क्वालालम्पुर(मलेसिया), २३ जेठ । मलेसियामा जारी एसीसी महिला प्रिमियर कप अन्तरगत आज भएको खेलमा नेपाललाई हंगकंगले ठूलो रन अन्तरले पराजित गरेको छ ।
खेलमा १ सय १० रनको लक्ष्य पछ्याएको नेपाललाई हंगकंगले ४० रनमा नै अलआउट गरेको हो ।
कोलेज टौन्कु जाफर ओभलमा भएको खेलमा कुनै पनि नेपाली ब्याटर मैदानमा टिक्न सकेनन् । नेपालले निर्धारित २० ओभरको खेल १३.३ ओभरमा नै सकायो ।
नेपालका लागि सोनी पाख्रिनले १२ रन जोडिन । रुविना कुमारीले १०, कप्तान इन्दु बर्माले ६, कविता कुमारीले ४, ओपनर संझना खड्काले ३, सीता रानामगर र रिया शर्माले १ । १ रनको योगदान दिए । विन्दु रावल, पूजा महतो, रुवी पोद्दार, संझना उपाध्याय खाता नखोली शून्य रनमा आउट भए ।
नेपाललाई रोक्ने क्रममा हंगकंगका इक्रा सहरले ४, चान का यिड. करी र मरयाम विबीले २। २ , सिउमेइ वाई इलिशन र जोलिन धालिवालले १ । १ विकेट लिए ।
कोलेज टौन्कु जाफर ओभलमा टस जितेर नेपालले पहिलो फिल्डिड. रोजेपछि ब्याटिड.मा उत्रिएको हंगकंगले एसीसी प्रिमियर कपको समूह चरणको अन्तिम खेलमा नेपाललाई १ सय १० रनको लक्ष्य दिएको थियो।
हङकङले २० ओभरको निर्धारित खेलमा ३ विकेट गुमाउँदै १ सय ९ रन बनाएको हो।
उसले १८ रन जोड्दा ओपनर नतासा माइल्स आउट भइन्। उनी ६ रन जोडेर रन आउट भइन्। यसपछि मारिको हिल र यास्मिन डसवानीले दोस्रो विकेटको लागि ३४ रनको साझेदारी गरे।
मारिको २९ रन जोडेर रिया शर्माको बलमा सीता राना मगरद्वारा क्याच आउट भइन्। लगत्तै चान का वीङ ११ रनमा आउट भइन्।
क्रिजमा जमेकी यास्मिन र मारिना लामप्लोगले चौथो विकेटको लागि अविजित ३९ रनको साझेदारी गरे। यास्मिन ४२ बल खेल्दै २ चौका सहुत अविजित ४२ रनमा क्रिजमा रहिन्। मारिनाले अविजित १८ रन बनाइन्।
हंगकंगलाई रोक्ने क्रममा नेपालका रिया शर्मा र रुबिना क्षेत्रीले १।१ विकेट लिए।
ग्रुप ‘डी’ मा रहेका नेपाल र हङकङ दुवै क्वाटर फाइनलमा प्रवेश गरिसकेका छन्।
यसअघि पहिलो खेलमा नेपालले कतारलाई ८ विकेटले र दोस्रो खेलमा भुटानलाई ५१ रनले हराएको थियो। हङकङले पनि कतारलाई ८३ रनले र भुटानलाई १४ रनले हराएको थियो। कतार र भुटान समूह चरणबाट बाहिरिसकेका छन्।
एसीसी प्रिमियर कप प्रतियोगितामा कुल १८ राष्ट्रको सहभागिता रहेको छ। ग्रुप ‘ए’ र ‘बी’ मा समान ५ तथा ‘सी’ र ‘डी’ मा समान ४ टोली रहेका छन्। ग्रुप ‘सी’ बाट इन्डोनेसिया र मलेसिया तथा ग्रुप ‘डी’ बाट नेपाल र हङकङ क्वाटर फाइनलमा पुगिसकेका छन्।
प्रिमियर कपका शीर्ष ४ टोली महिला टी २० एसियाका लागि छनोट हुनेछन्।








