Prakash Adhikari July 23, 2026
काठमाडौँ, ७ साउनः वरिष्ठ राजनीतिज्ञ एवं साहित्यकार प्रदीप नेपालको स्मृतिमा स्थापना गरिएको ‘प्रदीप नेपाल स्मृति पत्रकारिता पुरस्कार’ वरिष्ठ पत्रकार गोपाल गुरागाईंलाई प्रदान गरिएको छ ।
समाजवादी प्रेस सङ्गठन नेपालद्वारा आज आयोजित कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले गुरागाईंलाई उक्त पुरस्कार प्रदान गर्नुभयो । सो पुरस्कारको राशि रु ५० हजार रहेको छ । ‘सुरेश रजक फोटो पत्रकारिता पुरस्कार’ वरिष्ठ फोटो पत्रकार नरेश श्रेष्ठलाई प्रदान गरिएको छ । सो पुरस्कारको राशि रु २५ हजार रहेको छ ।
कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका सहसंयोजक नेपालले नेपालको संविधानको प्रस्तावनामा उल्लेख भएअनुसारको पूर्ण प्रेस स्वतन्त्रतालाई व्यवहारमा उतार्ने वातावरण सिर्जना गर्न सरकारसँग आग्रह गर्नुभयो । उहाँले संविधान, सङ्घीय लोकतान्त्रिक गणतन्त्र र राजनीतिक उपलब्धिको रक्षार्थ परिवर्तनकारी शक्ति एकताबद्ध हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
समाजवादी प्रेस सङ्गठनका अध्यक्ष शम्भु श्रेष्ठले नेपाली पत्रकारिताको विकास र प्रेस स्वतन्त्रताको आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका वरिष्ठ पत्रकारलाई पुरस्कृत गर्न पाउँदा गौरवान्वित भएको बताउनुभयो ।
Share Now