क्वालालम्पुर(मलेसिया), २३ जेठ । मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको समूह चरणको अन्तिम खेलमा आज नेपालले हङकङसँग खेल्दै छ। खेल बिहान ११ः४५ बजे सुरु हुने छ।
ग्रुप ‘डी’ मा रहेका नेपाल र हङकङ दुवै क्वाटर फाइनलमा प्रवेश गरिसकेका छन्। आजको खेलको नतिजाले समूह विजेता र उपविजेताको टुंगो लाग्ने छ।
यसअघि पहिलो खेलमा नेपालले कतारलाई ८ विकेटले र दोस्रो खेलमा भुटानलाई ५१ रनले हराएको थियो। हङकङले पनि कतारलाई ८३ रनले र भुटानलाई १४ रनले हराएको थियो। कतार र भुटान समूह चरणबाट बाहिरिसकेका छन्।
नेपालले पछिल्लो खेलमा तुलनात्मक रूपमा सहज प्रतिद्वन्द्वी भुटानसँग ५१ रनले पराजित हुँदा ब्याटिङमा निकै संघर्ष गर्नुपरेको थियो।
जारी प्रतियोगितामा कुल १८ राष्ट्रको सहभागिता छ। ग्रुप ‘ए’ र ‘बी’ मा समान ५ तथा ‘सी’ र ‘डी’ मा समान ४ टोली रहेका छन्। ग्रुप ‘सी’ बाट इन्डोनेसिया र मलेसिया तथा ग्रुप ‘डी” बाट नेपाल र हङकङ क्वाटर फाइनलमा पुगिसकेका छन्।
प्रिमियर कपका शीर्ष टोली नै महिला टि २० एसियाका लागि छनोट हुनेछन्।








