Prakash Adhikari July 12, 2026

कान्सास सिटी(संयुक्त राज्य अमेरिका), २७ आषाढ । फिफा विश्वकप फुटबल २०२६ अन्तरगत आज भएको दोस्रो क्वार्टर फाइनल खेलमा अर्जेन्टिनाले स्विटजरल्यान्डलाई ३–१ ले पराजित गरेको छ । यो जितसंगै अर्जेन्टिना विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गर्ने चौथो राष्ट्र भएको छ । यस नतिजासँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पनि पूरा भएको छ ।

अब पहिलो सेमिफाइनलमा फ्रान्स र स्पेन भिड्ने छन् भने अर्कोमा अर्जेन्टिनाले इंग्ल्यान्डको सामना गर्नेछ ।

कानसास सिटी स्टेडियममा भएको अन्तिम आठको खेल पेनाल्टी सुटआउटतर्फ अग्रसर भएको बेला अर्जेन्टिनाका अल्भारेजले १ सय १२ औं मिनेटमा गोल गरे र टिम २–१ ले अगाडि रह्यो ।

एटलेटिको म्याड्रिडका अल्भारेजको शक्तिशाली प्रहारले स्विस पोस्टको माथिल्लो भागको सटिक दिशा तय गरेको थियो । अतिरिक्त समयको अन्त्यतिर इज्युरी समयमा अर्जेन्टिनाकै लउटारो मार्टिनेजले तेस्रो गोल गरे र अर्जेन्टिनाको जित सुनिश्चित गरे ।

यसअघि निर्धारित समयको खेल १–१ को बराबरीमा टुंगेको थियो । अर्जेन्टिनाले खेलको दसौं मिनेटमा एलेक्स म्याक एलिस्टरको गोलमा अग्रता लिएको थियो । उनले लियोनल मेसीको कर्नरमा हेड गर्दै बललाई पोस्टमा पुर्याएका थिए ।

खेलमा स्विटजरल्यान्ड ६७ औं मिनेटमा पहिलो गोल गरेर खेललाई बराबरीमा पुर्याउने सफलता पाएको थियो । रिकार्डो रोड्रिग्वेजको सटिक छोटो पासमा डान एडोयले नजिकको दूरीबाट गोल गरेका हुन् । तर भाग्य स्वीजरल्याण्डको साथमा थिएन । खेलको ७२ औं मिनेटमा ब्रेल एमबोलो दोहोरो पहेँलो कार्डमा मैदान छाड्न बाध्य भए । स्विटजरल्यान्ड १० खेलाडीमा सीमित भयो । ‘भीएआर’ को मदतले डाइभ गरेका एमबोलोलाई दोस्रो पहेँलो कार्ड देखाइएको थियो ।

Share Now