काठमाडौं, २ असोज । नेपालको सबैभन्दा ठुलो र सर्वाधिक लोकप्रिय फुटवल लिग ुसहिद स्मारक ए डिभिजन लिगको टाइटल स्पोन्सरमा हंसराज हुलासचन्द एण्ड कम्पनि अन्तर्गतको पल्सर मोटरसाइकल अनुबन्ध भएको छ।
यही असोज २ गतेका दिन एक कार्यक्रमका बीच उक्त कम्पनीका प्रवन्ध निर्देशक शेखर गोल्छा र अखिल नेपाल फुटवल संघ बाट बजार व्यवस्थापनको जिम्मेवारी पाएको रामसार मिडियाका प्रबन्ध निर्देशक राज हुमागाई बीच उक्त सम्झौतामा हस्ताक्षर भएको हो।
सम्झौता अनुसार पल्सर आगामी तिन बर्ष सम्मका लागि सो लिगमा अनुबन्ध हुने रामसार मिडियाले जनाएको छ।
यसबर्षदेखि शुरु हुन गईरहेको शहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको उपाधि विजेताले नगद ५० लाख प्राप्त गर्ने भएको छ ।

त्यसैगरी लिगको दोस्रो स्थान हासिल गर्ने टोलीले ३५ लाख हात पार्नेछ भने तेस्रो स्थान हासिल गर्ने टोलीले २५ लाख प्राप्त गर्नेछ । त्यस्तै चौथो स्थान हासिल गर्ने टोलीले १५ लाख प्राप्त गर्नेछ भने पाँचौ स्थान हासिल गर्ने टिमले ७ लाख हात पार्नेछ ।
लिगमा व्यक्तिगत विधातर्फका विजेता खेलाडीहरुले जनही एक–एक थान मोटरसाईकल प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगितामा सहभागीता जनाउने क्लबहरुलाई तयारी स्वरुप दिइने रकममा समेत बृद्धि गरिएको छ ।
यसपटक लिगमा सहभागीता जनाउने प्रत्येक क्लबलाई तयारी स्वरुप २० लाख उपलब्ध गराइने एन्फाका महासचिव इन्द्रमान तुलाधरले बताए । यसअघि पाँच बर्ष अगाडीको संस्करणमा क्लबहरुलाई तयारी स्वरुप १०–१० उपलब्ध गराइएको थियो ।
चर्चित नेपाली साईट गोलनेपालका अनुसार लिगका सबै खेलहरु एन्फा कम्प्लेक्स सातदोबाटो र सशस्त्र प्रहरीको हल्चोक स्टेडियममा हुनेछन् । एन्फाले यहि आउँदो असोज १३ गतेदेखि शहिद स्मारक ए डिभिजन लिगको आयोजना गर्दैछ । लिगमा काठमाडौंका कुल १४ टोलीहरुले सहभागिता जनाउँदैछन् ।
एन्फाले शहिद स्मारक ए डिभिजन लिगको ट्रफी टुर सोमबार काठमाडौंमा एक कार्यक्रमकाबीच सम्पन्न गरेको छ ।

दशरथ रंगशालामा आयोजित सो कार्यक्रममा चर्चित गायीका इन्दिरा जोशी, नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान बिराज महर्जन, बिक्रम लामा लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा काठमाडौंका विभिन्न विद्यालयका विद्यार्थीहरुको पनि सहभागिता रहेको थियो ।


















