न्युयोर्क(संयुक्त राज्य अमेरिका), १७ असार(एजेन्सी) । किलियन एम्बाप्पेको २ गोलको मद्दतमा फ्रान्स स्विडेनलाई ३-० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को अन्तिम १६ मा पुगेको छ।
न्युयोर्क न्यु जर्सी स्टेडियममा भएको अन्तिम ३२ को खेलमा एम्बाप्पेले ४५औँ र ७४औँ मिनेटमा गोल गरे। अर्को गोल ब्राड्ली बारकोलाले ५३औँ मिनेटमा गरे।
यो जितसँगै फ्रान्सले विश्वकपमा लगातार उत्कृष्ट प्रदर्शनलाई कायम राख्दै प्रि क्वाटरफाइनलमा प्रवेश गरेको हो।
अब फ्रान्सले जुलाई ४ मा फिलाडेल्फिया स्टेडियममा पाराग्वेसँग क्वार्टरफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ।
एम्बाप्पेले विश्वकपमा आफ्नो कुल गोल संख्या १८ पुर्याएका छन्। योसँगै उनी विश्वकप इतिहासका दोस्रो सर्वाधिक गोलकर्ता बनेका छन्। उनले जर्मनीका मिरोस्लाभ क्लोजे (१६ गोल) लाई पछि पारेका छन् भने सर्वाधिक गोलकर्ता अर्जेन्टिनाका लियोनेल मेस्सीभन्दा केवल एक गोलले मात्र पछि छन्।
खेलको सुरुआतदेखि नै फ्रान्सले स्विडेनमाथि दबाब बनाएको थियो। पहिलो हाफमै फ्रान्सले १५ पटक गोलको प्रयास गरेको थियो।
एम्बाप्पेको एक गोल अफसाइडका कारण रद्द भएको थियो भने अर्को प्रहार पोस्टमा लागेको थियो। माइकल ओलिसेको आकर्षक ओभरहेड किक पनि बारमा लागेपछि फ्रान्सले सुरुआती गोल गर्न सकेको थिएन।
तर पहिलो हाफको अन्तिम मिनेटमा एम्बाप्पेले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए। छोटो कर्नरबाट आएको बल नियन्त्रण गर्दै उनले पेनाल्टी क्षेत्रभित्रबाट शक्तिशाली प्रहार गरे, जुन सिधै जालीमा पुग्यो।
दोस्रो हाफमा पनि फ्रान्सको दबाब जारी रह्यो। माइकल ओलिसेको उत्कृष्ट पासमा बारकोलाले ५३औँ मिनेटमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए।
स्विडेनका गोलरक्षक याकुब विडेल जेटरस्ट्रोमले जुल्स कुन्डे र ओलिसेका केही उत्कृष्ट प्रहार बचाउँदै थप गोल हुनबाट रोके।
तर ७४औँ मिनेटमा फेरि ओलिसेकै पासमा एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सको ३-० को सहज जित सुनिश्चित गरे। यो विश्वकपमा एम्बाप्पेको यो छैटौँ गोल हो। मेस्सीको पनि ६ गोल छ।
प्लेयर अफ दि म्याच घोषित एम्बाप्पेले विश्वकपको नकआउट चरणमा सर्वाधिक १० गोल गर्ने नयाँ कीर्तिमान बनाएका छन्।








