Prakash Adhikari July 29, 2026

 

काठमाडौं, १३ साउन । मध्य साउन पुग्न लाग्दा पनि नेपालको शेयर बजारले उकासिने छाँटकाँट देखाएको छैन् ।

आज साताको तेस्रो कारोबार दिन पनि शेयर बजारले ओरालो गति रोक्न सकेन । यस दिन धितोपत्र बजार परिसूचक ७.७९ अंक घटेर २६८८.८८ विन्दुमा झरेको छ।

बजार परिसूचक जस्तै कारोबार रकमले पनि घट्ने क्रमलाई निरन्तरता दिएको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार ४ अर्ब ४२ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३ सय ४३ स्टकको ९७ लाख ७७ हजार कित्ता शेयर खरिदबिक्रीबाट ४ अर्ब २ करोड ९४ लाख रुपैयाँबराबरको कारोबार भएको छ।

एभरेष्ट कलरको शेयरमूल्य निरन्तर आठौँ कारोबार दिन सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन कम्पनीको शेयरमूल्य १२९ रुपैयाँ १० पैसा बढेर ९९० रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको छ। अन्य शेयर मूल्य बढेका कम्पनीहरुमा स्नो रिभर्स लिमिटेड, नबिल ब्यालेन्स फण्ड ३, खानी खोला हाइड्रो, हिमालयन पावर पार्टनर, हिमालयन लाइफ इन्स्योरेन्स लार्ज क्याप फण्ड, ग्लोबल आईएमई सम्बृद्धि योजना २, आरबीबी फोकस ४०, सानिमा ग्रोथ फण्ड र साइन रेसुंगा डिबेञ्जर रहेका छन् ।
आज धेरै मूल्य घटेका शेयरहरुमा गरिमा समृद्धि योजना, सिभिल डिबेञ्चर, मातृभूमि लघुवित्त, कर्पोरेट विकास बैंक, शुभम् पावर, चिरख्वा हाइड्रो, श्रीनगर एग्रो, सगरमाथा जलविद्युत, सिद्धार्थ बैंक डिबेञ्चर र सानिमा बैंक डिबेञ्चर रहेका छन् ।

कारोबार रकमका आधारमा यस दिन हिमालयन पावर पार्टनर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २२ करोड ४८ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन खानी खोला हाइड्रोपावरको कारोबार रकम २१ करोड रुपैयाँ नाघेको छ भने रिलायन्स स्पिनिङ्ग मिल्सको करिब १८ करोड रुपैयाँको शेयर किनबेच भएको छ। अधिक कारोबार हुने अन्य कम्पनीहरुमा कर्पोरेट विकास बैंक, सेन्ट्रल फाइनान्स,रिडी पावर, एनआरएन, ग्लोबल आईएमई,आँखुखोला जलविद्युत, कुमारी बैंक लिमिटेड रहेका छन् ।

यस दिन नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भई वर्गीकृत भएका १३ उपसमूहमध्ये यस दिन दुई उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक सामान्य अंक बढेको छ। बाँकी ११ उपसमूहको परिसूचक यस दिन सामान्य अंक घटेको छ।

Share Now