Prakash Adhikari June 22, 2026

मायामी(फ्लोरिडा, संयुक्त राज्य अमेरिका), ८ आषाढ । फिफा विश्वकप फुटबल प्रतियोगिता अन्तरगत ग्रुप एचका केपभेर्डे र उरुग्वेबीचको खेल बराबरीमा टुंगिएको छ ।

संयुक्त राज्य अमेरिकाको फ्लोरिडा राज्यको मायामीमा अवस्थित हार्ड रक स्टेडियममा भएको खेलमा केपभर्डेले ऐतिहासिक प्रदर्शन गर्दै उरुग्वेसंग २–२ को रोमाञ्चक बराबरी खेलेको हो।

पहिलो खेलमा स्पेनलाई गोलरहित बराबरीमा रोकेको केप भेर्डेले आज पनि उच्चस्तरको प्रदर्शन गर्‍यो। खेलको २१ औँ मिनेटमा ३४ यार्ड टाढाबाट केभिन पिनाले प्रहार गरेको फ्रि–किक सिधै गोलमा परिणत भएपछि केप भेर्डेले स्तब्ध पार्ने अग्रता लियो।

पहिलो हाफको अन्त्यतिर उरुग्वेले कमब्याक गर्‍यो। ४४औँ मिनेटमा माक्सी अराउजोले हेडमार्फत बराबरी गोल गरे भने पहिलो हाफकै इन्जुरी समयमा आगुस्टिन कानोबियोले गोल गर्दै उरुग्वेलाई २–१ को अग्रता दिलाए। खेलको ६१ औँ मिनेटमा उरुग्वेका डिफेन्डर माथियास ओलिभेराको गल्तीको फाइदा उठाउँदै केप भेर्डेका हेलियो वारेलाले गोल गरी खेललाई २–२ को बराबरीमा ल्याए, जुन खेलको अन्तिम नतिजा बन्यो।

आजको खेलमा उरुग्वेका फर्नान्डो मुस्लेरा र केप भेर्डेका बोजिन्हाले गोलपोस्ट सम्हालेका थिए। विश्वकपको इतिहासमा दुवै टोलीबाट ४० वर्ष नाघेका गोलकिपरहरूले सुरुवाती–११ मा खेलेको यो पहिलो पटक हो।

समूह एचमा भने स्पेन २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ भने उरुग्वे र केप भर्डेको समान २–२ अंक रहेको छ। नकआउट चरणको समीकरणका लागि अब अन्तिम खेल निकै रोमाञ्चक हुने देखिन्छ।

Share Now