काठमाडौं, ९ साउन । नेपाली कांग्रेसको युवा नेतृत्वलाई फागुन २१ को निर्वाचन परिणाम पछि बिना निर्वाचन अर्को झट्का लागेको छ ।
नेकपा एमालेका अध्यक्ष के.पी. शर्मा ओलीले प्रदेश सरकारको नेतृत्व परिवर्तन गर्ने सम्बन्धमा वार्ता गर्न समय दिनुभएन भनेर प्रदेश सरकारबाट धम्की स्वरुप आफ्ना प्रतिनिधिहरुलाई राजिनामा दिएर वा एमालेका मन्त्रीहरुलाई बर्खास्त गराएर एमालेसंगको सहकार्य तोड्न अग्रसर भएको कांग्रेस अब प्रदेशहरुबाट सत्ताबाहिर पर्ने भएको छ ।
आज नेकपा एमाले र नेकपाबीच पाँच प्रदेशमा सत्तासाझेदारी सहमति भएपछि कांग्रेस प्रदेश सत्ताबाट बाहिरिने अवस्थामा पुगेको हो । नेकपा एमाले र नेकपाबीच कोशी बाग्मती र लुम्बिनीमा एमालेको नेतृत्व र कर्णाली र सुदूरपश्चिममा नेकपाको नेतृत्वमा संयुक्त सरकार बनाउने सहमति भएको छ ।
नेपाली कांग्रेसका नेताहरु एमालेलाई सत्ताबाहिर पारेर नेकपासंग सत्ता साझेदार गर्ने तयारीमा थिए । तर जेन्जी बिद्रोह र फागुन २१ को निर्वाचन परिणाम पछि नेपालका बामपन्थी दलहरुबीचमा कार्यगत एकता र पार्टी एकीकरणको प्रयास भएकोले नेकपा कांग्रेसतिर हैन एमालेतिरै मिल्न तयार भयो । यसरी हुँदा, छँदा र खाँदाको प्रदेश सरकारबाट कांग्रेसले हात धुनुपर्ने अवस्था सिर्जना हुन गयो । यसलाई कच्चा वैद्यको मात्रा यमपुरीको यात्राको रुपमा लिइएको छ ।
कार्यकर्ताहरुको र आफ्नै पनि चित्त बुझाउन नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सत्ताको लागि मरिहत्ते कांग्रेसको हालको नीति नरहेको बताउनुभएको छ । तर यथार्थ त्यस्तो छैन । उहाँहरुले पार्टीको नेतृत्व फेरेमा संसदमा बहुमत सिट नै जित्न सकिन्छ भनेर चुनावको मुखमा पार्टी विभाजित हुने गरी विशेष महाधिवेशन गरेर गगन थापाको सभापतित्वमा नयाँ नेतृत्व चयन गर्नुभएको हो । फागुन २१ को चुनावमा गगन थापालाई भावि प्रधानमन्त्री घोषणा गर्नुभएको हो । सत्ता नचाहिने भएको भए उहाँहरु पार्टी विभाजन गरेर नयाँ नेतृत्व लिएर भावि प्रधानमन्त्री घोषणा गरेर चुनावमा जानु हुन्थेन । उहाँहरुको कर्मले उहाँहरुलाई पार्टीको नेतृत्व अर्थात सत्ता पनि चाहिएको र संघीय सरकारको सत्ताको लोभमा फागुन २१ को चुनाव पनि स्वीकार गरेको देखाउछ । विशेष महाधिवेशन नहुँदै पार्टीको केन्द्रीय समितिको बैठकमा तात्कालीन महामन्त्री गगन थापाले भन्नुभएको थियो, आज बिहान प्रधानमन्त्री सुशीला कार्कीसंग हाम्रो दुईघण्टा वार्ता भयो । अब निर्वाचनको विकल्प छैन् । कांग्रेसले प्रतिनिधिसभा विघटनको विरुद्ध अदालतमा रिटको प्रक्रियामा होइन्, निर्वाचनको तयारी गर्नुपछ । फागुन २१ मा चुनाव हुन्छ । सो बैठकमा प्रधानमन्त्री कार्कीले कांग्रेसका महामन्त्रीद्धयलाई पार्टीको नेतृत्व गगनले गरेर गएमा कांग्रेसको बहुमत आउछ भन्ने गुप्तचरको रिपोर्ट रहेको भनेर आश्वस्त पार्नुभएको त्यति बेला नै चर्चा भएको थियो ।
आज प्रदेश सरकारहरुमा हात धुनुपर्ने अवस्था आएपछि उपसभापति शर्माले एमाले र नेकपाबीच जुटेको सत्ता सहकार्यबारे कुनै नकारात्मक टिप्पणी नरहेको प्रतिक्रिया दिनुभएको छ ।
उहाँले भन्नुभएको छ, “कांग्रेस, एमाले र माओवादी शान्ति प्रक्रिया र संविधान निर्माणका सहयात्री दल हुन् । संविधान संसोधन लगायतका प्रश्नमा हामी ३ दल र अन्य दलहरूबीच पनि सहकार्य जरुरी छ र त्यो स्वभाविक हुन्छ तर प्रदेश सभालाई प्रतिपक्ष विहीन जस्तै बनाएर ७ वटै प्रदेशमा तीन वटै दल मिलेर सरकारमा बस्न सतप्रतिशत गलत हुन्थ्यो ।शतप्रतिशत गल्ती गर्न हामी एक प्रतिशत पनि सहमत भएनौं ।”
उहाँले हिजो शुक्रबार अपरान्ह सभापति गगन थापा, उपसभापति, महामन्त्री, कांग्रेसका चार मुख्यमन्त्री र प्रदेश सभापतिहरुसहित पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठक यो बिषयमा दृढ ढंगले स्पष्ट र एक मतमा रहेको बताउनुभएको छ ।
उहाँले भन्नुभएको छ,” सत्ता, सत्ता र सत्ता जसरी पनि सत्ता ! जे-जस्तै सम्झौता गरेर पनि सत्ता ! हाम्रो राजनीतिमा केही समय यता नराम्रोसँग विकसित गलत प्रवृत्तिका विरुद्ध नेपाली कांग्रेस फरक सन्देशका साथ उभिन पुगेको छ ।”
उहाँले हाल विकसित परिस्थितिका बारेमा विश्लेषण गर्न आइतबार बिहान ९:३० मा पार्टी केन्द्रीय कार्यालयमा प्रदेश सभापतिहरु र मुख्यमन्त्रीहरु सहित बैठक बस्ने र बैठकबाट धारणा प्रस्ट पार्ने बताउनुभएको छ ।








