काठमाडौँ,९ साउन । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को एमबीएस (मास्टर्स अफ बिजनेस स्टडिज)को प्रश्नपत्र परीक्षा सुरु भएको ६ मिनेटमा नै सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भएको घटनामाथि छानबिन गर्न सम्बद्ध निकायहरूले माग गरेका छन् ।
त्रिविले सञ्चालन गरेको एमबीएस प्रथम सेमेष्टरको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सार्वजनिक भएपछि त्रिविको परीक्षा प्रणालीमाथि गम्भीर प्रश्न उठेको हो ।
सरोकारवालाहरूले जतिसक्दो चाँडो छानबिन समिति गठन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् ।
बिहीबार मास्टर अफ विज्नेस स्टडिज विषयको प्रथम सेमेष्टरको परीक्षा १२ बजेदेखि ४ बजेसम्म देशभरका क्याम्पसहरूमा सञ्चालन भएको थियो । तर प्रश्नपत्र बाडेको केहि क्षणमा नै १२ बजेर ६ मिनेटमा प्रश्नपत्र सामाजिक सञ्जालमा देखा पर्यो ।
प्रश्नपत्रहरू प्रायः केहि दिन अगाडि सम्बन्धित परीक्षा केन्द्रमा पठाउने गरिन्छ। जसमा परीक्षा सुरु हुनुभन्दा केही समय अघि केन्द्राध्यक्षको रोहवरमा प्रश्नपत्रको शिलबन्दी खोलिन्छ । त्यही क्रममा प्रश्नपत्र विद्यार्थीहरूलाई वितरण गरिन्छ । तर, वितरण भएको प्रश्नपत्र परीक्षा सुरु भएको ६ मिनेटमै सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भेटियो ।
विभिन्न ह्वाट्सएपग्रुपबाट प्रश्नपत्र लिक भएको प्रमाण सार्वजनिक भएको छ। एमबीएस प्रथम सेमेष्टरको प्रश्नपत्र केही कलेजबाट लिक भएको आशंका गरिएको छ।
यसैबिच त्रिवि स्वतन्त्र विद्यार्थी युनियनले व्यवस्थापन संकायको ध्यानाकर्षण गराएको छ। त्रिवि स्ववियु सभापति दिपकराज जोशीले एमबीएस प्रथम सेमेस्टरको परीक्षा सुरु भएको केही मिनेटमै प्रश्नपत्र सामाजिक सञ्जालमा सार्वजनिक भएको विषय अत्यन्तै गम्भीर र संवेदनशील भएको बताउनुभयो ।
त्रिवि स्ववियु सभापति जोशीले परीक्षा सञ्चालन भइरहेकै बेला प्रश्नपत्र बाहिरिएको घटनाले परीक्षा प्रणालीको गोपनीयता, निष्पक्षता र विश्वसनीयतामाथि गम्भीर प्रश्न खडा गरेको बताउनुभयो ।
उहाँले विद्यार्थीको मेहनत, विश्वास र विश्वविद्यालयको प्रतिष्ठामाथि आँच आउने कुनै पनि गतिविधि स्वीकार्य नहुने बताउँदै परीक्षाको निष्पक्षता र विश्वविद्यालयको गरिमामाथि कुनै सम्झौता नहुने बताउनुभयो । उहाँले दुई दिनभित्र घटनाबारे निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न, प्रश्नपत्र कसरी बाहिरियो, कसको संलग्नता थियो भन्ने विषयमा स्पष्ट जवाफ दिन तथा दोषी जोसुकै भए पनि कानुनबमोजिम कडा कारबाही गर्न नसके व्यवस्थापन सङ्काय डिनले र परीक्षा हेर्ने सहायक डिनले नैतिक जिम्मेवारी महसुस गरी राजीनामा दिनुपर्ने बताउनुभयो ।
स्ववियुले त्रिवि केन्द्रीय कार्यालयले यथाशीघ्र घटनाको छानबिन गर्न माग गरेको छ ।
त्रिवि व्यवस्थापन सङ्कायका डिन महानन्द चालिसेले यस घटनामाथि छानबिन गरिने बताउनुभयो। चालिसेले भन्नुभयो, ‘यो घटना परीक्षा भइसकेपछि देखिन्छ। प्रश्नपत्र लिक भएको होइन। हलमा प्रश्नपत्र वितरण हुन्छ। मोबाइल कुनै विद्यार्थीले लग्यो । ह्वाट्सएपमार्फत् प्रश्नपत्र बाहिर पठायो। दुई बजेतिर ह्वाट्सएप ग्रुपमा आएको देखिन्छ । प्रश्नपत्र लिक भएको होइन। यसका लागि छानबिन समिति गठन गर्न योजनामा छौँ । कुन परीक्षा केन्द्रमा घटेको हो अझै पत्ता लागेको छैन।’
उहाँले परीक्षा समितिको बैठक छिट्टै बोलाइने जानकारी दिनुभएको छ।








