काठमाडौँ, २५ जेठः सम्पादक समाज नेपालले विभिन्न सञ्चारमाध्यममा कार्यरत फोटो पत्रकारका लागि दुईदिने प्राथमिक उपचार तालिम दिएको छ । शिवपुरी गाउँपालिका(७ सुइरचौरस्थित गोविन्द वियोगी पत्रकारिता अध्ययन केन्द्रमा आयोजित तालिममा विभिन्न सञ्चारमाध्यममा कार्यरत १० जना फोटो पत्रकारको सहभागिता थियो ।
शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्द थपलियाले आइतवार तालिमको समापन गर्दै सहभागी फोटो पत्रकारलाई प्राथमिक उपचार सामग्रीसहित प्रमाणपत्र प्रदान गर्नुभयो । तालिममा फोटो पत्रकार किरणराज विष्ट, सरोज शाही, अनुप प्रधान, सुजन गुरूङ, हरिश नगाल, लेखबहादुर श्रेष्ठ, शम्भु दङ्गाल, सुशीलकुमार श्रेष्ठ, घनश्याम श्रेष्ठ र केशव गुरूङको सहभागिता थियो ।
गाउँपालिकाका अध्यक्ष थपलियाले फोटो पत्रकारका निम्ति प्राथमिक उपचार तालिम अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै कामका सिलसिलमा सम्भावित दुर्घटना वा जोखिमबाट हुनसक्ने क्षति कम गर्न तालिम प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।
सम्पादक समाजका उपाध्यक्ष एवं गोरखापत्र दैनिकका प्रधानसम्पादक जुनारबाबु बस्नेतले तालिमले फोटो पत्रकारको जीवनको सुरक्षासँगै पेसालाई समृद्ध बनाउन सहयोग पुग्ने बताउनुभयो । तालिममा नेपाल रेडक्रस सोसाइटी काठमाडौँ जिल्ला शाखाले प्राविधिक सहयोग गरेको थियो ।
तालिमको समापन कार्यक्रममा शिवपुरी गाउँपालिका प्रवक्ता चन्द्र गुरूङ, सम्पादक समाज नेपालका संरक्षक किरण वैद्य, रेडक्रस सोसाइटी काठमाडौँका सभापति श्यामराज डोटेल र नेपाल रेडक्रस सोसाइटी काठमाडौँ शाखा सदस्य नवराज काफ्लेले तालिमको महत्ववारे चर्चा गर्नुभएको थियो ।