा भने समावेशितासम्बन्धी नियम केही खुकुलो छ।


















