Prakash Adhikari July 1, 2026

ड्याल्लास(संयुक्त राज्य अमेरिका), १७ आषाढ ।  फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ को रोमाञ्चक खेलमा नर्वेले आइभोरी कोस्टलाई २–१ ले पराजित गर्दै इतिहास रचेको छ। विश्वकपको नकआउट चरणमा नर्वेको यो पहिलो ऐतिहासिक जित हो।

यो जितसँगै नर्वे प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गरेको छ, जहाँ उसले अब बलियो प्रतिद्वन्द्वी ब्राजिलको सामना गर्नेछ।

 

खेलको ३९औँ मिनेटमा नर्वेका युवा स्टार एन्टोनियो नुसाले उत्कृष्ट एकल प्रयास मार्फत गोल गर्दै नर्वेलाई सुरुवाती १–० को अग्रता दिलाए।

दोस्रो हाफमा आक्रामक बनेको आइभोरी कोस्टका लागि ७४औँ मिनेटमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका अमाद डियालोले उत्कृष्ट गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए। खेल बराबरी तर्फ धकेलिरहेका बेला ८६औँ मिनेटमा नर्वेका स्टार स्ट्राइकर एर्लिङ हालान्डले बक्स भित्रबाट प्रहार गर्दै निर्णायक गोल गरे। यो जारी विश्वकपमा हालान्डको पाँचौँ गोल हो।

२८ वर्षपछि पहिलोपटक विश्वकप खेलिरहेको नर्वेले इतिहासमै पहिलोपटक विश्वकपको नकआउट खेल जित्न सफल भएको हो। नर्वेको यो सानदार यात्रा अब राउन्ड अफ १६ मा ब्राजिलविरुद्धको बहुप्रतीक्षित भिडन्तमा परिणत हुनेछ।

Share Now