Prakash Adhikari June 21, 2026
जेनेभा(स्विजरल्याण्ड),७ आषाढ(एजेन्सी) । अमेरिका र इरानबीच मध्यपूर्वको युद्धको स्थायी अन्त्यका लागि लक्षित वार्ता आइतबार स्विट्जरल्याण्डमा सुरु भएको मध्यस्थकर्ता कतारले पुष्टि गरेको छ ।
वार्ताको सुरुमा अमेरिकी उपराष्ट्रपति जेडी भान्सले अमेरिका र इरानबीच सम्पन्न १४ बुँदे सहमतिको मर्म र राष्ट्रपति ट्रम्पको सन्देश वार्ताकारहरुलाई बुझाउनुभएको थियो ।
कतारको विदेश मन्त्रालयले एक विज्ञप्तिमार्फत् जनाएको छ, “‘लेक लुसर्न समिट’को सुरुवात र उच्च–स्तरीय समितिको पहिलो बैठक अमेरिका, इस्लामिक गणतन्त्र इरान र दुई मध्यस्थकर्ता राष्ट्र, कतार र पाकिस्तानका प्रतिनिधिहरूको सहभागितामा’ सुरु भएको छ।”
इन्धन उत्पादनका लागि सम्पन्न कतारले अगाडि भनेको छ, “कतारले यी बैठकहरूले अमेरिका र इरानबीच भएको ‘समझदारी पत्र’ मा उल्लेखित सबै पक्षहरूलाई सम्बोधन गर्ने व्यापक र स्थायी सम्झौतातर्फ नेतृत्व गर्नेछन्।” उक्त सहमतिको घोषणा गत हप्ताको बिहीबार अमेरिका र इरानबीच हस्ताक्षर भएको समझदारी पत्रमा उल्लेख गरिएको थियो ।
पाकिस्तानी प्रधानमन्त्री र सेना प्रमुख स्विट्जरल्याण्डमा
पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरिफ र सेना प्रमुख फिल्ड मार्शल सैयद असिम मुनीर अमेरिका–इरान समझदारीपत्र (एमओयू) कार्यान्वयनसम्बन्धी उच्चस्तरीय वार्तामा सहभागी हुन आइतबार स्विट्जरल्याण्डको बर्गेनस्टक रिसोर्ट पुग्नुभएको छ ।
पाकिस्तानको सरकारी टेलिभिजनका अनुसार पाकिस्तानी प्रतिनिधिमण्डलले वार्ताका क्रममा अमेरिकी, इरानी तथा कतारी प्रतिनिधिमण्डलसँग छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
प्राविधिक तहको वार्ता छिट्टै सुरु हुने र सोमबारसम्म जारी रहन सक्ने जनाइएको छ । यद्यपि छलफलका लागि कुनै औपचारिक समयसीमा तोकिएको छैन ।
प्रतिवेदनअनुसार समझदारी पत्रको कार्यान्वयनलाई अगाडि बढाउन तथा बाँकी रहेका विषय टुङ्ग्याउन आवश्यकताअनुसार वार्ता जारी रहनेछ ।
उक्त वार्ता अमेरिका र इरानबीच हालै हस्ताक्षर भएको समझदारी ज्ञापनपत्रको कार्यान्वयन प्रक्रियालाई केन्द्रमा राखेर हुन लागेको हो ।
लेबनानमा आक्रमण रोक्न इरानले  जोड दिने
इजरायल र लेबनानको सशस्त्र समूह हिजबुल्लाहबीचको चलिरहेको द्वन्द्व स्विट्जरल्याण्डमा अमेरिकासँग हुने वार्ताको मुख्य छलफलको बिषय हुने इरानले आइतबार जनाएको छ । इरानको रोक्का कोष र देशको तेल बिक्रीजस्ता विषयहरू पनि वार्तामा छलफलका बिषय हुनेछन् ।
“यहुदी प्रशासनले लेबनानमा आफ्नो प्रतिबद्धता उल्लङ्घन गरिरहेको छ, यो विषय आजको वार्ताको मुख्य विषय हुनेछ,” विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले इरानी समाचार संस्था (इर्ना) द्वारा सम्प्रेषित एक भिडियोमा बताउनुभएको छ ।
तेहरानले वाशिङ्गटनसँग फेब्रुअरी २८ मा अमेरिका–इजरायली हमलापछि सुरु भएको र महिनौंदेखि चलेको द्वन्द्व समाप्त गर्न गत बिहीबार अमेरिकासँग एक समझदारीपत्रमा सम्झौता गरेको थियो । सम्झौताअनुसार, लेबनानमा इजरायल–हिजबुल्लाह द्वन्द्व पनि रोकिने सहमति भएको थियो ।
इरानको सेनाले शनिबार लेबनानमा इजरायली हमलाहरू जारी रहेको कारणले उसले फेरि हर्मुज जलडमरू बन्द गरेको घोषणा गरेको छ ।
शनिबार साँझपछि लेबनानमा कुनै नयाँ आक्रमण भएको रिपोर्ट आएको छैन र बघाईले शनिबारदेखि लेबनानमा ‘युद्धविराम’ जारी भएको बताउनुभयो ।
समझदारी पत्रमा उल्लेख भएअनुसार अमेरिका र इरान लेबनानमा इजरायल–हिजबुल्लाह द्वन्द्व पनि रोक्न सहमत भएको तेहरानको दावी छ ।
उहाँले थप्नुभयो, “तेहरानले आफ्नो रोक्का तथा पहुँचयोग्य नभएका कोषहरूको विषयलाई पनि वार्तामा अघि बढाउनेछ ।”
“इरानको रोक्का वा प्रतिबन्धित सम्पत्तिहरू उपलब्ध गराउने विषय, साथै इरानी तेल बिक्रीका लागि आवश्यक अनुमति पत्र (लाइसेन्स) जारी गर्ने सम्बन्धित छलफल पनि छलफलको बिषयमा रहनेछ,” हाल वार्ताको तयारीमा स्विट्जरल्याण्ड रहनुभएका बघाईले बताउनुभयो ।
इरानले आफ्नो रोक्का सम्पत्तिको आधिकारिक तथ्याङ्क खुलासा गरेको छैन, तर मिडिया रिपोर्टहरूले इरानको रोक्का रकम १०० अर्ब डलरभन्दा बढी रहेको अनुमान गरेका छन्, जसमध्ये धेरैजसो सन् १९७९ को इस्लामिक क्रान्तिपछि रोक्का गरिएको थियो । इस्लामिक क्रान्तिले अमेरिका समर्थित तत्कालिन शासक अल रेजा पहलवीलाई सत्ताबाट हटाएको थियो।
बघाईका अनुसार, इरानी प्रतिनिधिमण्डलले पाकिस्तान र कतार मध्यस्थकर्ताको रूपमा रहेको ‘चार पक्षीय बैठक’ मा अमेरिकी प्रतिनिधिमण्डलसँग भेट्नेछ ।
–––
Share Now