Prakash Adhikari July 23, 2026
काठमाडौँ, ७ साउनः बिमा व्यवसाय सञ्चालनका क्रममा अनियमितता गरेको आरोपमा ३९ वर्षीय मृदुला सरिया पक्राउ परेकी छिन् । ट्रष्ट इन्स्योरेन्स ब्रोकर प्रालिको निरीक्षणका क्रममा बिमा ऐन, २०७९ अन्तर्गतको कसुरमा संलग्न रहेको पुष्टि भएपछि केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले निजलाई पक्राउ गरेको हो ।
नेपाल बिमा प्राधिकरणले सोसम्बन्धी कसुरको अनुसन्धान गर्न ब्युरोलाई पत्राचार गरेको थियो । झापाको साविक भद्रपुर गाविस वडा नं ११ बस्ने सरियालाई काठमाडौँ जिल्ला अदालतबाट अनुमति लिइ आज पक्राउ गरिएको ब्युरोका प्रवक्ता अनुपम शम्शेर जबराले जानकारी दिनुभयो ।
निजले बिमासम्बन्धी ऐनको दफा १४० को १ (छ) मा उल्लेखित ‘बीमकको कर्मचारी, पदाधिकारी वा अन्य कसैले बिमालेख जारी गर्दा, बिमा गरिएको सम्पत्ति तथा दायित्वको क्षति मूल्याङ्कन गर्दा, बिमा दाबी भुक्तानी गर्दा वा बिमा व्यवसाय सञ्चालनका क्रममा कुनै अनियमितता गरेमा वा आर्थिक दुरुपयोग गरेमा’ भन्ने कसुर उल्लङ्घन गरेको अनुसन्धानका क्रममा पाइएको छ ।
यसैबीच, बिमा ऐन, २०७९ र धितोपत्रसम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरका फरार प्रतिवादी मृगेन्द्रनाथ रिमाल आज पक्राउ परेका छन् ।  बिमा ऐन, २०७९ अन्तर्गत र धितोपत्रसम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरमा फरार रहेका निजलाई ब्युरोको टोलीले आज काठमाडौँ महानगरपालिका, वडा नं ७ सिफलबाट पक्राउ गरेको हो ।
Share Now