काठमाडौं, १३ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकार कहाँ छ र के गर्दैछ भनेर प्रश्न राख्नुभएको छ ।
सुनसरीको कप्तानगञ्जमा प्रहरीको गोलीबाट भएको नागरिकको निधन र त्यसले पूर्वी तराईमा फैलन गएको अशान्तिका बारेमा राष्ट्रिय स्वतन्त्र पार्टीले आयोजना गरेको सर्वदलीय बैठकमा बोल्दै सभापति थापाले सरकारको खोजी गर्नुभएको हो ।
सत्तारुढ पार्टीका सभापति रवि लामिछानेले आयोजना गर्नुभएको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह र देशको शान्ति र सुरक्षासंग सम्बन्धित संघीय मन्त्री उपस्थित नभए पछि कांग्रेस सभापतिले सरकारको खोजी गर्नुभएको हो ।
उहाँले सुनसरीमा भइरहेको घटनाका सन्दर्भमा प्रमुख राजनीतिक दलहरू एक ठाउँमा बसेर साझा दृष्टिकोण निर्माण गरौँ भन्दै सर्वदलीय बैठक आह्वान गरेकोमा राष्ट्रिय स्वतन्त्र पार्टीप्रति आभार व्यक्त गर्दै पार्टी सभापति रवि लामिछानेलाई धन्यवाद पनि दिनुभयो ।
उहाँले बैठकपछि सञ्चारकर्मीहरुसंग भन्नुभयो, “..यो अवस्थामा नेपाली कांग्रेसका तर्फबाट हामीले निर्वाह गरिरहेको भूमिकाबारे पनि बैठकमा जानकारी गरायौँ। धार्मिक सहिष्णुता र सामाजिक सद्भाव नेपाली समाजको अन्तर्निहित शक्ति हो। यो कसैले वरदानका रूपमा दिएको होइन, वर्षौंदेखि नेपालका नागरिक र समुदायले साझा प्रयत्नबाट आर्जन गरेको पुँजी हो। हामीले यो पुँजी जोगाइराख्नुपर्छ।”
उहाँले धार्मिक विषयमा भएको अशान्ति र अनावश्यक बल प्रयोगको विषयमा कोही पनि आवेग र उत्तेजनामा आउन नहुने बताउँदै भन्नुभयो, “सबैले धैर्य र संयमताका साथ संवाद गर्नुपर्छ भनेर हामीले आह्वान गरिरहेका छौँ। यो सार्वजनिक आह्वानमा मात्र सीमित छैन। हामीले पार्टीका साथीहरू र पार्टीबाट निर्वाचित स्थानीय जनप्रतिनिधिहरूसँग व्यक्तिगत रूपमै टेलिफोन संवाद गरेर संयमता अपनाउन र यही सन्देश प्रवाह गर्न आग्रह गरेका छौँ।”
कांग्रेस सभापति थापाले थप्नुभयो, “अन्य दलले पनि यही प्रयास गरिरहेका छन्। त्यसैले आ–आफ्नो दलले गरिरहेका प्रयत्नलाई साझा प्रयत्नमा बदलौँ र सबै नागरिक, स्थानीय राजनीतिकर्मी, प्रशासन तथा सञ्चारमाध्यमलाई सामूहिक रूपमा आह्वान गरौँ भन्ने धारणा नेपाली कांग्रेसका तर्फबाट राखेका छौँ।”
उहाँले प्रदेश र स्थानीयस्तरमा पनि सर्वदलीय सहमति कायम गरेर सद्भाव राख्न आग्रह गर्दै भन्नुभयो, “सुनसरीलगायत प्रभावित जिल्लाका तल्लो तहमा पनि यस्तै सर्वदलीय प्रयास गर्नुपर्छ। विगतका अनुभवका आधारमा अवाञ्छित गतिविधि हुन सक्ने सम्भावना रहेका ठाउँमा घटना भएपछि मात्र सक्रिय हुने होइन, त्यसअघि नै अग्रसर भएर प्रयास गर्नुपर्छ। यसका लागि नेपाली कांग्रेसले आफ्नो भूमिका निर्वाह गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ।”
उहाँले सरकारले सर्वदलीय बैठकमा हालसम्म भए गरेका घट्नाका बोरमा प्रष्ट पार्नुपर्नेमा अनुपस्थित भएकोप्रति व्यंग्य गर्दै भन्नुभयो, “हामीले माननीय सभापतिमार्फत सरकारसमक्ष एउटा प्रश्न पनि राखेका छौँ—यतिखेर सरकार के गर्दै छ, सरकार कहाँ छ?”
उहाँले थप्नुभयो,” सरकार बन्दुकको गोली र लाठीमा मात्र भेटिनुहुँदैन। सरकार सामाजिक सञ्जालको स्टाटसमा मात्र सीमित रहनुहुँदैन। सरकार अभिभावक मात्र होइन, नेतृत्वकर्ता पनि हो। नेतृत्वको सबैभन्दा ठूलो शक्ति भनेको सहकार्य गर्न सक्नु हो। सरकारले अरूमाथि विश्वास गर्न सक्नुपर्छ र अरूले पनि सरकारमाथि विश्वास गर्न सक्ने वातावरण बन्नुपर्छ।”
उहाँले सरकारले नै सर्वदलीय बैठकको आयोजना गर्नुपर्ने आवश्यकता औल्याउदै भन्नुभयो,” यस्तो अवस्थामा प्रधानमन्त्रीले तत्काल सर्वदलीय बैठक बोलाउनुपर्थ्यो। राष्ट्रपतिसँग भेट्नुपर्थ्यो, प्रदेश सरकार र स्थानीय सरकारहरूसँग संवाद गर्नुपर्थ्यो। सरकारले आफूले गरिरहेका प्रयासबारे जानकारी गराउँदै सबैको साझा प्रयत्नका लागि आधार निर्माण गर्नुपर्थ्यो।”
उहाँले विगतको अभ्यास र परम्परा स्मरण गराउँदै भन्नुभयो, “हामीले भूकम्प र कोभिड महामारीका समयलाई सम्झियौँ। ती बेला पनि राजनीतिक दलहरूबीच व्यापक तनाव थियो। तर प्रधानमन्त्री वा पूर्वप्रधानमन्त्रीले बोलाउँदा हामी सबै राजनीतिक मतभेद छाडेर सिंहदरबार पुगेका थियौँ।”
उहाँले थप्नुभयो,”मैले आफ्नै उदाहरण दिएँ—कोभिडका बेला हामी सबै कुरा छाडेर दौडिँदै सिंहदरबार आएका थियौँ। सुशील कोइराला प्रधानमन्त्री हुँदा भूकम्पका समयमा तत्कालीन प्रमुख राजनीतिक दलका नेताहरू पनि सबै द्वेष र मतभेद छाडेर सरकारलाई सहयोग गर्न पुगेका थिए। अप्ठ्यारो अवस्थामा एक ठाउँमा उभिनु नेपालका राजनीतिक दलहरूको चरित्र हो। नेपालका प्रधानमन्त्रीहरूले पनि संकटका बेला यस्तो अभ्यास गर्दै आएका छन्।”
उहाँले बलप्रयोग प्रति असन्तुष्टि जनाउँदै भन्नुभयो, “भोलि हामी संसद्मा यो घटनाको छानबिनका लागि आवाज उठाउँछौँ। यो कसैलाई मात्र दोष दिएर पन्छिन मिल्ने घटना होइन। यो राज्यको एक प्रकारको असफलताको निरन्तरता पनि हो।”
उहाँले तराई र खास गरी मधेशमा राज्यले बढी बल प्रयोग गर्दै आएकोमा पनि असन्तुष्टी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “विशेषगरी मधेशमा कुनै घटना हुँदा आवश्यकताभन्दा बढी बल प्रयोग गर्ने राज्यको जुन मानसिकता देखिँदै आएको छ, यसपटक पनि त्यसले निरन्तरता पाएको छ। यस्तो किन भइरहेको छ र यसको कारण के हो भन्ने प्रश्नको जवाफ खोज्नुपर्छ। प्रहरी वा सुरक्षाकर्मीलाई मात्र दोष दिएर हुँदैन। राज्य सञ्चालन गर्नेहरू हिजो पनि जिम्मेवार थिए, आज पनि जिम्मेवार छन्।”
उहाँले अप्ठ्यारो परेको बेलामा सरकारलार्य समेत सहयोग गर्न प्रतिपक्ष तयार रहेको संकेत गर्दै भन्नुभयो, “यसबारे उपयुक्त समयमा विस्तृत छलफल गरौँला। अहिले हामी सरकारलाई अप्ठ्यारो पार्न चाहँदैनौँ। बरु सरकारसँग मिलेर काम गर्न चाहन्छौँ, किनभने यो हाम्रो पनि जिम्मेवारी हो। नेपाली कांग्रेसले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता जोगाउन आफ्नो भूमिका निर्वाह गर्नेछ। हामी अन्य राजनीतिक दलहरूसँग मिलेर साझा रूपमा काम गर्नेछौँ भन्ने प्रतिबद्धता बैठकमा राखेका छौँ।”
प्रधानमन्त्री र सरकारको रवैयाप्रति कटाक्ष गर्दै कांग्रेस सभापतिले भन्नुभयो, “तर यस्तो बेलामा पनि प्रधानमन्त्रीले भाउ खाएर बस्ने हो? ठालु भएर बस्ने हो? सबैसँग सम्पर्क गर्ने, सबै पक्षलाई जोड्ने र सबैलाई समेटेर अगाडि बढ्ने प्रयास गर्नुपर्दैन? हामीलाई लाग्छ,गर्नुपर्छ।प्रधानमन्त्रीले तत्काल यस्तो पहल गरून् भन्ने हाम्रो चाहना र माग हो। यही सन्देश हामीले माननीय सभापतिमार्फत राखेका छौँ। बैठकमा हामीले सरकारसमक्ष हाम्रो कुरा पुर्याइदिन आग्रह गरेका छौँ।”








